कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध

अध्यक्षकै खानीले बारम्बार राजमार्ग अवरुद्ध
हरिहरसिंह राठौर

धादिङ — बालुवा खानीबाट बगाएकाे लेदाेले बिहीबार बिहानदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । ७० जिल्लाका सवारी साधन राजधानी प्रवेश गर्ने मुख्य सडक गल्छी–बैरेनीमा बिहान ५ बजे देखि यातायात ठप्प छ ।

बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबी कन्ट्रक्सन एण्ड सप्लायर्सद्वारा संचालित बालुवा खानीबाट आएकाे लेदाेले राजमार्ग अवरुद्ध बनाएकाे हाे । उक्त खानीबाट वर्षेनी लेदाे आएर सडक अवरुद्ध हुँदै आएकाे छ ।

खानीबाट आएको लेदोले सवारी साधनका टायरहरु च्याप्प समाउने भएपछि चालकहरु लेदो छिचोल्न सक्दैनन् । ‘हामी एकतर्फी खुलाउने प्रयासमा छौं, स्काभेटरले लेदो ताछ्न समेत कठिन भएको छ,’ बैरेनी प्रहरी चौकीका इन्चार्ज जनक बस्नेतले भने ।

बैरेनी बजार क्षेत्रमा भलबाढीले राजमार्ग मात्रै होइन बजार क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन् । गल्छी गाउँपालिका–६ मा पर्ने बागेश्वरी माध्यमिक विद्यालय अघिल्तिरको यो दृष्य देख्दा पृथ्वीराजमार्ग होइन कुनै खोलाबाट मोटर गुडिरहेको जस्तो देखिन्छ ।

गल्छी गाउँपालिकाको केन्द्र रहेको बैरेनी बजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको छ । लेदो माटोसहितको बाढीले सवारी आवागमनमा समेत अवरोध पुर्‍याएको छ । राति देखि परिरहेको पानी बिहानसम्म नरोकिएपछि बजार क्षेत्रमा डुबानको समस्या बढ्दै गएको हो ।

‘राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथि तिर खोलिएका बालुवा खानीका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पुर्‍याएको हो,’ स्थानीय समाजसेवी दिपक कार्कीले भने ।

राजमार्गको आवागमन नै ठप्प हुने गरी सडकमा भलबाढी पसेको पहिलो पटक भने होइन वर्षौ देखि यो समस्या कायमै रहेको छ । दीर्घकालीन सोच बिना खनिएका सडकबाट बर्षात्का बेला माटो र ढुंगा बगाउँदै राजमार्गमा ल्याएर थुपार्ने गरेको छ ।

हरेक वर्ष सडक निर्माण, स्तरोउन्नति र मर्मत सम्भारको शीर्षकमा करोडौं खर्च गर्दै आइरहेको गाउँपालिकाले सडकलाई बलियो बनाएर भलबाढी सीधै राजमार्गमा खस्ने कार्य रोक्नसकेको छैन ।

खोला मिचेर यस क्षेत्रमा सयौं पक्की घर, टहरा, विद्यालय, अन्य उद्योगहरुको लागि संरचना निर्माण गरिँदा पनि स्थानीय सरकारले रोकथामका लागि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

गाउँबाट झरेको भलबाढी राजमार्गमा खसेपछि सडकको आवागमन मात्रै रोकिएको छैन बैरेनी वजारका दर्जनों घरमा भलबाढी पसेर समस्या उत्पन्न भएको छ ।

जोगीमाराको हेटौंडा सिमेन्टको चुनढुङ्गा खानीबाट आउने लेदोले पनि तेक्राङ्गमा हरेक वर्ष राजमार्ग अवरुद्ध गर्ने गरेको छ । राजमार्गबाट दक्षिण भेक जोड्न निर्माण गरिएका सडकहरुबाट वगेको लेदोले विभिन्न स्थानमा घण्टौंसम्म सडक जाम हुँदै आएको छ ।

प्रकाशित : असार १२, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?