१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

निगमप्रति प्रधानमन्त्रीको आक्रोश–'ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन’

‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रुखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने ? वायुसेवा भनेको दान, पुण्य र समाज सेवाको क्षेत्र होइन । व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ ।’
सुरज कुँवर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ बताएका छन् । निगमको ६१ औं वार्षिकोत्सव अवसरमा सोमबार राजधानीमा आयोजित समारोहमा पर्यटन मन्त्रालयको समेत जिम्मेबारी लिइरहेका प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोस व्यक्त गरे । 

निगमप्रति प्रधानमन्त्रीको आक्रोश–'ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन’

जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै ओलीले भने, ‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रूखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने ? वायुसेवा भनेको दान, पुण्य र समाज सेवाको क्षेत्र होइन । व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ ।’


निगम पर्यटनमार्फत देशकै अर्थतन्त्रमा योगदान पुर्‍याउने संस्था भएको सम्झाउँदै ओलीले भने, ‘सरकार काँध थाप्छ, तर आँखा चिम्लेर थाप्दैन । यसको व्यवस्थापन र सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । निगमको अहिलेको नेतृत्वले कुशल व्यवस्थापन गर्न नसकेकै हो भने सरकारले कुनै पनि बेला कुनै पनि प्रकारको हस्तक्षेप गर्न सक्नेछ । वाइडबडी नभई हुँदैन भनियो । तर अहिले छोटो दूरीमा उडाइएको छ । उचित अकुपेन्सी, उचित गन्तव्य किन नलिइएको ?’


निगम सुधार्न भन्दै ओलीकै पहलमा पर्यटन सचिव अध्यक्ष रहने सञ्चालक समितिको नेतृत्वमा मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । जिम्मेवारीअनुसार उपलब्धि नभएपछि प्रधानमन्त्रीले समारोहमै ठोस कार्ययोजना मागे, ‘व्यवस्थापनसँग बसेर कुरा गर्छु, निगमलाई घाटाबाट नाफामा ल्याउनुपर्‍यो । तर, अहिलेको यथास्थितिले हुँदैन ।’


अन्य विमान कम्पनीहरूले नेपालबाट लाभ उठाइरहेको विषयलाई निगमको व्यवस्थापकीय नेतृत्वसँग जोडदै प्रधानमन्त्रीले भने, ‘हाम्रो एयरपोर्टबाट अरूले नाफा लिन्छ, हामीले सक्दैनौं । हाम्रा गन्तव्यमा अरूले कमाउँछन्, हामीले किन सक्दैनौं ?’


नेपालमा २८ वटा विदेशी वायुसेवा कम्पनीले उडानमा वार्षिक १ खर्ब रुपैयाँ हाराहारी कारोबार गर्दै आएका छन् । यसमा निगमको हिस्सा करिब ११ प्रतिशत मात्र रहेको कार्यकारी अध्यक्ष खरेलले जनाए ।


निगमले ६ मुलुकका ८ गन्तव्यमा ४ एयरबसका जेट विमानबाट उडान भर्दै आएको छ । दुइटा न्यारोबडी तथा दुइटा वाइडबडी विमान खरिद गर्न निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ३२ अर्ब ऋण लिएको छ । यी जहाजको वार्षिक ४ अर्ब ५२ करोड किस्ता तिर्नुपर्छ । पुसयता निगमले यी दुवै निकायलाई २ अर्ब ९६ करोड किस्ताबापत बुझाउनुपर्ने रकम तिरेको छैन । किस्ता तिर्न निगमले सरकारसँग २० अर्ब रुपैयाँ मागेको छ ।


वाइडबडी विमान आएको एक वर्ष हुन लागे पनि नयाँ गन्तव्य थप्न नसकेकामा प्रधानमन्त्रीले आक्रोश व्यक्त गरे । निगमले असार १९ देखि जापानको ओशाका उडाउने घोषणा गरेको थियो । तर बुकिङ अत्यधिक न्यून भएको जनाउँदै तालिका हाललाई रद्द गरिएको छ । अर्को मिति भदौ १२ गते राखिएको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको जीर्णोद्धार कार्य भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुने तालिका सार्वजनिक भइसकेकाले निगमले तय गरेको समयमा पनि उडान नहुने निश्चित छ ।


प्रधानमन्त्रीले नेपालीहरूको चाप न्यून भएको ओशाकामा उडान राखिएकामा पनि आपत्ति जनाए । ‘वाइडबडी ओशाका उडाउँदै छौं, तर उडाउनुपर्ने नारिता हो,’ उनले भने । टोकियोमा नेपालीको संख्या ओशाकाको दाँजोमा धेरै भएकाले प्रवासी नेपालीले पनि विरोध जनाउँदै आएका छन् । जापानले टोकियोमै भएको हानिदामा होइन, त्यहाँदेखि ६० किमि दूरीमा रहेको नारिता र ४ सय किमि टाढाको ओशाकामा उडान अनुमति दिएको छ ।


नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा निगम व्यवस्थापनले थप जहाज आवश्यक रहेको जनाउँदै आएको छ । प्रधानमन्त्रीले बोल्नुअघि कर्मचारी संघका अध्यक्ष तारणीराज दाहालले निगमलाई सरकारले थप जहाज उपलब्ध गराउनुपर्ने माग राखेका थिए । तर प्रधानमन्त्रीले अहिले भएका जहाजले विमानस्थलमा ठाउँ ओगट्ने काम मात्र गरेको उल्लेख गर्दै भने, ‘जहाज अभावले गर्दा नभई निगम व्यवस्थापकीय कमजोरीले घाटामा डुबेको छ । भएका जहाज ठाउ ओगटेर लडाइएका छन् । अरू एयरलायन्सका जहाज उड्छन् । निगमका मैदानभरि हुन्छन् ।’


उनले विमानस्थलबाट आउजाउ गरेका बेलाको प्रसंग निकाल्दै भने, ‘यताउता हिँडदा मैदानभरि निगमका जहाज देखिन्छन् नि भनी कुरा गर्दा ती साथीले प्रधानमन्त्रीज्यू, अरूका जहाज उड्छन्, निगमका उड्दैनन्, त्यसैले धेरै देखिएका हुन् भने ।’


निगमलाई जहाज चाहिए सरकार खरिद गर्न पछि नपर्ने भन्दै उनले अहिलेको सरकार कमिसनका पछि नकुद्ने आश्वासन दिए । ‘यो सरकार कमिसनका पछि कुददैन । ढुक्कले काम गर्नुहोस् । विभिन्न देशमा प्रतिनिधि राख्नुहोस् । एजेन्सी खोल्नुहोस् । त्यसको कमिसन सरकारले खोज्दैन । मैले भनेको छु, म भ्रष्टाचार गर्दिनँ । गर्न दिन्न ।’


आन्तरिक रुटका लागि चीनबाट ल्याइएका चारवटा वाइ१२ई र दुइटा एमए६० विमान नियमित उडाउन नसकिरहेको निगमले पछिल्लो समय चिनियाँ विमान नेपाली सेनालाई दिनुपर्ने माग गर्दै आएको छ । तर प्रधानमन्त्रीले यो कुराको विरोध गरे । यसमा तर्क नभएको भने । ‘सेनालाई किन दिने ? के सेना कवाडखाना हो ? या, ती जहाज जंगी पोसाकमा मात्रै उड्ने हुन् ?’ यदि सेनाले व्यवस्थापन गर्न सक्छ भने निगमले किन गर्न नसकेको ? हामी ज्ञानी नभएको हो कि जहाज ज्ञानी नभएका हुन् ?’ उनले भने ।


कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले निजी क्षेत्रले मासिक ५० हजार डलर भाडामा चिनियाँ जहाज मागेको प्रसंग सुनाएका थिए । प्रधानमन्त्रीले यसै विषयलाई निगमको क्षमतासँग जोडदै भने, ‘त्यही जहाज निजी क्षेत्रले चलाउन सक्ने, निगमले किन नसक्ने ?’ उनले पाइलट र कर्मचारीबीच अत्यधिक गुटबन्दी भइरहेको भन्दै निगमका कर्मचारीलाई इमानदारिताका साथ माथि उठाउन आग्रह गरे । ‘यो तपाईंहरूको वायुसेवा हो । यस देशलाई गरिब नराख्नका निम्ति उठाउनुहोस् । सप्पैको इमानदारिता चाहिन्छ,’ उनले थपे, ‘निगम नेपालीकै अभिमान (स्वाभिमान) भन्छौं, तर हाम्रो अभिमान ऋणमा डुबेको छ । ऋणमा डुब्न लागेको संस्थाबाट अनुचित लाभ नलिनुहोस् । उठाउन जरुरी छ ।’


समारोहमा कार्यकारी अध्यक्ष खरेलले नेपालमा लोक कस्ट क्यारियर (एलसीसी) वायुसेवासँग अत्यधिक न्यून भाडादरमा प्रतिस्पर्धा गर्नुपरेको बताए । दक्षिण एसियामै एलसीसीको प्रभाव बढ्दै गइरहेको छ । दक्षिण एसियामै यिनको बजार हिस्सा ६० प्रतिशत पुगेको छ ।


यस्तो प्रतिकूल अवस्थामा निगम विमानलाई अधिकतम उपयोग गर्न लागिरहेको छ । उनले ०७५ साउनदेखि चैतसम्म ७ अर्ब ५४ करोड आम्दानी गरेको बताए । वाइडबडी उडानमा ल्याइएपछि ३ अर्ब ६९ करोड वृद्धि भएको छ । उनले ०७५ साउनदेखि ०७६ जेठसम्म ६३ प्रतिशतले यात्रु संख्या बढेर ५ लाख ६९ हजार पुगेको बताए ।

प्रकाशित : असार १७, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?