दुर्व्यसनमुक्त भई सगरमाथामा

पर्वत पोर्तेल

काँकडभिट्टा — करिब २१ वर्ष दुर्व्यसनको दलदलमा फसे ३६ वर्षीय वाङा शेर्पा । १८ महिनाअघि कुलतबाट बाहिर निस्किन अचानक अठोटको पाइला उचाले । त्यो पाइला संसारकै अग्लो सगरमाथाको शिखरसम्म पुग्यो । चुचुरोमा ‘से नो टु ड्रग’ अंकित झन्डा फरफराएर उनी फर्किए ।

‘रमाइलो गरौं न त’ भन्ने बहानामा जीवनको आधाभन्दा बढी समय कुलतमा बिताएका उनले दलदलबाट उम्कन पटकपटक प्रयत्न गरेका थिए तर सकेका थिएनन् । यसपटकचाहिँ दलदलबाट निस्किएरै छाडे । ‘म सुधार केन्द्रमा मात्रै पाँच पटकसम्म बसें’, वाङाले अनुभव साटे, ‘सुधार केन्द्र बसुन्जेल ठीक, निस्किएपछि फेरि रिल्याप्स भइहाल्थें ।’


पछिल्लोपटक सुधार केन्द्र बसाइपछि वाङाले गम्भीर भएर सोचे, ‘एकबारको जिन्दगी बेकारमा खेर फाल्नु हुँदैन, केही गर्नुपर्छ ।’ लामो समयदेखि सगरमाथा आरोहीलाई गाइड गरेको अनुभव थियो उनीसँग । ट्रेकिङका पनि अनुभवी नै थिए तर सगरमाथा चढ्ने सोच कहिल्यै बनाएनन् ।


यसपटक पनि योजना थिएन । आरोहीलाई सघाउन आधार शिविरसम्म गएका मात्र थिए । तर ट्रेकिङ व्यवसायी आङछिरिङ लामाको हौसलाले उनलाई शिखर चुम्न मद्दत गर्‍यो । उनले आफूलाई सक्षम छु भनेर पुष्टि गर्ने मौका पाए । ‘आङछिरिङ दाइकै प्रेरणाले मलाई शिखर चुम्न ऊर्जा मिलेको हो,’ वाङाले सगौरव भने, ‘नत्र शिखर चुम्ने थिइनँ होला ।’


सगरमाथा आरोहणपछि वाङाको परिचय फेरियो । हिजो दुर्व्यसनी हुँदा सबैबाट उपेक्षित थिए । आज सबैका हाईहार्ई बनेका छन् । उनी लागूपदार्थ दुर्व्यसनविरुद्ध पूर्वका विभिन्न सुधार केन्द्र र विद्यालयमा अनुभव साट्दै हिँडिरहेका छन् । यही मेसोमा गृहनगर काँकडभिट्टा आइपुगेका वाङाले लागूपदार्थबिना पनि जिन्दगी जिउन सकिने अनुभव सुनाए ।


‘लागूपदार्थबिना पनि बाँच्न सकिने रहेछ भन्ने बल्ल थाहा पाएँ’, वाङाले भने, ‘म त सोच्थेँ, ड्रग्सबिना जीवन छैन । तर रहेछ, म ठूलो भ्रममा रहेछु । अमूल्य जीवनलाई खेर नफालौं ।’ अब आरोहणमै सक्रिय बन्ने उनको सोच छ । निकट भविष्यमा सातवटा देशको हिमाल ‘सेभेन समिट’ पुग्ने योजनामा छन् ।


मुलुकको पूर्वी सहरसँग वाङाको साइनो निकै पुरानो छ । जन्मिन त उनी भुटानमा जन्मिए । तर हुर्की–पढी गरे, सीमा सहर काँकडभिट्टामा । कालान्तरमा यही सहरले दुर्व्यसनी (लागूपदार्थ सेवनकर्ता) बनायो । नजिकै भारत । लागूपदार्थको सहज बिक्रीवितरण ।


यो सहजताले उनलाई दुर्व्यसनी बन्न समय लागेन । स्थानीय सूर्योदय माविबाट एसएलसी सकेर उच्च शिक्षा पढ्न काठमाडौं गएका उनी त्यहाँ पुगेपछि झन् चुलुम्मै डुबे दुर्व्यसनको दलदलमा । ‘कुलतमा लागेर जीवनकै धेरै महत्त्वपूर्ण क्षणहरू गुमाएछु’, वाङाले भने, ‘अहिले सम्झिँदा लाग्छ, बेकारमा युवा समय खेर फालिएछ ।’

प्रकाशित : असार १५, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?