‘विश्व मञ्च नेपाललाई महत्त्वपूर्ण’

लक्ष्मी लम्साल

बेइजिङ — चीनको उत्तरपूर्वी ल्याउनिङ प्रान्तको तालियान सहरमा दाभोसअन्तर्गत विश्व आर्थिक मञ्च सुरु भएको छ । मञ्चमा नेपालका तर्फबाट सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निष्पक्ष, पारदर्शी तथा प्रणालीमा आधारित विश्व व्यवस्थाका लागि अन्तर्राष्ट्रिय सहकार्य एवं सहभागिता आवश्यक रहेकोमा जोड दिए । 

१३औं विश्व आर्थिक मञ्चको वार्षिक बैठकको ‘न्यू च्याम्पियन्स इन तालियान’अन्तर्गत विश्व आर्थिक नेताहरूको अनौपचारिक भेलामा मन्त्री ज्ञवालीले सबै देशबीच स्रोतसाधन तथा अवसरको समान वितरणको आवश्यकतामाथि जोड दिए ।


‘नेतृत्व ४.० भूमण्डलीकरण नयाँ युगमा सफलताको बाटो’ भन्ने नाराका साथ सोमबार सुरु भएको मञ्च बुधबार सकिनेछ । मञ्च अवधिमा करिब दुई सय सत्र तथा कार्यशाला हुनेछन् । मन्त्री ज्ञवाली सोमबार दिउँसो नै २०२० जी–२० एजेन्डाको मार्गचित्रसम्बन्धी सत्रमा पनि सहभागी भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


उक्त अवसरमा मन्त्री ज्ञवालीले नेपाल जस्ता कम विकसित मुलुकको आवाज समावेश हुन पाउनु महत्त्वपूर्ण भएको धारणा राखे । अति कम विकसित मुलुकहरूको विकासको आकांक्षा सम्बोधन गर्न व्यापार क्षमता अभिवृद्धि, पुँजीसम्मको पहुँच, प्राविधिक रूपान्तरण, सुरक्षित तथा व्यवस्थित एवं स्वाभिमानयुक्त श्रम देशान्तरणलगायत विषयलाई गम्भीर रूपमा चासो दिनुपर्नेमा उनको जोड छ ।


मन्त्री ज्ञवालीले चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने तालियान सहरमा अध्ययन तथा कामको सिलसिलामा पुगेका नेपाली समुदायसँग पनि अन्तर्क्रिया गरेको दूतावासले जानकारी दिएको छ । मञ्चमा विश्वका करिब १ सय देश तथा क्षेत्रबाट २ हजारभन्दा बढी राजनीतिज्ञ, विद्वान्, विशेषज्ञ, वाणिज्य क्षेत्रका प्रतिनिधिलगायत सहभागी छन् । पछिल्ला वर्षमा चीनको वैज्ञानिक तथा प्राविधिक अनुसन्धान एवं विकासका क्षेत्रमा प्राप्त उपलब्धि उत्साहजनक भएको उनीहरूको भनाइ छ ।


मञ्चमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आइतबारको मध्यराति ल्याउनिङ प्रान्त उत्रिएका थिए । ज्ञवालीले बुधबारदेखि बेइजिङको भ्रमण गर्ने कार्यक्रम छ । बेइजिङस्थित नेपाली दूतावासमा मन्त्री ज्ञवालीले बुधबार नै चिनियाँ अनुसन्धाता तथा विद्वान्सँग अन्तर्क्रिया एवं केही राजनीतिक भेटघाट पनि गर्नेछन् ।

प्रकाशित : असार १७, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?