कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनप्रतिनिधि सुविधाभोगी

सर्वसाधारणको जस्तै जीवनशैली अपनाउने नेता जनप्रतिनिधि बनेपछि बदलिएका छन् । उनीहरुको आर्थिक सम्पन्नता, भड्किलो जीवनशैली र सुविधायुक्त जीवनयापन देखेर कार्यकर्ता रूष्ट छन् ।
प्रदेश ब्युरो

बुटवल — बर्दियाको बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले सशस्त्र द्वन्द्वका बेला कष्टकर जीवन बिताइन् । सादा जीवनशैली र भूमिहीनका पक्षमा वकालत गरिन् । आफ्ना नाममा केही सम्पत्ति नभएकी उनले शान्ति स्थापनापछि भने घरघडेरी जोडेकी छन् ।

जनप्रतिनिधि सुविधाभोगी

जनप्रतिनिधि बनेपछि स्कुटरमा हिँड्न थालेकी छन् । बारबर्दिया–११, फचकवाकी उनीसँग पुर्ख्यौली ७ कट्ठा जग्गा छ तर बाँकेको कोहलपुरमा सुकुम्बासीका नाममा १० धुर जग्गा प्राप्त गरेकी छन् । त्यसबाहेक कोहलपुरमा दुई तलाको घर किनेकी छन् ।


‘३० जनाको संयुक्त परिवार हुँदा १३ बिघा जमिन थियो, बुबाका तीन भाइ छुट्टै बस्न थालेपछि अंशबन्डा हुँदा मेरो भागमा ७ कट्ठा पर्‍यो,’ उनले भनिन्, ‘कोहलपुरमा अर्धपक्की घर छ । त्यसबाहेक सम्पत्ति जोडेकी छैन ।’ उनका श्रीमान् गोपाल शर्मा रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य छन् ।


विगतमा सर्वहाराका पक्षमा राजनीति गरेका नगर र गाउँपालिकाका वडाध्यक्षले समेत वर्षमा दुई/तीनवटा मोटरसाइकल फेर्न भ्याएका छन् । तीमध्येका एक हुन्, बढैयाताल–४ का वडाध्यक्ष कर्णबहादुर थापा । उनी पूर्वमाओवादीबाट वडाध्यक्ष चुनिएका थिए । उनले आवश्यकताअनुसार मोटरसाइकल फेरेर प्रयोग गरिरहेको स्विकारे । ‘सामान्य अवस्थामा र पहाड जान परे फरकफरक मोटरसाइकल लैजान्छु,’ उनले भने, ‘आवश्यकताअनुसार मोटरसाइकल चढेको छु ।’


बर्दियाका सबैजसो नगरपालिका र गाउँपालिकाले गाडी किनेका छन् । वडाध्यक्षका लागि मोटरसाइकल किनिएको छ । सर्वहाराको नारा दिएर निर्वाचित भएका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएका छन् । उनीहरूको पहिलो प्राथमिकता महँगो सवारीसाधन बनेको छ । प्रमुख/उपप्रमुखले आधा करोडभन्दा बढी मूल्यका गाडी प्रयोग गरिरहेका छन् ।


दाङको बबई गाउँपालिकाका पूर्वएमाले नेता भुवनेश्वर पौडेललाई तुलसीपुर बजार आउँदा सार्वजनिक गाडीमा एक घण्टा उभिएर यात्रा गर्नुपर्थ्यो । भीडका कारण हैरान हुन्थे । दैनिक चार/पाँचवटा मात्र गाडी सञ्चालन हुने रुट भएकाले कहिलेकाहीँ तीन घण्टा हिँडेर घर पुग्थे । घर पुग्दा झमक्क रात पर्थ्यो । गाउँपालिका अध्यक्ष निर्वाचित भएलगत्तै उनको जीवनशैली फेरिएको छ । अहिले आफ्नै गाडी छ । जहाँ जाँदा पनि स्कार्पियोमा सरर हुइँकिन्छन् । हिजो सार्वजनिक गाडीमा उनको अवस्था देख्ने कार्यकर्ता परिवर्तन देखेर अचम्म मान्छन् । हिजो पैदल हिँड्ने नेता अहिले गाडीमै हुइँकिन्छन् । भेट्न गाह्रो हुन्छ ।


दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको पनि दैनिकी उस्तै छ । पहिले सधैं बस चढेर काठमाडौं जान्थे, अहिले व्यक्तिगत गाडी वा हवाईमार्ग प्रयोग गर्छन् । उनी पनि पूर्वएमालेकै नेता हुन् ।


गढवा गाउँपालिका अध्यक्ष सहजराज यादव पनि पूर्वएमाले नेता हुन् । लामो समय तत्कालीन राजसभा स्थायी समिति सदस्य परशुनारायण चौधरीसँग प्रतिस्पर्धा गरे । ०५४ मा गोबरडिहा गाविसका अध्यक्ष भए । अहिले गाउँपालिका अध्यक्ष छन् । पहिले टाढा–टाढासम्म पैदलै पुग्थे, अहिले गाडीमा हुइँकिन्छन् । ‘पहिले यातायातका साधन थिएनन्, अहिले गाडीको उपयोग बढ्यो, पैदल हिँड्न पनि सकिन्न,’ उनले भने, ‘अहिले एकै दिन धेरै कार्यक्रम भ्याउनुपर्छ । भनेका ठाउँमा पुग्नुपर्छ । त्यसका लागि गाडी चढ्नैपर्छ । राम्रो काममा गाडी चढ्दा के भयो र ?’


बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली पुराना कम्युनिस्ट नेता हुन् । एमालेका तर्फबाट ०५४ मा काभ्रे गाविस अध्यक्ष भए । अहिले पूर्वमाओवादीका तर्फबाट गाउँपालिका अध्यक्ष चुनिएका छन् । हिजो जनप्रतिनिधि हुँदा जीवनशैली सामान्य थियो । पैदलै गाउँ–गाउँ पुग्थे । सार्वजनिक गाडी चढ्थे । अहिले कार्यालयमा दुईवटा बोलेरो गाडी छन् । गाउँ होस् या सहर, जता जाँदा पनि

त्यसैमा हुइँकिन्छन् ।


आदर्शमा विचलन

गलत क्रियाकलापमा कम्युनिस्टले बुर्जुवालाई उछिनिसकेको जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बताए । ‘कार्यशैली र चरित्र कम्युनिस्टलाई नसुहाउने छ,’ उनले भने, ‘अहिलेको पुस्ताले कम्युनिस्ट महँगो सामान प्रयोग गर्ने, पैसा कमाउने र भडकिला हुन्छन् भन्ने बुझ्ने अवस्था आयो ।’ पद, सत्ता र उपभोक्तावादी चिन्तन हावी भएको उनको भनाइ छ ।


‘नैतिकता बिर्से,’ उनले भने, ‘विलासी जीवनप्रति आशक्ति बढ्यो । विचार, व्यवहार र कार्यशैलीमा स्खलन आयो ।’ नेताहरू सम्पत्ति आर्जनमा लिप्त रहेको आरोप उनले लगाए । ‘नेताको पेसा, उद्योगधन्दा, जागिर केही छैन तर ठूला घर र गाडी कसरी खरिद गर्छन् ?,’ उनले भने, ‘यी सम्पत्ति वैधानिक बाटाबाट आएको होइन भन्ने कुरा दुनियाँलाई थाहा छ ।’


गाउँमा जाने, जनताको घरमा बस्ने, संगठन निर्माण गर्ने, सरल जीवन बिताउने कुरा इतिहास भइसकेको छ । अधिकांश नेता सहरकेन्द्रित छन् । सुखसयलमा मग्न छन् । विभिन्न व्यवसायमा संलग्न छन् । गैरकानुनी व्यवसायमा जोडिने गरेका छन् । यसले कम्युनिस्ट नेताहरू आदर्शबाट विचलित भइरहेको पुष्टि भएको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । ‘कम्युनिस्ट नेताहरू वर्गीय पक्षधरताबाट चिप्लिँदै गएका छन्,’ उनले भने, ‘आफ्नो धरातलबाट स्खलित भएर प्रतिबद्धताको पछि लाग्न सकेका छैनन् ।’


यस्तो परिवर्तनले पार्टीसामु चुनौती बढेको उनले बताए । ‘हिजो सत्ताविरुद्ध लड्नुपर्ने अवस्था थियो, घरमा, सुगम ठाउँमा बसेर राजनीति गर्ने अवस्था थिएन,’ उनले भने, ‘गाउँमा केन्द्रित हुनुपर्ने बाध्यता थियो । अहिले सरकारमा सहभागी भएपछि बजारमा आइयो ।’ अधिकांश राजनीतिमा संलग्न व्यक्ति मध्यमवर्गीय भएकाले हिजो लथालिंग भएका घर अहिले जोरजाम गरेर व्यवस्थित बनाइरहेको उनले बताए ।


‘केही सम्पत्ति भएकै मान्छे राजनीतिमा लागेकाले अहिले घरमा बसेर जनताको काम गर्ने परिस्थिति बनेको छ, नेतृत्व जनताका बीचमा बस्ने, खाने कुरा कम भएको छ,’ उनले भने, ‘हिजो थोरै नेता हुन्थे, सजिलो थियो । अहिले नेताहरू धेरै भए, सुरक्षाका लागि पछिपछि ठूलो जमात हुन्छ । गाउँमा व्यवस्थापन गर्न समस्या हुने भएकाले होटलमा बस्ने चलन बढेको हो ।’


कम्युनिस्ट गरिबका पक्षमा उभिने पार्टी भएकाले नेताको जीवनशैली भड्किलो हुन नहुने नेकपा जिल्ला अध्यक्ष टीकाराम खड्काले बताए । ‘हाम्रो खर्च, लबाइखवाइ र जीवनशैली जनताले स्विकार्ने खालको हुनुपर्छ,’ उनले भने, ‘नेता बिग्रेकामा चिन्ता छ ।’


उपयोग मात्र

राणाकाल होस् वा पञ्चायत । निरंकुशताविरुद्ध जनता गाउँगाउँबाट उठे । माओवादी सशस्त्र द्वन्द्वमा त बर्दियाका दुई सयभन्दा बढीले ज्यान गुमाए । राणा, पञ्चायत, राजाविरुद्धका लडाइँमा जिल्ला अग्रपंक्तिमा रह्यो । ‘यहाँका सर्वसाधारणले मुक्ति चाहे । दुई छाक राम्रो गरी खान पाउने आस गरे,’ राजनीतिशास्त्रका प्रध्यापक डा. जनार्दन आचार्यले भने, ‘त्यसका लागि राजनीतिक परिवर्तन गर्नुपर्ने भन्दै नेताले भजाएका छन् । जसले परिवर्तनका लागि योगदान गर्‍यो । उसले केही पाएन । नेताको जीवनशैली फेरियो ।’


आचार्यको विश्लेषण राणा, पञ्चायतकालमा मुक्तिका लागि लडेका बढैयाताल गाउँपालिका–५ का रामलौटन चौधरीको जीवनसित मेल खान्छ ।


पञ्चायतविरुद्धको लडाइँमा उनले सर्वस्व गुमाए । प्रवासी जीवन बिताए । परिवार छाडे । पञ्चायतविरुद्ध जनजागरण अभियानमा गाउँगाउँ पुग्थे । भूमिगत रूपमा लडाकु तयार पार्थे । आफैं नाटक मञ्चन गर्थे । जमिनदार, सामन्ती व्यवस्थाले दिएको पीडा नाटकका माध्यमबाट व्यक्त गर्थे । उनी अहिले धार्मिक कार्यमा लागेका छन् । राजनीतिको ‘र’ सुन्न तयार छैनन् । जसले बलिदान दियो, उही गरिब भएपछि निराशा छाएको हो । ‘राजनीति भन्ने चीज अनौठो रहेछ, जो शासकविरुद्ध लड्छ, ऊ सधैं कमजोर भएर बस्नुपर्ने,’ चौधरीले भने, ‘जीवनभर मुक्तिका लागि लडयौं तर परिवर्तन पाएनौं । राजनीतिका ठेकेदारले सबथोक कमाए ।’


जिल्लाका अधिकांश सर्वसाधारण गरिब छन् । आदिवासी थारूको बाहुल्य छ । हरेक पटक मुक्तिका नाममा प्रयोग हुँदै आएका छन् । ‘जातीय रूपमा विभेद छ । गरिबी व्यापक छ । त्यसैले सर्वसाधारण परिवर्तनका लागि आन्दोलनमा होमिन तयार हुन्छन्,’ विश्लेषक आचार्यले भने, ‘राणाकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि ठगिने वर्ग भनेकै कमजोर तथा गरिब हुन् ।’


‘कम्युन’ का वाचा भुले

रोल्पाबाट सुरु भएर १० वर्ष सञ्चालन भएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा नेता भाषण गर्थे, ‘हामी व्यक्तिगत धनआर्जन रोक्छौं । निजी सम्पत्ति कमाउने छैनौं ।’ त्यसको जगमा उनीहरूले थबाङजस्ता केही गाउँमा ‘कम्युन’ गठन गरे ।


थबाङ, जेलबाङ, गामलगायत रुकुम, जाजरकोट, कालीकोट जिल्लाका धेरै गाउँमा कार्यकर्तालाई कम्युनको सदस्य बनाइयो । कम्युन गठनमा तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहालको महत्त्वपूर्ण भूमिका रहेको स्थानीय नेता–कार्यकर्ता स्मरण गर्छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य, कृष्णबहादुर महरा, रामबहादुर थापा, नेत्रविक्रम चन्द र वर्षमान पुनले त्यसबेला स्थानीयलाई सदस्य बन्न पटक–पटक आह्वान गरेका थिए ।


द्वन्द्वताका चीनमा माओले जस्तै थबाङलाई आधार क्षेत्र मानेर ‘यनान’ नामकरण गरिएको थियो । ०६३ मा शान्ति स्थापनापछि देशभर गठन गरिएका कम्युन निष्क्रिय बने । त्यससँगै आदर्शमा विचलन देखिन थाल्यो । जनतालाई केन्द्रमा राख्ने वाचा भुले । व्यक्तिकेन्द्रित भएको आरोप लाग्यो ।


युद्ध अवधिमा सर्वसाधारणको जस्तै जीवनशैली अपनाउने नेता सत्तामा पुगेपछि बदलिएका छन् । उनीहरूको आर्थिक सम्पन्नता, भडकिलो जीवनशैली र सुविधायुक्त जीवनयापन देखेर कार्यकर्ता रुष्ट छन् ।


रोल्पाका पूर्वसांसद जोखबहादुर महराका छोरा रत्नले जीवनशैली फेरिनु दुःखद भएको बताए । अहिले उनी बस व्यवसायी बनेका छन् । ‘नेताको जीवनशैली फेरिने आर्थिक स्रोतबारे अनुसन्धान जरुरी छ,’ उनले भने, ‘पहिले कांग्रेसका नेतालाई हामी आरोप लगाउँथ्यौं, अहिले कम्युनिस्टलाई लाग्ने गरेको छ ।’ भवन बनाउन, गाडी खरिद गर्न र व्यापार गर्न पैसा कहाँबाट आयो, खोजी गर्नुपर्ने उनले बताए ।


सबैलाई बराबर बनाउने राजनीतिक भाषण गरेको सम्झिँदै नेकपा जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियारले भने, ‘अहिले ख्यालठट्टा गरेजस्तो भएको छ, हिजो आफैंले भनेका कुरा आज पालना भएका छैनन् ।’ गाउँघरमा जातीय विभेद बढेको तर नेताहरू निजी सम्पत्ति कुम्ल्याउने खेलमा लागेको उनले आरोप लगाए ।


सभामुख कृष्णबहादुर महराका छोरा निर्मल पूर्णकालीन हुँदा जस्तो जनतामा निर्भर बन्नुनपर्ने भएकाले शान्ति प्रक्रियापछि नेता र तिनका सन्तान व्यापारमा लाग्नुपरेको तर्क गर्छन् । ‘यसमा आपत्ति मान्नु पर्दैन,’ उनले भने, ‘बुबा (महरा) लाभको पदमा रहे पनि हामीले परिवार चलाउन व्यवसाय र कृषि क्षेत्रमा लाग्नुपरेको छ ।’ दुई भाइले व्यवसाय र कृषि फार्म चलाउँदै आएको उनले बताए । ‘हाम्रो सम्पत्तिको स्रोत त्यही हो,’ उनले भने ।


प्रदेश ५ का सांसद दीपेन्द्रकुमार पुनमगरले गैरकानुनी रूपमा बाहेक नेताले व्यापार व्यवसाय गर्न पाउने तर्क गरे । ‘राजनीतिमा लागेपछि उसको परिवारलाई पनि बाँच्नुपर्छ,’ उनले भने, ‘त्यसैले गैरकानुनीबाहेक सबै काम गर्न छुट दिनुपर्छ ।’ पुनका छोराले विभिन्न व्यवसाय गर्दै आएका छन् ।


उनीसहित सभामुख महरा र ऊर्जामन्त्री वर्षमान पुनका छोरा र भाइले पनि विभिन्न व्यवसाय गर्दै आएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पनि व्यवसाय र समाजसेवा सँगसँगै गर्दै आएका छन् । नेताको जीवनशैलीबारे गुनासो बढेको नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताए । ‘पार्टीभित्र गम्भीर बहस गर्न आवश्यक छ,’ उनले भने, ‘राजनीतिक आडमा नेताले सम्पत्ति कमाएको गुनासो सुनेको छु, त्यो राम्रो पक्ष होइन ।’


–काशीराम डाँगी (रोल्पा), दुर्गालाल केसी (दाङ), ठाकुरसिंह थारूकमल पन्थी (बर्दिया)

प्रकाशित : असार १५, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?