१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वृद्ध वडाध्यक्ष बैठकबाट रुँदै निस्किएपछि... 

अनिश तिवारी

(सिन्धुपाल्चोक) — जिल्लाका अरु स्थानीय तहझै त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौ गाउँसभामा व्यापक तामझाम थिएन । उपस्थित केही जनप्रतिनिधि खल्लो मान्दै बजेटसम्बन्धी छलफलमा व्यस्त देखिन्थ्ये । कार्यक्रमस्थलभन्दा केही पर बाहिरिँदै गरेका त्रिपुरासुन्दरी–१ का वडाध्यक्ष कर्णबहादुर खड्का भावविहृल देखिन्थे ।

वृद्ध वडाध्यक्ष बैठकबाट रुँदै निस्किएपछि... 

आँसु झार्दै निस्किएका ८२ वर्षे खड्काले सभामा आफूलाई हेपिएको गुनासो गरे ।


त्रिपुरासुन्दरीको पाँचौ गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पायक पर्ने स्थानमा स्वास्थ्य चौकीको निर्माण गर्न उनले ३५ लाख बजेट माग गरे । स्वास्थ्य चौकीको प्रस्तावको विषयमा थप अनुरोध सुन्ने बित्तिकै गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले तत्कालै ‘जाने भए जाउ’ भन्दै हकारेको भाषा प्रयोग गरे । आम र जनप्रतिनिधिमाझ प्रमुखबाटै भूमिकाविहीन र अपमानजन्य व्यर्होनुपरेपछि ‘म बाहिरिएँ’ भन्दै वडाध्यक्ष खडका रुँदै निस्किएका थिए । ‘मैले जायज माग राखेको हुँ, सम्मानपूर्वक बोलेको हुँ तर, उहाँले गाउँसभाको बैठक हलबाट सिधै ‘जाउ’ भन्नुभयो । बुढो वडाअध्यक्ष भनेर हेप्न खोजेजस्तो देखियो,’ उनले भक्कानिँदै दुखेसो पोखे ।


त्रिपुरासुन्दरीको घोर्थली गाउँमा एउटा पनि व्यवस्थित स्वास्थ्य चौकी छैन् । घोर्थली गाउँको छेउमा भएको सामान्य स्वास्थ्य इकाइमा पनि आवश्यक सुविधा नहुँदा उपचारका लागि गाउँले कर्थलीको बुदेपा या बाह्रबिसे बजार पुग्छन् । त्रिपुरासुन्दरी गाउँपालिकाले पार्टीगत हिसाबमा बजेट विनियोजन गरेर स्वास्थ्य चौकीलाई बजेट छुट्याउन नमानेको उनले आरोप लगाए । त्रिपुराको वडा २, ३, ४ र ५ मा दुई करोडको हाराहारीमा बजेट छुट्याइएको छ भने वडा १ र ६ (टेकानपुर र घोर्थली) लाई एक करोड बराबर मात्रै विनियोजन गरिएको जनप्रतिनिधिले बताएका छन् । ‘बजेट वितरण पक्षपातपूर्ण ढंगको देखिन्छ । फेरि अगुवा र वृद्ध बाबुसमान वडाध्यक्ष खडकालाई सबैमाझ ‘बाहिर जाउ’ भन्ने अधिकार गाउँपालिका प्रमुखज्युलाई कुन कानुन, धर्म, समाजले दिएको छ ?,’ त्रिपुरासुन्दरी गाउँपालिका टेकानपुरका बासिन्दा भक्तध्वज बोहोराले भने ।


यसअघि टेकानपुरका वडाध्यक्ष रामचन्द्र बुढाथोकीले सबै समितिको अध्यक्ष एमाले कार्यकर्ता बनाएको र सामाजिक सुरक्षा भत्ता गाउँपालिका अध्यक्षले आफ्नै घरबाट बाँडेको भन्दै सार्वजनिक सुनुवाई गरेका थिए । बुढाथोकीका अनुसार उनले नागरिकताको सिफारिसबाहेक अन्य काम गर्न पाएका छैनन् । ‘गाउँपालिका प्रमुखले गरेको यस्तो मनमौजी सनकले त्रिपुरा विवादित बन्दैछ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने आफूले सबै कुरा कानुनसम्मत गरेको दाबी गरेका छन् । स्वास्थ्य चौकीबारे त्यहाँकै स्थानीय सहमत नदेखिएपछि बजेट हाल्न नसक्ने भनेको स्वीकार्दै उनले जनसंख्याको आधारमा बजेट छुट्याइएको बताए । ‘मैले त्यस्तो व्यवहार गरेको छैन् । केही गाउँलेले विरोध गरेपछि बजेट हाल्न नमिल्ने चाहिं भनेकै हुँ,’ उनले भने ।

स्थानीय तहको चुनावमा त्रिपुरासुन्दरीको तौथली, टेकानपुर र घोर्थली कांग्रेसका उम्मेदवारले वडामा जितेका थिए भने २, ३, ४ वडासहित अध्यक्ष र उपाध्यक्ष तत्कालीन एमालेबाट निर्वाचित भएकाहरू हुन् ।


वृद्ध वडाध्यक्ष बैठकबाट रुँदै निस्किएपछि : पाँचौ गाउँसभाबाट रुदै निस्किएका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा १ घोर्थलीका ८२ वर्षे अध्यक्ष कर्णबहादुर खडा भावविहृवल अवस्थामा दुखेसो पोख्दै । तस्बिर : कान्तिपुर

प्रकाशित : असार ११, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?