कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ईपीएसमा १२ हजार पास–‘स्वदेशमै आत्मनिर्भर बन्ने मन छ’

विद्या राई

काठमाडौँ — भाषा परीक्षामा उत्तीर्ण भएसँगै इटहरीका ३६ वर्षीय अमर राईलाई रोजगारीका लागि कोरिया जाने बाटो खुलेको छ । इटहरीकै एक इन्स्टिच्युटमा तीन महिना कोरियाली भाषा सिकेका उनले काठमाडौं आएर परीक्षा दिएका थिए ।

ईपीएसमा १२ हजार पास–‘स्वदेशमै आत्मनिर्भर बन्ने मन छ’

दुई पटकको प्रयासपछि लिखित परीक्षा पास गर्न सफल भएका हुन् । कतार, साउदीलगायत खाडी देश पुगिसकेका उनलाई स्वदेशमै आत्मनिर्भर बन्ने मन छ तर पटक–पटकको लगानी फसेकाले निराश भएका छन् ।


०५८ सालमा एसएलसी गरे । खोटाङ पुर्ख्यौली घर भएका उनी काठमाडौं, खाडी मुलुक हुँदै यतिबेला इटहरीमा संघर्षरत छन् । खाडी देश जाँदै/आउँदै कहिले गाडी, ट्र्याक्टर किनेर चलाए । गाईफार्म, कुखुरा फार्म सञ्चालन गरे । जग्गा किनबेच गरे । लगानी जहिल्यै डुब्यो । लगानीमा घाटा र ऋण तिर्नकै लागि कोरिया पलायन हुने तरखर गर्दै छन् । तीन छोरी र एक छोरालाई घरमा पत्नीको जिम्मा लगाएर ।


‘देशको हालत यस्तै छ, ‘सिस्टम’ छैन, बसेर केही गर्छु भन्दा घाटैघाटा,’ उनले भने, ‘मैले के गरिनँ तर सबै लगानी बालुवामा पानी खन्याएजस्तै भयो ।’ थप्छन्, ‘विदेशको दुःख, पीडा कति हुन्छ भन्ने मलाई सबै थाहा छ, रहर नभए पनि बाध्यता भएको छ ।’ लिखितमा पास गरे पनि सीप परीक्षण बाँकी छ । कृषिमा रुचि र अनुभव भएकाले ‘स्किल टेस्ट’ मा उत्तीर्ण हुनेमा आशावादी छन् ।

देशभित्र भविष्य नदेख्ने अमर मात्रै होइनन् ।


इलाम, नेपालटारकी २६ वर्षीया अञ्चला खिम्दुङ राई पनि बाटो तताउन खोज्दै छिन् । इलाममै एक इन्स्टिच्युटमा भाषा पढेर काठमाडौंबाट परीक्षा दिएकी उनले शुक्रबार बिहानै पास भएको थाहा पाइन् । कक्षा १२ सम्म पढेर गाउँमै बसिरहेकी उनलाई पहिलो प्रयासमै लिखित पास गरेकामा केही हौसला भने छ ।


‘वर्षभरिको मिहिनेत खेर गएन, अब सीप परीक्षण गर्नु छ,’ उनले भनिन् । ७ जनाको परिवारकी कान्छी सन्तान उनी कोरियामा रोजगारी पाउने सम्भावना बढेकामा खुसी छिन् । सँगसँगै घरपरिवार, आफन्त छाड्नुपर्ने चिन्ताले पनि सताउन थालेको छ । भन्छिन्, ‘अलिकति रहर, बढी चाहिँ बाध्यता । आफ्नै देशमा काम पाइने भए यति दुःख गरेर बिदेसिने रहर कसलाई हुन्छ ?’


वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीका अनुसार अमर र अञ्चलाजस्तै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जनालाई कोरिया जाने ढोका खुलेको छ जसमध्ये उत्पादनमूलक (उद्योग) समूहतर्फ ९ हजार १ सय ३३ र कृषितर्फ २ हजार ८ सय ७६ छन् । ईपीएस शाखाका अनुसार गत जेठ २५ र २६ मा काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा लिइएको थियो ।


९२ हजार ३ सय ५६ युवायुवतीले परीक्षाका लागि आवेदन फारम भरेकामा ८४ हजार ३ सय ८ जना परीक्षामा सामेल थिए । पास भएका सबैले कोरिया जान पाउनेछैनन् । सीप परीक्षणमा छानिएका १० हजार ५० जना मात्रै कोरिया जान सक्ने पराजुली बताउँछन् । सीप परीक्षणको मिति तोकिइसकेको छैन ।


लिखित परीक्षाको नतिजा भने ईपीएस शाखाको वेबसाइटमा अपडेट भइसकेको छ । परीक्षार्थीले लिखित परीक्षा ४० पूर्णांकको लेखेका थिए । कृषितर्फ ३७ ल्याउने र उत्पादनमूलक क्षेत्रतर्फ ३८ ल्याउने पास भएका छन् । एक पटक पास गरेको नतिजा दुई वर्षका लागि मात्रै मान्य हुन्छ ।


कोरिया जाने सीमित कोटाका लागि भाषा परीक्षा दिनेहरू बर्सेनि बढिरहेका छन् । कोरियामा विदेशी कामदार ल्याउने १६ देशमध्ये कामदार संख्याका आधारमा कम्बोडियापछि नेपाल दोस्रोमा पर्छ । राजनीतिक अस्थिरता, सरकारले घोषणा गरेका रोजगार कार्यक्रम पनि झारा टार्ने खालका छन्, जसले सामान्य परिवार धान्नै मुस्किल भएकाले कोरिया रोज्ने गरेको बुंगल, देउलीकोट बझाङका २३ वर्षीय जनक विष्टले बताए ।

प्रकाशित : असार १४, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?