१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विस्फोटका घटना बढेपछि केन्द्र बस्न थाले जनप्रतिनिधि

विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउने डर 
मेनुका ढुंगाना

अछाम — अछामका सार्वजनिक निकायमा आगजनी र विस्फोटका घटना बढेपछि जनप्रतिनिधि त्रासमा छन् । त्रासकै कारण धेरैजसो वडाध्यक्ष स्थानीय तहको केन्द्रमै बस्न थालेका छन् ।गाउँपालिका केन्द्रबाट ४ घण्टाको दूरीमा रहेको ढकारी गाउँपालिका ५ को कार्यालयलगायत सम्पूर्ण कागजात जलाइएपछि कार्यालय सञ्चालनमा आउन सकेको छैन । यो गाउँपालिका मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेखको सिमानामा पर्छ ।

विस्फोटका घटना बढेपछि केन्द्र बस्न थाले जनप्रतिनिधि

‘सुरक्षा नभएकाले कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष रामबहादुर बुढाले भने, ‘हामी आफैं असुरक्षित भएपछि गाउँपालिकाको केन्द्रमा कोठा भाडामा लिएर बस्ने तयारी गरेको छु ।’ आगजनीबाट कार्यालयका उपकरण, कागजात र अन्य सामग्री जलेका थिए ।

आफूमाथि पनि आक्रमण नहोला भनेर ढुक्क हुने अवस्था नरहेको पञ्चदेवल विनायक नगरपालिका ३ का वडाध्यक्ष सुरेन्द्र शाहीले बताए । ‘वडा कार्यालय नै जलाइएपछि मानसिक तनाव हुन थालेको छ,’ उनले भने, ‘वडाध्यक्षलाई ज्यान जोगाउन गाह्रो परेको छ ।’ राति २ बजे ५/६ जनाको समूहमा आएका व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको उनको भनाइ छ ।


जिल्लामा विस्फोटन र आगजनीका घटना बढेका छन् । चैत १२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसेन झातामा दोहोरो गोली चल्यो । जेठ १ गते मंगलसेन नगरपालिकाका प्रमुख चढ्ने गाडी जलाइयो । जेठ २५ गते माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भयो । यस्तै असार १० गते दुई वडा कार्यालयमा आगजनी भएपछि वडाध्यक्ष त्रस्त भएका हुन् ।


पछिल्लो समयमा बढेका घटनामा चन्द समूहको संलग्नता रहेको प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाही बताउँछन् । ‘घटनामा चन्द समूहकोृ संलग्नता देखिएको छ,’ उनले भने, ‘घटनामा संलग्नको पहिचान भएको छ । खोजीका लागि जिल्लाका सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको छ ।’


नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न अछाममा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जानकारी दिएको छ । अछामसँग सीमा जोडिएका दैलेख र कालिकोटका नेपाली सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक दैलेखको राकममा बसेको थियो ।


दोस्रो चरणमा डोटी, बाजुरा,सुर्खेतका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा अछामको साँफेबगर नगरपालिका १० घुँघुरकोटमा सुरक्षा बैठक बसेर चन्द समूहका गतिविधिमाथि निगरानी बढाउनेलगायत निर्णय गरेको थियो। जिल्लामा सक्रिय चन्द समूहका २५ जना कार्यकर्ता नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने सुरक्षा संयन्त्रको आकलन छ ।


चन्द समूहले पनि जिल्लामा ३ कमान्डमा नेता, कार्यकर्ता परिचालन गरेको बुझिएको छ । रामारोशनमा दोहोरो गाली प्रहारपछि नेता–कार्यकर्ता सम्पर्कबाहिर रहेर आन्तरिक योजना बनाइरहेको चन्द समूह निकट स्रोतको भनाइ छ ।

प्रकाशित : असार १५, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?