१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आफैं घर बनाएकालाई ३ लाख राहत

एक कोठे घरको हकमा छुट्टै भूकम्प प्रतिरोधी भान्साघर/कोठा, शौचालय र बरण्डा/पाली पुनर्निर्माण गरेको भएमात्रै अनुदान किस्ता सिफारिस गर्ने

काठमाडौँ — भूकम्पमा क्षति बेहोरेपछि आफ्नै बलबुतामा घर बनाउने झन्डै २५ हजार घरधनीले पुनर्निर्माण प्राधिकरणको अनुगमनबिनै प्रतिघर ३ लाख रुपैयाँका दरले राहत पाउने भएका छन् ।

आफैं घर बनाएकालाई ३ लाख राहत

भूकम्पलगत्तै प्राविधिक खटिन नपाएकै अवस्थामा घर बनाएर बसेपछि मात्रै लाभग्राहीको सूचीमा जोडिएका र पहिलो किस्ताको रकम मात्रै लिएका सेवाग्राहीले प्राधिकरणको यो निर्णयबाट लाभ लिन सक्नेछन् ।


‘यो निर्णयमा सुविधा लिन २०७४ मंसिरअघि घर बनिसकेको हुनुपर्छ । त्यही घरमा अहिले बसोबास भइरहेको हुनुपर्ने सर्त पनि जोडेका छौं,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने । गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशन समितिको बैठक र संसदीय समितिले समेत ‘प्राविधिकहरू खटिनुपूर्व बनेका घरधनीलाई पनि राहत दिन’ निर्देशन दिएको थियो । यस्ता लाभग्राहीको सूचीमा जोडिएका घरको संख्या २५ हजार जति हुने प्राधिकरणको अनुमान छ । यस्ता घरको भूकम्प प्रतिरोधक मापन आधार भने स्थानीय निकायले तय गर्ने घिमिरेले बताए । भूम्पपीडित अनुदान लिनकै लागि विभिन्न जिल्लामा एककोठे घर बनेको खबर सार्वजनिक भएपछि प्राधिकरणले यस्ता घरको भित्री भागको क्षेत्रफल कम्तीमा १ सय २० वर्गफिट नभए अनुदान किस्ता सिफारिस नगर्ने जनाएको छ ।


यस्ता एककोठे घरमा कम्तीमा भूकम्पप्रतिरोधी भान्साघर, कोठा, शौचालय, बरन्डा आदि हुनुपर्ने सर्त जोडिएको छ ।


तर प्राधिकरणका सबै किस्ता बुझिसकेको र देखाउनकै लागि एककोठे घर बनाउने उपभोक्ताबारे भने प्राधिकरणले केही भनेको छैन ।


प्रकाशित : असार १७, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?