सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

दुर्गा खनाल

काठमाडौँ — सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरे ।

नेतृत्व एकलौटी ढंगले चल्न खोजेको र पार्टीभित्र अन्तर्क्रिया नगरी मनलाग्दी काम गर्दै हिँडेको सांसदहरूको भनाइ थियो ।आफ्ना कुरा राख्न नपाएकोभन्दै असन्तुष्टि प्रकट गरेपछि अध्यक्षद्वयले सोमबार उनीहरूलाई बोल्न दिने गरी संसदीय दलको बैठक बोलाएका थिए ।

पार्टी एकतापछि पहिलोपटक सांसदको राय बुझ्ने गरी डाकिएको बैठकमा अधिकांशले सरकारका कामप्रति असन्तुष्टि र पार्टीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे । सरकार र पार्टीको कार्यशैलीका कारण जनविश्वास घट्दै गएको उनीहरूको निष्कर्ष थियो । सुशासन दिने प्रतिबद्धता भए पनि त्यसअनुसारको अनुभूति जनताले गर्न नसकेको उनीहरूले बताए । बजेट छुट्याउने विषयमा मन्त्रीले एकलौटी गरेको भन्दै उनीहरूले आरोप लगाए ।

स्थायी समिति सदस्य घनश्याम भुसालले सरकार र पार्टी सैद्धान्तिक रूपमै अलमलमा हिँडिरहेको बताए । उनले कुन दिशामा कसरी जाने भन्ने छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरे । बैठकमा एजेन्डा तय गरेर छलफल गर्ने र त्यसको आधारमा निष्कर्षमा पुग्ने काम नभएको उनले बताए ।

स्थायी समितिका अर्का सदस्य भीम रावलले सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको भन्दै आलोचना गरे । उनले भारतीय फिल्म अवार्ड ‘आइफा’ का लागि सरकारले स्वीकृति दिएको विषयको पनि आलोचना गरे ।

स्थायी समिति सदस्य जनार्दन शर्माले आफूलाई लागेको कुरा स्पष्ट रूपमा पार्टीमा भन्न पाउनुपर्ने भन्दै छलफलै नभएकोमा आपत्ति जनाए । ‘नबोले बोलेन भन्छन्, बोलेपछि केही कुरा भन्नैपर्ने हुन्छ किनकि सबै कुरा समर्थन वा चुप लागेर सुन्ने खालका मात्र छैनन् ।’ अर्का नेता देवेन्द्र पौडेलले सरकार लक्ष्यअनुसारको बाटोमा हिँड्न नसकेको बताए ।

सांसद रामकुमारी झाँक्रीले पार्टीलाई मिलाएर हिँड्न नसकेको, बालुवाटारको सीमित घेराभित्रबाट मात्र चल्न खोजेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिन् । उनले पार्टी र संसदीय दल कामविहीन भएको बताइन् । पार्टीलाई एउटै लयमा नहिँडाउँदा समस्या भएको भन्दै उनले सरकारको औपचारिक काम सिंहदरबारको फराकिलो दायराबाट सञ्चालन गर्न प्रधानमन्त्रीकोध्यानाकर्षण गराइन् ।

खगराज अधिकारी, पदम गिरी, अन्जना विशंखेलगायतले सांसदलाई पहिले योजना माग्ने, पछि बजेटमा बेवास्ता गर्ने खालको गतिविधि भएको भन्दै आपत्ति जनाए । करिब ३० सांसदले बोलेपछि अध्यक्ष पुष्पकमल दाहाल र अन्तिममा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए । उनीहरूले सरकार र पार्टीका काममा कमजोरी भएको स्विकारे पनि सांसदहरूलाई राम्रा कामको डिफेन्स गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राम्रा काम गर्न खोज्दा खोज्दै पनि सरकारलाई अप्ठेरो र असफल पार्न खोज्ने तत्त्वहरू सक्रिय भइरहेकाले त्यसैको लहैलहैमा नलाग्न सांसदलाई आग्रह गरे । विधेयकहरू नपढी विपक्षीले विरोध गर्ने गरेकाले उनको भनाइ थियो ।

गुठी विधेयक, गोविन्द केसीको आन्दोलनलगायतसँग जोडेर बेला–बेला सरकारलाई असफल पार्न खोज्नेहरू सक्रिय हुने गरेको ओलीको धारणा थियो । ‘सबै सम्हालिएर हिँड्नुपर्छ, सम्हालिएनौं भने सिद्धिन्छौं,’ बैठकमा प्रधानमन्त्रीले ओलीले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामीसँग केही छ भने बाँड्न सक्छौं,केही नै नरहे के बाँड्ने ?’

उनले कतिपय काम राम्रो उद्देश्यले गरे पनि स्पष्ट पार्न नसक्दा समस्या आएको स्विकारे । ‘विधेयकहरूका विवादमा सम्बन्धित मन्त्रीले सरोकारवाला सांसदसँग सुरुमै अनौपचारिक छलफल गर्ने विषयमा कमजोरी रह्यो,’ प्रधानमन्त्रीको भनाइ थियो ।

उनले भारतीय फिल्म अवार्ड गर्न आयोजना दिने निर्णय पनि सैद्धान्तिक रूपमा मात्र भएको जानकारी दिए । अर्का अध्यक्ष दाहालले विविधताका बीच पार्टी एकता गरेकाले त्यसलाई सही निष्कर्षमा पुर्‍याएरै छाड्ने बताए । ‘मैले बोलेका कुराबाट कुनै आशंका पैदा भएको छ भने म जिम्मा लिन्छु तर हामी एकताको कामलाई टुंगोमा पुर्‍याउँछौं, एउटै डुंगामा बसेर झगडा गर्दा हामी डुब्छौं भन्ने थाहा छ ।’

पार्टी एकताका लागि एउटाले बनाएको डकुमेन्ट अर्कोले नहेरी हस्ताक्षर गर्नेसम्मको विश्वास रहेको प्रसंग उल्लेख गर्दै दाहालले अहिले नेताहरूको भनाइमा केही फरक पर्न खोज्दा गडबडी होला कि भन्ने आशंका बढ्ने गरेको उल्लेख गरे । उनले पार्टीमा सबैलाई यथोचित काम बाँडफाँट गरिने आश्वासनसमेत दिए ।

सबै सांसदले बोल्ने क्रम नसकिएपछि बाँकी सांसदलाई आउँदो शनिबार बोल्ने समय तोकिएको छ ।

प्रकाशित : असार १७, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरीको घरबार जोगाउन खोज्दा ज्यान गयो 

जनकराज सापकोटा

काठमाडौँ — ईश्वरी भट्टराईले सात वर्षअघि अन्तरजातीय विवाह गरिन् । आमा सावित्रीलाई आफूसँगै भक्तपुर चाँगुनारायणको बाँसबारीस्थित घर ल्याइन् । आमा त्यतिखेर घरमा सौता भित्रिएकाले अलग्गै बस्दै आएकी थिइन् । ईश्वरीले घर पनि बनाइन् । छोरा पनि भए । छोरालाई हजुरआमाको साथ राखेर उनी काममा बाहिर जान पाउने भइन् ।

यही आइतबार बिहान ११ बजे भने चिताउँदै नचिताएको घटना भयो । ६० वर्षीया सावित्रीको घाँटी रेटेर कसैले हत्या गरेर भागेको देख्ने कोही भएन । किनभने उनले चार वर्षीय नातिलाई स्कुल पुर्‍याएर आएकी थिइन् । घरमा भएकी छोरी ईश्वरी पनि बाहिर हिँडिसकेकी थिइन् ।

घटनाको १० घण्टा बित्न नपाउँदै प्रहरीले तिनै छोरीलाई पक्राउ गर्‍यो जतिखेर छोरी रुवाबासीमा सामेल थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेषटोलीले ईश्वरीसहित दुई भारतीय र एक नेपालीलाई विभिन्न ठाउँमा पक्राउ गर्‍यो । उनीहरूले जे बयान दिए त्यसले सामान्यतया कल्पना गर्न नसकिने अपराध कथाको छनक दियो ।

८ कक्षामात्र पढेकी ईश्वरी बिहेपछि सिलाइकटाइ र गार्मेन्टमा काम गर्थिन् । म्युजिक भिडियो र फिल्म निर्माण क्षेत्रमा काम गर्ने उनका श्रीमान् सिनामंगल क्षेत्रमा होटल चलाउँथे । एक वर्षअघि भक्तपुरको कमल विनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा सिरहा विष्णुपुर घर भई भक्तपुरको पुरानो थिमि बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग ईश्वरीको चिनजान भयो ।

चिनजान समयान्तरमा विवाहेतर सम्बन्धमा बदलियो । श्रीमान् घर नभएको मौका छोपेर नौसाद ईश्वरीलाई भेट्न घरमै आउँथे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नौसादको बारम्बार आउजाउका कारण आमालाई छोरीको घरबार बिग्रने चिन्ता थियो ।

सावित्रीले नौसादलाई आफ्नी छोरीको पछि लागेर घरबार नबिगार्न सल्लाह दिँदै हकार्थिन् । आमाको अवरोधका बीच पनि उनीहरूको सम्बन्ध रोकिएन । प्रहरीका अनुसार ईश्वरीका पति पनि त्यो सम्बन्धबारे धेरथोर जानकार थिए । पछिल्लो समय पतिपत्नीबीच सम्बन्धराम्रो थिएन, पति घर धेरै आउँदैनथे ।

छोरीको घरबार बिग्रने चिन्ताकै बीच सावित्रीले नौसादलाई एक लाख रुपैयाँ सापटी दिएर जेठ ३ गते रोजगारीका लागि दुबई पठाइन् । ईश्वरी र नौसादबीच फेसबुक रह्वाट्सएपमार्फत निरन्तर कुराकानी भइरह्यो । नौसादले भनेजस्तो काम पाएका थिएनन्, गतिलो आम्दानी पनि हुने देखेनन् । उनले ईश्वरीसँग मिलेर आफ्नो प्रेममा तगारो भएकी आमालाई पन्छाउने योजना बनाए । काम छाडेर उनी नेपालआउने तर एक साता कुनै भेटघाट र कुराकानी नगर्ने उनीहरूको सल्लाह थियो ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार नौसाद काम छाडेर एक साताअघि नेपाल आए । उनले ढुंगे अड्डातिर गार्मेन्टमा काम गर्ने पुरानो साथी अर्जुन भनिने भोला कुमारलाई योजना सुनाए । केही दिनअघि भोला र नौसाद ईश्वरीको घर ‘रेकी’ गर्न गएका थिए । भारतीय नागरिक भोलाले एक्लैले काम गर्न नसक्नेबताएपछि १२ गते नौसाद र अर्जुन भारत गए ।

प्रहरी बयानमा नौसादले भारत गएर मधुवनी जिल्ला रजौरी थाना बस्ने अर्जुनका फुपूका छोरा २४ वर्षीय मोहम्मद रहिसलाई भेटेको बताएका छन् । सीमावर्ती सर्लाहीको इटर्हवा क्षेत्रबाट मदिरा किन्ने र अवैध रूपमा सीमा कटाएर बेचेर गुजारा चलाउँदै आएका रहिस योजनाअनुसार काम गर्न तयार भए । नौसाद, अर्जुन र रहिस १४ गते राति काठमाडौं आएर कोटेश्वरको एक गेस्ट हाउसमा बसे ।

आइतबार बिहान ९ बजेतिर नौसाद ईश्वरीको घर गए र आमा सावित्रीलाई भेटे । योजनाअनुसार ईश्वरी आफन्तलाई भेट्ने भन्दै घरबाट निस्किएकी थिइन् । घरमा सावित्री र नाति मात्रै थिए । भेटमा सावित्रीसँग नौसादको भनाभन भयो । सावित्रीले कुच्चोले हिर्काउँदै नौसादलाई छोरीको घरबार नबिगार भन्दै गाली गरिन् । त्यसपछि सापटी दिएको एक लाखको विषय पनि निस्कियो ।

नौसाद एक लाख लिएर आउँछु भन्दै घरबाट निस्के ।झन्डै ११ बजेतिर नौसाद दुई साथी लिएर फेरि ईश्वरीको घर गए । त्यतिबेला सावित्री नातिलाई स्कुल पुर्‍याएर आइसकेकी थिइन् । घरमा एक्लै भएकी सावित्रीलाई नौसाद र अर्जुनले पाखुरामा समाते । त्यही बेला रहिसले भारतमै सात सय भारुमा किनेर ल्याएको धारिलो रामपुरी चक्कु गोजीबाट निकाले र घाँटीमा प्रहार गरे ।

एकैछिनमा तीनै जना मोटरसाइकल चढेर बाहिरिए । एसएसपी थापाले भने, ‘नौसादले अर्जुनसँग सल्लाह गरेर त्यसका लागि १२ लाख खर्च लाग्ने बताएको देखिन्छ ।’ अर्जुन एक्लैले योजनाअनुसार काम गर्न गाह्रो हुने बताएपछि उनीहरू भारत पुगेर दुई लाख दिने सर्तमा रहिसलाई ल्याएका थिए । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार हत्याको योजना पूरा गर्न नौसाद एक्लैले झन्डै ४५ हजार खर्च गरेको देखिन्छ ।

महाशाखाले आइतबार साँझ ७ बजे धादिङको गजुरीबाट नौसादलाई पक्राउ गरेपछि मात्रै घटनामा छोरी ईश्वरीको पनि संलग्नता पुष्टि भएको थियो । हत्यालगत्तै भारतीय नागरिक अर्जुन र रहिस मकवानपुर पुगेर बसेका थिए । योजनाअनुसारको रकम नपाएपछि उनीहरू पैसा कुरेर बसेका थिए । नौसादकै बयानका आधारमा प्रहरीले अन्य दुईलाई पनि पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार ८ कक्षा मात्रै पढेका र चार दाजुभाइमध्येका माइला नौसाद वर्षौं पहिलेदेखि राजधानीमा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दै आएका थिए । घटनाको बिहान नौसाद घरमा आएको सूचना ईश्वरीको छोराले नै दिएपछि प्रहरीले शंकाको सुई सोझ्याएको थियो । विवाहेत्तर सम्बन्धले ल्याएको यो घटनाका पछि पैसा कमाउने योजना पनि लुकेको अनुमान प्रहरीको छ ।

प्रहरीका अनुसार भारतमा रहेकी ईश्वरीकी जेठी दिदीले जग्गा किन्न भन्दै केही समयअघि २२ लाख रुपैयाँ आमालाई दिएको र त्यही पैसा फुत्काउन पनि हत्याकै योजना बनाएको हुन सक्छ । सावित्रीको कम्मरमा दराजभित्रको लकरको साँचो भेटिएको थियो र दराजमा रकम जस्ताको जस्तै भेटिएको छ ।

एक स्थानीयका अनुसार बच्चालाई स्कुल पुर्‍याएर फर्केपछि सावित्रीको घरभित्रबाट आएको हल्ला छिमेकीसम्मै सुनिएको थियो । एक छिमेकीले सावित्रीलाई के भएको हो भनेर सोधेकी थिइन् ।सावित्रीले आन्तरिक कुरा भनेपछि छिमेकी चुप लागिन् ।

तीन जना केटा घरबाट बाहिर निस्किई मोटरसाइकल चढेर गएपछि सावित्रीको घर सुनसान भएको थियो । धेरैबेरसम्म घरमा चालचुल नदेखिएपछि एक छिमेकी सावित्रीलाई बोलाउन घरभित्रै छिरे । त्यतिबेला घरको मूल ढोका र भित्री कोठाको ढोका पनि खुल्लै थिए ।

उनले कम्बल ओढेर सुतेकी सावित्रीलाई देखेपछि बोलाए । सावित्री नबोलेपछि कम्बल हटाए । त्यसपछि मात्रै छिमेकीले रगतको आहालमा सुतेकी सावित्रीलाई देखे । एक छिमेकीका अनुसार घटनाको दिउँसो ईश्वरी घरमा आएकी थिइन् । चारमध्ये अरू दुई छोरी पनि जम्मा भएका थिए । घटनापछि ईश्वरी नै सबभन्दा धेरै भावविहवल भएर रोएकी थिइन् । ईश्वरीका पतिले भने नौसादले नै घटना गराएको हुन सक्ने भनेर अरूलाई सुनाएका थिए ।

प्रकाशित : असार १७, २०७६ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT