३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन्त्रालयमा प्रश्न, ट्वीटमा जवाफ

गंगा बीसी

काठमाडौँ — ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूत होउ याङचीलाई मन्त्रालयमा बोलाएर चिनियाँ कम्पनीको कामबारे सोधे । अनौपचारिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिनुको गहिरो अर्थ रहेको कूटनीतिज्ञहरु बताउँछन् ।

मन्त्रालयमा प्रश्न, ट्वीटमा जवाफ

ऊर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, ‘चिनियाँ कम्पनीहरूले चीन र अन्य विश्वमा राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?’ सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे आफूले ‘गहिरो अध्ययन र अनुसन्धान गरिरहेको’ कूटनीतिक जवाफ दिएर फर्किइन् ।

यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्बिरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन ।

राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामध्ये सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो ।’ उनले आयोजनाको नाम भने उल्लेख गरेकी छैनन् । चिनियाँ कम्पनी सिनो हाइड्रोले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सिभिलतर्फको निर्माण गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो आयोजनाको कार्यप्रगति सन्तोषजनक छ ।

राजदूतले ट्वीट गर्नुअघि मन्त्री पुनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली थ्री ए र कुलेखानी तेस्रो आयोजना सम्पन्न हुने तरखरमा रहे पनि ढिला भएको, त्रिशूली थ्री ए–को पहिलो ३० युनिटबाट उत्पादन थालिए पनि दोस्रो युनिटको काम सुस्त देखिएको उल्लेख गर्दै जिज्ञासा राखेका थिए । त्यस बेला पुनले राजदूत याङचीसँग यी आयोजनाको काम सम्पन्न गर्न चिनियाँ कम्पनीसँग समन्वय गरिदिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख थियो ।

मन्त्री र राजदूतबीच खासगरी नेपालका जलविद्युत् आयोजनामा लगानीबारे करिब डेढ घण्टा कुराकानी भएको थियो । ‘विश्वमा चिनियाँ कम्पनीले राम्रो काम गरिरहेको सन्दर्भमा नेपालमा किन ढिला भनेर जिज्ञासा राखेको हुँ,’ पुनले शुक्रबार कान्तिपुरसँग भने, ‘राजदूतले चिनियाँ कम्पनीको कामबारे अध्ययन गरिरहेको भन्नुभएको थियो ।’

त्यही राति राजदूतले सबभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजना बनाएको ट्वीट गरेको थाहा पाएको उनले बताए । ‘मैले चिनियाँ कम्पनीबारे राखेको जिज्ञासाको राजदूतले ट्वीटरबाट जवाफ दिएको सामाजिक सञ्जालमा चर्चा चलेको देखें,’ मन्त्री पुनले भने । उनले नेपालमा चिनियाँ ठेकेदार कम्पनीले निर्माण जिम्मा लिएका आयोजना ढिला भएकाले आफूले त्यस्तो जिज्ञासा राखेको बताए ।

राजदूत याङची अघिल्लो शुक्रबार मात्र ट्वीटरमा आएकी थिइन् । ट्वीटर एकाउन्ट खोलेको चार दिनपछि उनले नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीको बचाउ गर्दै ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ दिएकी हुन् । चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले चिनियाँ कूटनीतिज्ञले तत्काल प्रतिक्रिया जनाउने परम्परा नभएको बताए । ‘चिनियाँहरू कुनै पनि प्रश्नको तत्काल प्रतिक्रिया जनाउँदैनन्,’ उनले भने, ‘अझ सार्वजनिक रूपमा प्रतिक्रिया वा जवाफ दिनुको अर्थ छ । यसले भित्रभित्रै आशंका जन्माएको हो कि ?’


उनले काठमाडौंमा रहेका राजदूतलाई बोलाएर ‘नकारात्मक’ प्रश्न गर्न नहुने बताए । ‘सकारात्मक कोणबाट कुराकानी गर्न सकिन्छ,’ उनले थपे, ‘नकारात्मक प्रश्नले सुमधुर सम्बन्धमा असर गर्न सक्छ ।’ कार्कीले कुनै पनि कूटनीतिज्ञसँग दुई देशको सम्बन्धका विषयमा अनौपचारिक कुराकानी गर्न सकिने र ती तत्काल सार्वजनिक गर्नु गलत हुने बताए । ‘कूटनीतिज्ञसँगको अनौपचारिक कुराकानी गोप्य राख्नु राम्रो हुन्छ,’ उनको भनाइ छ ।


कार्कीले नेपाल र चीनबीच आशंका उब्जाउने गतिविधिलाई ध्यानपूर्वक हेर्नुपर्ने बताए । ‘चीनबाट ल्याउने रेलका विषयमा पनि राजदूतलाई नकारात्मक प्रश्न गरियो भन्ने कुरा आयो,’ उनले भने, ‘यसमा बाह्य शक्तिको चलखेलको संकेत हुन सक्छ । सम्बन्ध बिगार्ने प्रयास पनि हुन सक्छ ।’

सत्तारूढ नेकपाका एक वरिष्ठ नेताले ऊर्जामन्त्री पुन र चिनियाँ राजदूत याङचीबीचको कुराकानी विज्ञप्ति बनाएर सञ्चारमाध्यममा प्रेषित गर्नु गलत भएको टिप्पणी गरे । ‘कुनै पनि राजदूतसँग अनौपचारिक कुराकानी हुन सक्छ । त्यहाँ प्रश्न आदानप्रदान पनि हुन सक्छन्,’ ती नेताले भने, ‘चिनियाँ राजदूतलाई सिधा प्रश्न सोधेको कुरा सञ्चारमाध्यममा पठाउनु हुँदैनथ्यो ।’

प्रकाशित : असार १४, २०७६ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?