चन्दसँग वार्ताबाट समाधान खोजौं: भट्टराई

हरिराम उप्रेती

गोरखा — समाजवादी पार्टी राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन नभइ वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।  

सोमबार गृहजिल्ला गोरखामा भएको पत्रकार सम्मेलनमा उनले चन्द नेतृत्वको नेकपालाई राजनितिक ढंगले ब्यवहार गर्नुपर्ने बताए। ‘राजनितिक संघर्षको रुपमा बुझेर राजनीतिक ढंगले सामाधान गर्नुपर्छ,’ उनले भने, ‘राज्यशक्तिले बल प्रयोग गरेर हल हुँदैन, प्रधानमन्त्री र मुख्य पार्टीका नेता विद्रोहबाट आउनुभएको हो दमन होइन वार्ताबाट हल गर्नुपर्छ भनेर उहाँहरुले पनि बुझ्नुपर्ने हो।’

दुई तिहाइको सुविधा प्राप्त सरकारले अवसरको सदुपयोग गर्न नसकेको भट्टराइको भनाइ छ। ‘विकास निर्माणको लहर ल्याउने जुन अवसर थियो, डेड वर्षको परिणाम हेर्दा उत्साहजनक छैन, अहिलेको सरकारले जनताको अभिमतको ठीक ढंगले सदुपयोग गर्नै सकेन’ उनले भने, ‘सत्तापक्षकै नेता कार्यकर्ता पनि सन्तुष्ट नभएको पाएका छौँ।’

पुरानो केन्द्रिकृत ढाँचाबाट अघि बढ्दा सरकारले गति लिन नसकेको उनको आरोप छ। ‘नेकपा डबलको सरकारलाई सुविधा प्राप्त छ,’ उनले भने, ‘केन्द्रिकृत मानसिकता बाधक बनेको छ।’ संघीयता कार्यन्वयनमा भन्दा पनि केन्द्रमा बढी अधिकार राख्दा समस्या थपिएको उनले बताए। ‘७० प्रतिशत केन्द्रमा राखेर ३० प्रतिशत मात्र तल्लो तहमा बाँडिएको छ, यसले परिणाम दिन सक्दैन,’ उनले भने।

गणतन्त्र, धर्मनिरपेक्षता साविकको एमाले र कांग्रेसको एजेण्डा नभएको उनले बताए। ‘संयोगले नेतृत्व उहाँकै हातमा छ, यसले गतिरोध आएको देख्छु,’ उनले भने, ‘दुर्भाग्य माओवादीको एउटा तप्का पनि त्यहाँ मिसिन पुगेको छ।’

प्रकाशित : असार १६, २०७६ ११:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुर्ख्यौली खेतमा बाबुराम हिलाम्मे

हरिराम उप्रेती

गोरखा — समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असार १५ मा आफ्नै पुर्ख्यौली थलोमा रहेको खेतको रोपाइँमा सहभागी भएका छन् । 

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योति चौतारामा रहेको पुर्ख्यौली खेतमा बाबुराम अन्य किसानसँगै झन्डै डेढ घण्टा काम गरे। ‘बिउ रोप्नुभयो, दाँते चढ्नु भयो, कोदाली लिएर आफैं बाउसे गर्नुभयो,’ स्थानीय सन्तोष पोखरेलले भने, ‘उहाँ आफैं काम गर्न तम्सिएपछि अरू किसान पनि हौसिए।’

भट्टराई हिलोमा पसेर काम थालेपछि स्थानीयले पनि उनीसँगै रमाए। ‘१०–१२ हल गोरु लिएर किसान स्वतःस्फूर्त रूपमा काममा आए,’ उनले भने, ‘पाँच हल गोरु लाग्ने खेतमा १०/१२ हल आएपछि रोपाइँ पनि चाडै सकियो।’

आफू रोपाइँमा सहभागी भएको तस्बिर भट्टराईले फेसबुकमा पनि राखेका छन्। उक्त स्थानमा भट्टराईकी छोरी मानुषीको नाममा झन्डै पाँच रोपनी जग्गा छ। पुर्ख्यौली थलोको खेतमा झन्डै ४० वर्षपछि रोपाइँमा सहभागी बनेको भट्टराईले कान्तिपुरलाई बताए।

उनले विदेशबाट धान आयात बढेको भन्दै चिन्ता जनाए। ‘आधुनिक प्रविधिको प्रयोग र उन्नत बिउ लगाएर उब्जनी बढाउनुपर्छ,’ भट्टराईले भने।
गत वर्षको असार १५ मा जरेबरमा भएको रोपाइँमा भट्टराई सहभागी बनेको थिए। ‘यो वर्ष वडा नम्बर १ ले पनि आयोजना गरेको रहेछ, संयोगले पुर्ख्यौली खेतको रोपाइँमा सहभागी हुन पाएँ,’ उनले भने।

प्रकाशित : असार १५, २०७६ १६:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT