जागरण अभियानका प्रतिनिधिसँग कांग्रेसको छलफल जारी

रासस

काठमाडौँ — नेपाली कांग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि सुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः सुरु गरेको हो । 

जागरण अभियानका प्रतिनिधिसँग कांग्रेसको छलफल जारी

बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तर्क्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।


बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्नेलगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए । छलफल तथा अन्तर्क्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन् ।


अभियानका क्रममा कांग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ-नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्‍याली, विचार-बहसलगायत कार्यक्रम गरेको थियो । छलफल तथा अन्तर्क्रियामा उठेका विचारलाई असार २२ देखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने कांग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।

प्रकाशित : असार १२, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?