१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रोपाइँलाई पानीको प्रतीक्षा

धान दिवसमा महोत्सवको तामझाम चलिरहँदा मल र सिँचाइ अभाव झेलिरहेका किसान भने चिन्तामा डुबे । असार १५ नाघिसक्दा अझै थुप्रै खेतीयोग्य जमिन बाँझै छन् ।
प्रदेश ब्युरो

बुटवल — धान दिवसका दिन जिल्ला–जिल्लामा रोपाइँ कार्यक्रम आयोजना गरिए । किसान, संघसंस्था, सांसद र मन्त्रीको ती कार्यक्रममा ओइरो लाग्यो । स्थानीय तहपिच्छे कार्यक्रम आयोजना भए । जमिनमुनिको पानी तानेर एउटा गरो हिल्याएर धान रोपियो ।

रोपाइँलाई पानीको प्रतीक्षा

त्यसपछि औपचारिक कार्यक्रममा धानको महत्त्वबारे व्याख्या गरियो । आइतबार बिहानैदेखि हिलो खेलेको, दही चिउरा खाएको, सफा कमिज र पाइन्ट पहिरेर धान रोपेका तस्बिरले सामाजिक सन्जाल भरिएका थिए । धेरैले आलोचना र समर्थनमा विचार राखे ।


बर्दियाको राजापुर क्षेत्रमा ५० प्रतिशत रोपाइँ सकिएको छ । कर्णाली नदीबाट सिंचाइ हुने खेतमा रोपाइँ गरिएको हो । सिंचाइ नपुगेका खेत बाँझै छन् । आइतबार राजापुरमा १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरियो । महोत्सवको तामझाम थियो ।


मल र सिंचाइ पर्याप्त नहुँदा किसान निराश थिए । महोत्सवको कृषिमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका थिए । रोपाइँमा किसानभन्दा कर्मचारी, दलका कार्यकर्ता र सुरक्षा निकायको सहभागिता धेरै थियो । यस वर्ष दिवसमा ‘धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ नारा रहेको थियो । समयमा बीउ र मल नपाएको किसानको गुनासो छ ।


पर्याप्त वर्षा नभएकाले मर्कामा परेको राजापुर–११ का दिगम्बर थारुले बताए । सबैभन्दा बढी सिंचाइ हुने राजापुर क्षेत्रमा ५० प्रतिशत रोपाइँ सकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपर जोनका प्रमुख वीरेन्द्रराज पराजुलीले बताए । केहीले बोरिङको भरमा सिंचाइ गरेका छन् । जिल्लाको पूर्वी क्षेत्रमा आइतबारसम्म ५ प्रतिशत मात्र रोपाइँ भएको छ । बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा ४ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र प्रमुख मनोज सिंहले बताए ।


असार मसान्तसम्म मनसुनी वर्षा नआए जिल्लामा ५० प्रतिशतसम्म धान उत्पादन घटने उनले बताए । गत वर्ष जिल्लामा समयमा वर्षा भएकाले १५ प्रतिशत भन्दा बढी धान उत्पादनमा वृद्धि भएको थियो । जिल्लामा करिब ५० हजार ५ सय हेक्टर क्षेत्रफलमा किसानले धान लगाउँदै आएका छन् ।


पानी पर्खिंदै किसान

प्रदेश ५ स्थित तराईका जिल्लामा अधिकांश खेत बाँझै छन् । मध्य असारसम्म पर्याप्त वर्षा नभएकाले जमिन सुक्खा छन् । किसान आकासे पानीको प्रतीक्षामा छन् । पश्चिम तराईमा धेरै धान उब्जनी हुने बाँकेमा अझै रोपाइँको सुरसार छैन । थोरै पानीको जोहो गरेर किसानले ब्याड राखेका छन् । रोपाइँ गर्न सकेका छैनन् ।


यस वर्ष पर्याप्त पानी नपर्दा किसानले ढिलो गरी धानको ब्याड राखेका हुन् । अहिले खेतमा धाँजा फाटेको छ । ‘बोरिङ चलाएर रोपाइँ गर्ने अवस्था छैन,’ जानकी गाउँपालिका–२ का तीर्थराम मौर्यले भने, ‘ब्याड तयार छ, असार २० सम्म वर्षा भए रोपाइँ गर्न सकिन्छ ।’


खजुरा गाउँपालिका–३, केगाउँका हरिलाल शर्माले ब्याड राखेको धान भर्खरै टुसाएको बताए । असार अन्तिमतिर रोप्नका लागि तयार हुन्छ । ‘पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौं,’ खजुर–२ का दीपक थापाले भने ।


कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेमा ३६ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन रहेको बताए । उनका अनुसार गत वर्ष ४ मेट्रिक टन प्रतिहेक्टरका दरले १ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मौसम प्रतिकूल भए साउन पहिलो सातासम्म रोपाइँ सकिने उनले बताए ।


रूपन्देहीमा जताततै बाँझा खत देखिन्छन् । रोपो हरियो भइसक्नु पर्ने खेत सुक्खा छन् । किसानले बोरिङ र टयुबवेलको पानीले बीउ राखेका छन् । पर्याप्त वर्षा नभएकाले रोपाइँ गर्न पाएका छैनन् । जिल्लामा सरकारी सहयोगस्वरूप प्राप्त बोरिङले वर्षा भएपछि मात्र जमिनमुनिको पानी तान्छन् ।


रोहिणी गाउँपालिका–२ का किसान खेत रोप्न नपाउँदा चिन्तित छन् । धेरै ढिलो गरी मनसुन सुरु भएकाले पनि समस्या परेको कृषक निजामुद्दिन पठानले बताए । ‘बजेट खर्च गर्न मात्रै दिएको बोरिङले पानी तान्दैन,’ उनले भने, ‘गाउँभरि १० प्रतिशत मात्र रोपाइँ भएको छ ।’ उनको ३० कठ्ठा जमिन छ । अहिलेसम्म ६ कठ्ठामा मात्र रोपाइँ गरेको बताए ।

यस वर्ष पानी अभावले रोपाइँ ढिलो हुने स्थानीय दिलीप यादवले बताए । ‘मल अभावले समस्या थियो,’ उनले भने, ‘पानीले पनि धोका दियो ।’ भारतबाट मल ल्याएर बीउ राखे पनि पानी नपर्दा रोप्न नपाइएको उनले गुनासो गरे । यस वर्ष हालसम्म कति रोपाइँ भयो भन्ने तथ्यांक प्रदेश ५ कृषि मन्त्रालयसित पनि छैन ।


कृषि विभागसँगको समन्वयमा तथ्यांक पाइने भए पनि संरचना निर्माण र अध्ययनले ढिलो भएको कृषि मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख राममिलन प्रसाद विश्वकर्माले रोपाइँ भएको तथ्यांक संकलन ज्ञानकेन्द्रको कार्यक्षेत्रमा नपर्ने बताए ।


३६ हजार हेक्टर बाँझै

दाङका अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । समयमा पानी नपर्दा खेत बाँझै छन् । धेरै ठाउँमा भर्खर ब्याड राख्न थालिएको छ । जिल्लामा ३७ हजार हेक्टर धानखेती हुन्छ । अहिलेसम्म १ हजार हेक्टरमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।


‘भर्खरै पानी पर्न थालेको छ । धेरै ठाउँमा ब्याड राख्न सुरु भएको छ । ठूलो भूभागमा रोपाइँ बाँकी छ,’ उनले भने, ‘अब पानी पर्‍यो भने असारभित्रै रोपाइँ सकिन्छ ।’ खेतीयोग्य जमिनमा प्लटिङले ५ हजार हेक्टर जमिन बाँझै रहेको उनले बताए । ‘खेतीयोग्य जमिनमा प्लटिङ गर्ने क्रम बढो छ । यसले बर्सेनि उत्पादन घटाउँदै लगेको छ,’ बस्नेतले भने, ‘खेतहरू घडेरी बन्ने क्रम बढो छ । घडेरी भएपछि खेती हुन छोडेको छ । जग्गाधनी सम्बन्धित ठाउँमा नहुँदा खेत बाँझै छन् ।’ खेती प्रविधि भने आधुनिक हुँदै गएको बस्नेतले बताए ।


धेरैजसो किसानले उन्नत बीउ, उपकरण र प्रविधिमा खेती गर्ने गरेको उनले जनाए । ‘खेतीमा आधुनिकता भित्रिएको छ । खेतमा मेसिनहरू प्रयोग भइरहेका छन्,’ उनले भने, ‘बीउ पनि उन्नत खालको प्रयोग भइरहेको छ । यसले उत्पादन बढाउन सहयोग मिलेको छ ।’


आइतबार जिल्लाका विभिन्न ठाउँमा धान रोपेर असार १५ मनाइएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाले वडा १२ को कात्तिकेमा रोपाइँ दिवस मनाएको छ । स्थानीय किसान शोभाकर रोकाको खेतमा नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललगायतका जिल्लाका सरकारी अधिकारी पुगेका थिए । विभिन्न ठाउँमा औपचारिक कार्यक्रमका साथ धान दिवस मनाइएको घोराही उपमहानगरका कृषि शाखा प्रमुख भरतमणि पोखरेलले बताए । ढिला पानी परेकाले समयमै रोपाइँ हुन नसकेको उनले बताए ।


१५ प्रतिशत मात्रै रोपाइँ

रोपाइँ गर्न नपाएपछि पश्चिम नवलपरासीको प्रतापपुरका नरबहादुर चौधरी चिन्तामा छन् । उनी आकाशे पानीको भरमा धान रोप्दै आएका छन् । यस वर्ष प्रशस्त पानी नपरेपछि खेत बाँझो रहेको उनले बताए । शनिबार राति पानी परे पनि पर्याप्त भएन । ‘गत वर्ष असार १५ मा हामीले रोपाइँ सकिसकेका हुन्थ्यौं,’ उनले भने, ‘यस वर्ष समयमा धानको बीउ राख्न पाइनँ, रोपाइँ कसरी गर्नु !’ सिंचाइको प्रबन्ध नहुँदा समस्यामा परेको उनले बताए ।


आकासे पानीको भर पर्ने धेरैजसो किसान मर्कामा परेका छन् । भूमिगत जल सिंचाइ परियोजनामार्फत केही स्थानमा बोरिङ जडान गरिएको छ । तर, त्यो पर्याप्त छैन । धान उत्पादनमा अग्रणी जिल्लामा अहिलेसम्म मुस्किलले १५ प्रतिशत रोपाइँ भएको छ ।


ग्रामीण भेगमा कृषि कार्यका लागि पर्याप्त जनशक्ति नहुनु, कृषि पेसा छाडेर बजारमा गएर परिवारका सदस्य बस्नाले पहिलेभन्दा रोपाइँ गर्ने खेतको प्रतिशत बर्सेनि घट्दो छ । तराई भेगमा आधुनिक कृषि औजार आएको भए पनि प्लटिङका कारण खेतीयोग्य जमीनसमेत बाँझै राख्ने गरेको पाइन्छ । खेती गरेपछि घडेरीका रूपमा जग्गा नबिक्ने डर र मूल्यसमेत घटने भएपछि बाँझै राखेर ग्राहक कुर्ने गर्छन् ।


रोल्पामा 'विकल्प’

मुलुकभर धान दिवस मनाइरहँदा रोल्पाका स्थानीय तह त्यसको विकल्प खोज्न थालेका छन् । यहाँका स्थानीय तहले दिवस मनाएनन् । निकै कम मात्रामा धान उत्पादन हुने भएकाले विकल्प खोज्न थालेको जनप्रतिनिधिको भनाइ छ । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले उत्पादन थोरै भएकाले विकल्प खोज्नु सही हुने बताए ।


‘धान खेती कम हुन्छ,’ उनले भने, ‘त्यसैले विकल्प खोज्नुपर्ने ठानेका छौं ।’ जनप्रतिनिधिले विकल्पमा मकै, आलु वा जौ दिवस मनाउन सकिने तर्क गरेका छन् । जिल्लाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिकाभित्रका केही गाउँमा बाहेक अन्यत्र धान खेती हुँदैन । जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी क्षेत्रमा मकै, आलु, कोदो र जौको खेती हुन्छ । त्यहाँका स्थानीले वर्षभरि आलु, जौ र मकैका परिकार खान्छन् ।



पानी नपर्दा ढिलो

नवलपुर (कास)– पूर्वी नवलपरासीमा यस वर्ष रोपाइँ ढिलो सुरु भएको छ । सिंचाइ सुविधा भएका किसानले रोपाइँ गरे पनि आकासे पानीको भर परेकाहरू चिन्तामा छन् । भूमिगत जल सिंचाइ परियोजनामार्फत केही स्थानमा बोरिङ सिंचाइ गरे पनि अधिकांश स्थानमा सिंचाइ सुविधा छैन ।


देवचुली नगरपालिका २ का विवेक भण्डारीले गत वर्ष असार पहिलो साताभित्र रोपाइँ सकिसकेको सुनाउँदै यसपालि खेत बाँझै रहेको बताए । ‘सिंचाइ सुविधा छैन । आकासे पानीको भर पर्दा रोपाइँ गर्न पाइएको छैन,’ उनले भने, ‘पानी नपर्दा बीउ पनि सिंचाइ सुविधा भएको छिमेकीको खेतमा राख्नुपर्‍यो ।’


समयमा धान रोप्न नपाउँदा उत्पादन कम हुने किसानहरू बताउँछन् । गैंडाकोट नगरपालिका कृषि शाखा अधिकृत मीरा चौधरीका अनुसार नगरभित्र २५ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपिएको छ । नगरपालिकाको दक्षिणी भेगमा बढी धान खेती हुने गरेको छ । भूमिगत सिंचाइ भएका किसानले मात्र रोपाइँ गरेका छन् ।


जिल्लाका अन्य स्थानीय तहसँग भने यसबारे आधिकारिक तथ्यांक छैन । पूर्वी नवलपरासीमा असार दोस्रो साता बित्दा मुस्किलले १५ प्रतिशत रोपाइँ भएको अनुमान छ । मल, बीउ र सिंचाइ अभावमा धान खेती हुने क्षेत्रफल बर्सेनि घट्दो छ ।


(बर्दियाबाट कमल पन्थी, बाँकेबाट रूपा गहतराज, दाङबाट दुर्गालाल केसी, रूपन्देहीबाट सन्जु पौडेल, परासीबाट नवीन पौडेल र रोल्पाबाट काशीराम डाँगी)

प्रकाशित : असार १६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?