खडेरीले आक्रान्त रामेछापको दक्षिणी क्षेत्र, पानीको स्रोतसँगै बालिनालीे पनि सुक्यो

टीकाप्रसाद भट्ट

रामेछाप — पूर्विक्षेत्रबाट मनसुन भित्रिएको ३ दिन बित्दा रामेछापको दक्षिणी क्षेत्र खडेरीले आक्रान्त भइरहेको छ । खडेरीले किसानले पाखो जग्गामा लगाएका बालीनाली सुकेका छन् भने गर्मीले जनजीवन कष्टकर बनेको छ ।

खडेरीले आक्रान्त रामेछापको दक्षिणी क्षेत्र, पानीको स्रोतसँगै बालिनालीे पनि सुक्यो

जिल्लाको उत्तरपूर्वी र पश्चिम उत्तर क्षेत्रमा शनिबार केही वर्षा भएपनि जिल्ला सदरमुकाम मन्थली लगाएत दक्षिणी क्षेत्रमा वर्षा भएको छैन । मन्थलीमा ४४ डिग्रीसम्म पुगेको तापक्रम आइतबार अपरान्हको तापक्रम ३८ डिग्री सेल्सिएसमा झरेको छ । मन्थली, भलुबाजोर, सुकाजोर, रामेछाप, कठजोर, सुनारपानी, भटौली, चिसापानी, पकरवास, गेलु, हिमगंगा, भिरपानी, मझुवा, माकादुम, पिङ्गखुरी, चनखु, पुरानागाउ, राकाथुम, खनियापानी , रामपुर र वेथान लगाएतका क्षेत्र खडेरीले बढी प्रभावित भएका छन् ।

‘नभएको बिउ र हली खोजेर मकै छरियो । सबै सुक्यो । केही दिन अघि पानी परेको भए पाखो बारीमा आधा जति मकै बाँच्थे,’ मन्थली–१ का पिताम्बर श्रेष्ठले भने, ‘अहिले कुनै बाँकी छैनन् । अब फेरी मकै छर्नका लागि बिउ र हलीगोरु जुटाउने कहिले हो ? बेसी क्षेत्रमा असारको दोश्रो सातासम्म मकै छर्दा उत्पादनमा खासै असर पर्दैन ।’


खडेरीले आक्रान्त पारेपछि पानी माग गर्दै केही किसानहरुले देवदेवीको स्थानमा पुजाआजा गरेका छन् । मन्थलीकै कमेरे देविस्थानमा केही दिन अघि पुजाआजा गरेको स्थानीय हरीकृष्ण दाहालले बताए । उनले कमेरीदेविमा पुजा गरेपछि पानी पर्ने पुरानो विश्वास रहेकोले यो वर्ष पुजाआजा गरेको बताए । तर पुजा गरेको केही दिनसम्म पनि पानी नपरेकोमा दाहालले आश्चर्य मानेका छन् ।


‘देवि पनि कमेरेदेखि हिडिन् जस्तो छ,’ दाहाल भन्छन्, ‘बसेकी भए पानी पक्कै आउँथ्यो ।’ कमेरेमा केही वर्ष अघिदेखि पानीका स्रोत सुकेका छन् । ‘अन्त सुक्दा पनि कमेरेमा पानी हुन्थ्यो अब त्यहि छैन, अन्त कसरी होस्,’ उनले भने ।


महाभारत पर्वतको वृष्टिछायाँमा पर्ने रामेछापको दक्षिणी क्षेत्रमा अन्यत्रको भन्दा कम वर्षा हुन्छ । न्यून वर्षा हुने भएकाले पानीका स्रोतहरु सुकेका छन् । विगत १५ वर्षदेखि दक्षिणी रामेछापमा उत्पादनमा ह्रास आइरहेको छ । सिंचाईको प्रबन्ध नहुने पाखो जग्गामा वर्षायाममा पानीको भरमा हुने एक बाली किसानले भित्र्याउने गरेका थिए । केहि वर्ष देखि बालिनाली भित्र्याउन नसकेको भलुबाजोर, कुभिण्डेका कृष्णकुमार लामाले बताए ।


सडक सुविधाका कारण बजारमा गएर खाद्यान्न किन्दै खाँदै नगरे अब गाउँमा कोही बाँच्ने आधार नभएको लामाले बताए । ‘पानीका स्रोत सुके, बारीमा लगाएका मकै सुके, रुख विरुवा ठाडै सुकेका छन् । अब कसरी बाँच्ने ?’ उनले निराश हुँदै भने, ‘विनास हुनेभयो ।’

रणजोर, सुकाजोर, भटौली लगाएतका खोलाको पानी लाग्ने खेत रोप्नका लागि किसानले धानको व्याड राख्न पाएका छैनन् । असारको अन्तिममा धान रोपाईं सुरु गर्ने किसानले अहिलेसम्म व्याड राखेका छैनन् । वर्षा हुँदा खहरे छेकेर धानको व्याड राख्ने दाउमा रहेका किसानहरु निराश हुँदैछन । केहिले त ट्यांकरमा पानी बोकाएर व्याड राख्ने तयारी गरेका छन् ।


प्रकाशित : असार १२, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?