१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रसुवामा बर्डफ्लु

बलराम घिमिरे

रसुवा — जिल्लाको भोर्लेमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एचफाइभ एनवान भेटिएको छ । यसलाई बर्डफ्लु भनिन्छ । नौकुण्ड गाउँपालिका–५ भोर्लेमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको हो । 

केही महिनाअघि गाउँमा धमाधम कुखुरा मर्न थालेपछि कुखुराको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो । पशु प्राविधिकले असार ३ गते किसानको घरमा पुगेर खोरबाट कुखुराको र्‍याल संकलन गरी परीक्षणका लागि केन्द्र प्रयोगशालामा पठाए ।


केन्द्रीय प्रगोगशालामा लोकल कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु भेटिएको पुष्टि भएको छ । स्थानीयले पालेको लोकल कुखुरामा बर्डफ्लु देखिएको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका पशु चिकित्सक डा. तुलसीराम गम्पोले बताए । ‘रसुवामा पहिलो पटक बर्डफ्लु देखिएको हो,’ उनले भने ।


भोर्लेमा बर्डफ्लु भेटिएको पुष्टि भएपछि पशुसेवा विभागले रेपिट रेसपोन्सको टिम लिडर बनाएर डा.गम्पोलाई सोमबार नै रसुवा पठाएको थियो । उक्त टिमले मंगलबार भोर्ले पुगेर संक्रमित क्षेत्रको कुखुरा नष्ट गरेको छ । बर्डफ्लु देखिएको पुष्टि भएपछि स्थानीय प्रशासनले संक्रमित क्षेत्रमा शील गरेको छ ।


जिल्ला प्रशासन कार्यालयमा सोमबार साँझ बसेको बैठकले बर्डफ्लुको नतिजा प्राप्त भएको जनाएको छ । भोर्ले क्षेत्रमा चारकिल्ला किटान गरी बर्डफ्लु नियन्त्रण गर्न कुखुरा, अण्डा, दाना र सुलीसमेत नष्ट गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


बर्डफ्लु संक्रमित क्षेत्रमा ११ किसानले पालेको ४८ वटा लोकल र ३ किसानले व्यावसायिक रूपमा पालेको ब्रोइलर ३८० र कोइलर २५० गरी ६७८ वटा कुखुरा मंगलबार नै नष्ट गरिएको डा. गम्पोले बताए । ४ सय किलो कुखुराको दाना पनि नष्ट गरिएको छ । दुई महिनादेखि नै उक्त क्षेत्रमा लोकल कुखुरा मर्न थालेको स्थानीयले बताएका थिए ।

प्रकाशित : असार १२, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?