१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वित्तीय अपराध बढ्दै : ६ महिनामा १२ चेक बाउन्सका मुद्दा दर्ता

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीकी शान्ता राईले वर्षा कार्कीलाई ६५ लाख रुपैयाँ सापटी दिएकी थिइन् । तर, धेरै समयसम्म कार्कीले पैसा फर्काउन सकेकी थिइनन् । ०७५ असार ३१ मा भने उनले ५६ लाखको चेक काटेर राईलाई दिएकी थिइन् । उक्त चेकमा हिमालय बैंक लिमिटेड शाखा कार्यालय इटहरी रमेशकुमार कार्की उल्लेख गरिएको थियो ।

वित्तीय अपराध बढ्दै : ६ महिनामा १२ चेक बाउन्सका मुद्दा दर्ता

चेक साट्न बैंक पुग्दा खातामा पैसा नभएको पाइन् । राईले ब्युटी पार्लर सञ्चालन गर्दै आएकी थिइन् ।


पार्लर सिक्ने क्रममा उनको कार्कीसँग चिनजान भएको थियो । कार्कीले राईको पार्लरमा काम पनि गर्दै आएकी थिइन् । आफ्नो श्रीमान कोरियामा रहेको बताउने कार्की घर व्यवहारको कुरासमेत सुनाउने गर्थिन् । राई र कार्कीबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो ।


यद्यपि पछिल्लो समय भने कार्कीले चेकमार्फत झुक्याएको कारण राईले उजुरी दिएकी थिइन् । हाल इलाका प्रहरी कार्यालय इटहरीले वर्षालाई पक्राउ गरी चेक बाउन्सको आरोपमा अनुसन्धान थालेको छ ।


यस्तै, चितवनका अल्विन चौधरी र तीर्थबाबु परियार इटहरीमा बस्दै आएका थिए । उनीहरू गाउँका छिमेकी हुन् । तीर्थ कक्षा १० सम्मका विद्यार्थीलाई ट्युसन पढाउँथे । अल्विन भने चाँदीका ब्रास्लेट बनाएर घर–घरमा गई बेच्ने गर्दथे ।


छिमेकी भएको नाताले अप्ठ्यारो पर्दा दुवैबीच आर्थिक लेनदेन पनि हुने गरेको थियो । अन्तिम पटक चौधरीले २ लाख १५ हजार ५ सय रुपैयाँ तीर्थलाई सापटी दिएका थिए । यद्यपि उनले समयमा पैसा पाएनन् । उल्टै तीर्थले ०७५ भदौ २९ गते मेगा बैंक नेपाल लिमिटेड इटहरी शाखाको चेक दिएर चौधरीलाई फँसाए ।


हाल धरौटीमा पैसा तिरेर तीर्थ छुटिसकेका छन् । शान्ता र अरविन्द बाउन्स चेकको मारमा पर्ने प्रतिनिधि पात्र हुन् । पछिल्लो समय वित्तीय अपराध इटहरीमा बढदो क्रममा छ । चेक बाउन्स भन्नाले भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु हो ।


खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले प्रहरीमा उजुरी गर्न सक्छन् ।


इलाका प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार आव ०७५/७६ को साउन १ देखि जेठ ३२ सम्म चेक बाउन्ससम्बन्धी २० वटा मुद्दा दर्ता भएको थियो । जसमध्ये बैंकिङ कसुरअन्तर्गत ९ पुरुष र २ महिला पक्राउ परिसकेका छन् । ९ जना भने फरार छन् । दर्ता भएको चेक बाउन्समार्फत १ करोड ३० लाख रुपैयाँ ठगी भएको उजुरी परेको छ । इलाका प्रहरी इटहरीका निरीक्षक बुद्धि चौलागाईंका अनुसार जग्गा कारोबारी र आर्थिक लेनदेनबीचको कारोबारका चेक बढी बाउन्स हुने गरेको छ ।


‘नियतवश र लेनदेन मिलाउन नसक्दा चेक बाउन्स हुने गरेको पाइएको छ,’ चौलागाईंले भने, ‘साना तथा ठूला चेक बाउन्सका उजुरी आउने गरेको छ ।’ चेक बाउन्स भएको प्रमाणसहित आएमा सिधै मुद्दा दर्ता गरिने उनले बताए ।


नेपाल बैंक इटहरी शाखामा वार्षिक ५ देखि ७ वटासम्म चेक बाउन्सका घटना हुने गरेको तथ्यांक छ । डेढ लाखदेखि ४ लाख रुपैयाँसम्मका चेक बाउन्स हुने गरेको शाखा प्रमुख अशोक कार्कीले बताए । ‘चेक बाउन्सका घटना कम गर्न जनतालाई सचेत गराउन सक्नुपर्छ,’ कार्कीले भने, ‘सरकारी तबरबाट समेत कडा गर्न सके घटना कम हुने थियो ।’


नेपाल वाणिज्य बैंक इटहरी शाखाको तथ्यांकअनुसार ६ महिनामा एक दर्जन चेक बाउन्सका घटना हुने गरेको पाइएको छ । शाखामा १ देखि १० लाख रुपैयाँसम्मका चेक बाउन्स हुने गरेको निमित्त प्रमुख भरत पोखरेलले बताए ।

प्रकाशित : असार १५, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?