२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

४८ वर्षमा एसईई 

तुलाराम पाण्डे

कालीकोट — निरक्षर बुबाआमा । भाइबहिनी धेरै । सबैलाई पढाउन सकेनन् बुबाआमाले । छोरी पढाउने चलन नभएकाले ३ बहिनी र १ दिदीले विद्यालय देख्नै नपाएर विवाह गरे । घरको अवस्था कमजोर भएकाले आफूले पनि १० सम्मको पढाइपछि विद्यालय छाडेर जिल्ला प्रशासनमा सहयोगीको जागिर खाए । 

४८ वर्षमा एसईई 

जागिरकै क्रममा ०६४ मा मेहेलमुडीस्थित पञ्चदेवल माविमा एसएलसी दिन फाराम भरे पनि कार्यालयको कामले परीक्षा दिन पाएनन् । सान्नीत्रिवेणी ४ उजेलगाउँका ४८ वर्षीय हरिनाथ योगीको धोको यस वर्ष पूरा भएको छ । खाडाचक्र ३ ताडीस्थित जनजीवन माविबाट एसईई दिएका उनले २ दशमलव ४ जीपीए ल्याएका छन् । उनलाई मान्म बजारवासीले अबिर लगाएर सम्मान गरेका छन् ।

२६ वर्षअघि सरकारी सेवामा प्रवेश गरेर १९ वर्ष ९ महिनाअघि स्थायी भएका योगीले जिल्ला प्रशासन कार्यालयमा नयाँ आउने फाँटवालालाई नागरिकता बनाउन सघाउने गर्थे । इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्ने भएकाले ६ वर्षअघि उनलाई कालीकोटको जिल्ला परिषद्ले उत्कृष्ट कर्मचारीका रूपमा नगद पुरस्कारसहित सम्मान गरेको थियो । ०७२ सालमा पनि उनले उत्कृष्ट निजामती पुरस्कार पाएका थिए । पढ्ने धोको पहिलेदेखिकै हो । योगीले कान्तिपुरसँग भने, ‘लागिपरेपछि सफलता हात लाग्ने रहेछ ।’ उनले थपे, ‘कार्यालयमा अझ इमान्दार भएर काम गर्नेछु ।’


२० वर्षे नोकरीको अवधि पुग्न ३ महिना मात्र बाँकी रहे पनि उमेर हदले १२ वर्ष बाँकी रहेकाले निजामती सेवामै काम गर्ने उनको लक्ष्य छ ।


उनका जेठा छोरा कमलराज र बुहारी शोभाले बीएड गरेका छन् । माहिलो छोरा गजेन्द्रनाथ र कान्छो छोरा पूर्णनाथले ११ पास गरिसकेका छन् भने कान्छी छोरी अञ्जली ०७६ मा एसईई दिंदै छिन् ।

प्रकाशित : असार १३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?