मानवाधिकार आयोग अध्यक्षप्रति नेम्वाङको असन्तुष्टि

‘राजनीतिक भाषा बोल्नु हुँदैनथ्यो’

काठमाडौँ — पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले विवादास्पद विधेयकबारे संसद्‌मा छलफल भइरहेका बेला राष्ट्रिय मानवाधिकार आयोग प्रमुखले ‘राजनीतिक भाषा’ बोलेको भन्दै असन्तुष्टि राखेका छन् ।

मानवाधिकार आयोग अध्यक्षप्रति नेम्वाङको असन्तुष्टि

आयोग अध्यक्ष अनुपराज शर्माले सोमबार एक कार्यक्रममा मानवाधिकार, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा विवादास्पद प्रावधान ‘शक्तिको उन्मादबाट उन्मत्त’ भइ ल्याइएको टिप्पणी गरेका थिए ।

‘यदि त्यही नै बोलेको हो भने गलत हो । संवैधानिक अंगका पदाधिकारीबाट त्यसरी राजनीतिक भाषा प्रयोग हुनु अशोभनीय हो’, संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार संवाददाताहरुसँग नेम्वाङले भने ।


नेम्वाङले मानावाधिकार विधेयकमा विवाद आएपछि आफू स्वयंले आयोगका आयुक्तसँग छलफल भएको र त्यसक्रममा संसद् र संसदीय समितिबाट संशोधन हुने टुंगो लागेको स्मरण गरे । आयुक्त प्रकाश वस्तीसहितको टोलीसँग भएको छलफलमा विवादमा आएका प्रावधान सच्याइने दृढता व्यक्त गरिएको र वस्तीले आयोग अध्यक्ष शर्मालाई त्यसबारे अवगत गराएको समेत नेम्वाङले सुनाए ।


‘यो अवस्थामा आयोग अध्यक्षज्यूले त्यसरी राजनीतिक भाषा बोलेर गाली गर्नु नपर्ने हो । किनकि मानवाधिकार आयोग मात्र होइन मिडिया काउन्सिल विधेयकमा समेत संशोधन गरी विवादित प्रावधान सच्याएर अघि बढ्नेतर्फ संसद् गइरहेको छ’, नेम्वाङले भने ।

प्रकाशित : असार ११, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?