कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरीको घरबार जोगाउन खोज्दा ज्यान गयो 

जनकराज सापकोटा

काठमाडौँ — ईश्वरी भट्टराईले सात वर्षअघि अन्तरजातीय विवाह गरिन् । आमा सावित्रीलाई आफूसँगै भक्तपुर चाँगुनारायणको बाँसबारीस्थित घर ल्याइन् । आमा त्यतिखेर घरमा सौता भित्रिएकाले अलग्गै बस्दै आएकी थिइन् । ईश्वरीले घर पनि बनाइन् । छोरा पनि भए । छोरालाई हजुरआमाको साथ राखेर उनी काममा बाहिर जान पाउने भइन् ।

छोरीको घरबार जोगाउन खोज्दा ज्यान गयो 

यही आइतबार बिहान ११ बजे भने चिताउँदै नचिताएको घटना भयो । ६० वर्षीया सावित्रीको घाँटी रेटेर कसैले हत्या गरेर भागेको देख्ने कोही भएन । किनभने उनले चार वर्षीय नातिलाई स्कुल पुर्‍याएर आएकी थिइन् । घरमा भएकी छोरी ईश्वरी पनि बाहिर हिँडिसकेकी थिइन् ।


घटनाको १० घण्टा बित्न नपाउँदै प्रहरीले तिनै छोरीलाई पक्राउ गर्‍यो जतिखेर छोरी रुवाबासीमा सामेल थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले ईश्वरीसहित दुई भारतीय र एक नेपालीलाई विभिन्न ठाउँमा पक्राउ गर्‍यो । उनीहरूले जे बयान दिए त्यसले सामान्यतया कल्पना गर्न नसकिने अपराध कथाको छनक दियो ।


८ कक्षामात्र पढेकी ईश्वरी बिहेपछि सिलाइकटाइ र गार्मेन्टमा काम गर्थिन् । म्युजिक भिडियो र फिल्म निर्माण क्षेत्रमा काम गर्ने उनका श्रीमान् सिनामंगल क्षेत्रमा होटल चलाउँथे । एक वर्षअघि भक्तपुरको कमल विनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा सिरहा विष्णुपुर घर भई भक्तपुरको पुरानो थिमि बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग ईश्वरीको चिनजान भयो ।


चिनजान समयान्तरमा विवाहेतर सम्बन्धमा बदलियो । श्रीमान् घर नभएको मौका छोपेर नौसाद ईश्वरीलाई भेट्न घरमै आउँथे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नौसादको बारम्बार आउजाउका कारण आमालाई छोरीको घरबार बिग्रने चिन्ता थियो ।


सावित्रीले नौसादलाई आफ्नी छोरीको पछि लागेर घरबार नबिगार्न सल्लाह दिँदै हकार्थिन् । आमाको अवरोधका बीच पनि उनीहरूको सम्बन्ध रोकिएन । प्रहरीका अनुसार ईश्वरीका पति पनि त्यो सम्बन्धबारे धेरथोर जानकार थिए । पछिल्लो समय पतिपत्नीबीच सम्बन्ध राम्रो थिएन, पति घर धेरै आउँदैनथे ।


छोरीको घरबार बिग्रने चिन्ताकै बीच सावित्रीले नौसादलाई एक लाख रुपैयाँ सापटी दिएर जेठ ३ गते रोजगारीका लागि दुबई पठाइन् । ईश्वरी र नौसादबीच फेसबुक र ह्वाट्सएपमार्फत निरन्तर कुराकानी भइरह्यो । नौसादले भनेजस्तो काम पाएका थिएनन्, गतिलो आम्दानी पनि हुने देखेनन् । उनले ईश्वरीसँग मिलेर आफ्नो प्रेममा तगारो भएकी आमालाई पन्छाउने योजना बनाए । काम छाडेर उनी नेपाल आउने तर एक साता कुनै भेटघाट र कुराकानी नगर्ने उनीहरूको सल्लाह थियो ।


अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार नौसाद काम छाडेर एक साताअघि नेपाल आए । उनले ढुंगे अड्डातिर गार्मेन्टमा काम गर्ने पुरानो साथी अर्जुन भनिने भोला कुमारलाई योजना सुनाए । केही दिनअघि भोला र नौसाद ईश्वरीको घर ‘रेकी’ गर्न गएका थिए । भारतीय नागरिक भोलाले एक्लैले काम गर्न नसक्ने बताएपछि १२ गते नौसाद र अर्जुन भारत गए ।


प्रहरी बयानमा नौसादले भारत गएर मधुवनी जिल्ला रजौरी थाना बस्ने अर्जुनका फुपूका छोरा २४ वर्षीय मोहम्मद रहिसलाई भेटेको बताएका छन् । सीमावर्ती सर्लाहीको इटर्हवा क्षेत्रबाट मदिरा किन्ने र अवैध रूपमा सीमा कटाएर बेचेर गुजारा चलाउँदै आएका रहिस योजनाअनुसार काम गर्न तयार भए । नौसाद, अर्जुन र रहिस १४ गते राति काठमाडौं आएर कोटेश्वरको एक गेस्ट हाउसमा बसे ।


आइतबार बिहान ९ बजेतिर नौसाद ईश्वरीको घर गए र आमा सावित्रीलाई भेटे । योजनाअनुसार ईश्वरी आफन्तलाई भेट्ने भन्दै घरबाट निस्किएकी थिइन् । घरमा सावित्री र नाति मात्रै थिए । भेटमा सावित्रीसँग नौसादको भनाभन भयो । सावित्रीले कुच्चोले हिर्काउँदै नौसादलाई छोरीको घरबार नबिगार भन्दै गाली गरिन् । त्यसपछि सापटी दिएको एक लाखको विषय पनि निस्कियो ।


नौसाद एक लाख लिएर आउँछु भन्दै घरबाट निस्के । झन्डै ११ बजेतिर नौसाद दुई साथी लिएर फेरि ईश्वरीको घर गए । त्यतिबेला सावित्री नातिलाई स्कुल पुर्‍याएर आइसकेकी थिइन् । घरमा एक्लै भएकी सावित्रीलाई नौसाद र अर्जुनले पाखुरामा समाते । त्यही बेला रहिसले भारतमै सात सय भारुमा किनेर ल्याएको धारिलो रामपुरी चक्कु गोजीबाट निकाले र घाँटीमा प्रहार गरे ।


एकैछिनमा तीनै जना मोटरसाइकल चढेर बाहिरिए । एसएसपी थापाले भने, ‘नौसादले अर्जुनसँग सल्लाह गरेर त्यसका लागि १२ लाख खर्च लाग्ने बताएको देखिन्छ ।’ अर्जुन एक्लैले योजनाअनुसार काम गर्न गाह्रो हुने बताएपछि उनीहरू भारत पुगेर दुई लाख दिने सर्तमा रहिसलाई ल्याएका थिए । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार हत्याको योजना पूरा गर्न नौसाद एक्लैले झन्डै ४५ हजार खर्च गरेको देखिन्छ ।


महाशाखाले आइतबार साँझ ७ बजे धादिङको गजुरीबाट नौसादलाई पक्राउ गरेपछि मात्रै घटनामा छोरी ईश्वरीको पनि संलग्नता पुष्टि भएको थियो । हत्यालगत्तै भारतीय नागरिक अर्जुन र रहिस मकवानपुर पुगेर बसेका थिए । योजनाअनुसारको रकम नपाएपछि उनीहरू पैसा कुरेर बसेका थिए । नौसादकै बयानका आधारमा प्रहरीले अन्य दुईलाई पनि पक्राउ गर्‍यो ।


प्रहरीका अनुसार ८ कक्षा मात्रै पढेका र चार दाजुभाइमध्येका माइला नौसाद वर्षौं पहिलेदेखि राजधानीमा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दै आएका थिए । घटनाको बिहान नौसाद घरमा आएको सूचना ईश्वरीको छोराले नै दिएपछि प्रहरीले शंकाको सुई सोझ्याएको थियो । विवाहेत्तर सम्बन्धले ल्याएको यो घटनाका पछि पैसा कमाउने योजना पनि लुकेको अनुमान प्रहरीको छ ।


प्रहरीका अनुसार भारतमा रहेकी ईश्वरीकी जेठी दिदीले जग्गा किन्न भन्दै केही समयअघि २२ लाख रुपैयाँ आमालाई दिएको र त्यही पैसा फुत्काउन पनि हत्याकै योजना बनाएको हुन सक्छ । सावित्रीको कम्मरमा दराजभित्रको लकरको साँचो भेटिएको थियो र दराजमा रकम जस्ताको जस्तै भेटिएको छ ।


एक स्थानीयका अनुसार बच्चालाई स्कुल पुर्‍याएर फर्केपछि सावित्रीको घरभित्रबाट आएको हल्ला छिमेकीसम्मै सुनिएको थियो । एक छिमेकीले सावित्रीलाई के भएको हो भनेर सोधेकी थिइन् । सावित्रीले आन्तरिक कुरा भनेपछि छिमेकी चुप लागिन् ।


तीन जना केटा घरबाट बाहिर निस्किई मोटरसाइकल चढेर गएपछि सावित्रीको घर सुनसान भएको थियो । धेरैबेरसम्म घरमा चालचुल नदेखिएपछि एक छिमेकी सावित्रीलाई बोलाउन घरभित्रै छिरे । त्यतिबेला घरको मूल ढोका र भित्री कोठाको ढोका पनि खुल्लै थिए ।


उनले कम्बल ओढेर सुतेकी सावित्रीलाई देखेपछि बोलाए । सावित्री नबोलेपछि कम्बल हटाए । त्यसपछि मात्रै छिमेकीले रगतको आहालमा सुतेकी सावित्रीलाई देखे । एक छिमेकीका अनुसार घटनाको दिउँसो ईश्वरी घरमा आएकी थिइन् । चारमध्ये अरू दुई छोरी पनि जम्मा भएका थिए । घटनापछि ईश्वरी नै सबभन्दा धेरै भावविहवल भएर रोएकी थिइन् । ईश्वरीका पतिले भने नौसादले नै घटना गराएको हुन सक्ने भनेर अरूलाई सुनाएका थिए ।

प्रकाशित : असार १७, २०७६ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?