३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३० फिटसम्म बालुवा झिक्दा खोलामा खाडल, पौडी खेल्दा गाडिए बालक

जनकपुर — मधेसमा शनिबार उत्पात गर्मी थियो । गर्मी छल्न सर्लाही, ईश्वरपुर–१३ का १२ वर्षीय अमित राय साथीसँगै घरनजिकैको बाँके खोला पुगे । खोलाको गहिराइ र पानीसित उनी अभ्यस्त थिए । पौडी खेल्न पनि माहिर । 

३० फिटसम्म बालुवा झिक्दा खोलामा खाडल, पौडी खेल्दा गाडिए बालक

अरु दिनजस्तै उनी खोलामा हामफाले । सँगै गएका साथी डिलमै थिए । खोलामा हामफालेको एक मिनेटसम्म अमितले एकपटक पनि डुबुल्की लगाएनन् । निकैबेरसम्म सतहमा ननिस्किएपछि साथी आत्तिए । उनी दौडिँदै बस्तीमा पुगे र अमित खोलाबाट ननिस्केको बताए । स्थानीयवासी तुरुन्तै पुगेर उद्धार प्रयास गरे, सम्भव भएन ।

अमित हामफालेको ठाउँमा गहिरो खाल्डो थियो । स्थानीयले खबर गरेपछि उद्धारमा सशस्त्र प्रहरी खटियो । करिब २४ घण्टाको प्रयासपछि आइतबार खोलाको खाल्डोबाट अमितको शव निकालियो । नुहाउन खोलामा हाम फालेका अमितको टाउको खाल्डोको माटोमा गाडिएको थियो ।

उद्धारमा प्रहरी ढिलो पुगेको र मनलाग्दी बालुवा–गिट्टी झिकेर गहिरो खाडल बनाएको भन्दै स्थानीय आक्रोशित भए । बाँके खोला महोत्तरी र सर्लाहीको सीमामा पर्छ । त्यसैले दुवै जिल्लाले ठेक्का लगाएर ढुंगागिट्टी झिक्न दिने गरेका छन् ।

खोलाको पश्चिमी भाग सर्लाहीको ईश्वरपुर नगरपालिका तथा पूर्वी भागमा महोत्तरीको बर्दिवास र सर्लाहीको हरिपूर्वा नगरपालिकाले ठेक्का लगाउँछन् । बर्दिवास र हरिपूर्वा नगरपालिकाले एक–एक वर्षको अन्तरमा खोला ठेक्का लगाउँछन् । यो वर्ष खोला ठेक्का लगाउने पालो हरिपूर्वा नगरपालिकाको हो ।

सरकारी मापदण्डअनुसार खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्दा ३ फिटभन्दा गहिरो खन्न पाइँदैन तर बाँके खोलामा ३० फिटसम्म गहिरो खनिएको स्थानीयले बताएका छन् । बालकको मृत्युपछि बाँके खोलामा बालुवा–गिट्टीको ठेक्का लगाउने सर्लाहीका ईश्वरपुर र हरिपूर्वा तथा महोत्तरीको बर्दिवास नगरपालिकाले एक–अर्कामाथि दोषारोपण गरिरहेका छन् ।

‘बाँके खोलामा मनपरी उत्खनन भइरहेको जानकारी प्रहरी–प्रशासनलाई स्थानीयले धेरैपटक गराए,’ सर्लाहीको त्यस क्षेत्रका प्रतिनिधिसभा सांसद प्रमोद साहले कान्तिपुरसँग भने, ‘स्थानीय तहले आँखा चिम्लिए । प्रहरी–प्रशासन खोला हेर्न पनि आएन । त्यसकै परिणति हो बालकको मृत्यु ।’

त्यस क्षेत्रका प्रदेशसभा सांसद उपेन्द्र महतोले खोलाको ठेक्का लगाउने र उत्खनन गर्ने दुवैलाई कारबाही हुनुपर्ने माग गरेका छन् । ‘बाँके खोलाको आधा किलोमिटर क्षेत्रमा ५ देखि १६ फिटसम्म गहिरो उत्खनन गरिएको छ,’ प्रदेशसभा सांसद महतोले भने, ‘मिलेमतोमा बाँके खोलाको दोहन गरिएको छ ।’

महतोले बाँके खोलाको अवैध उत्खननमा ईश्वरपुर नगरपालिकाको सहयोग रहेको आरोप लगाए । खोलामा भइरहेको अवैध उत्खनन बन्द गर्नुपर्ने, खोलाबाट गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डो पुर्नुपर्ने, बस्ती नजिकमा रहेको अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने स्थानीयको माग छ ।

झन्डै ६ महिना अघिबाट बाँके खोलामा अवैध दोहन बढेको छ । खोलामा वातावरणीय प्रभाव मूल्यांकन नगरी क्रसर व्यवसायीले उत्खनन गरिरहेका छन् । महोत्तरीतिर खोला किनारमा दुईवटा क्रसर उद्योगले उत्खनन गरिरहेका छन् ।

झन्डै दुई महिनाअघि महोत्तरीका क्रसर व्यवसायीले सर्लाहीतिरको खोलामा अवैध उत्खनन गर्न थालेपछि ईश्वरपुर नगरपालिकाले जरिवाना तिराएर खाल्डो पुर्न लगाएको मेयर मनोज देवकोटाले बताए । महोत्तरीपट्टि भने उत्खनन जारी रहेको र त्यहाँ २० देखि ३० फिटसम्म गहिरो खाल्डो बनेको स्थानीय गंगा महतोले बताए ।

महोत्तरीको गौशाला नगरपालिका सर्लाहीको हरिपूर्वा नगरपालिकाले खोला ठेक्का लगाएको भन्दै पन्छेको छ भने हरिपूर्वा नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले खोलामा कुनै किसिमको ठेक्का नलगाएको दाबी गरेका छन् ।

प्रकाशित : असार १६, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?