१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अब ड्रोनले गर्छ योजना अनुगमन

पर्यटकीय क्षेत्रको प्रचारका लागि पनि ड्रोनकै माध्यमबाट भिडियो र तस्बिर लिने पनि नगरपालिकाको योजना छ ।
हरिराम उप्रेती

गोरखा — सदरमुकामर रहेको गोरखा नगरपालिकाभित्र सञ्चालित योजनाको सर्वे र अनुगमन आगामी वर्षदेखि ड्रोनबाट हुने भएको छ । यसका लागि नगरपालिकाले ड्रोन किनिसकेको छ । मंगलबार त्यसको परीक्षणसमेत गरियो ।

अब ड्रोनले गर्छ योजना अनुगमन

आगामी आर्थिक वर्षको साउनबाट नगर क्षेत्रमा सञ्चालन हुने योजनाको सर्वे, अनुगमन र नक्सांकन ड्रोनका माध्यमबाट हुने नगर प्रमुख राजनराज पन्तले बताए ।


ड्रोन सञ्चालनका लागि सञ्चार मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति लिने प्रक्रिया थालिएको उनको भनाइ छ । नगरपालिकामा प्राविधिक जनशक्ति अभावलाई केही हदसम्म पूरा गर्न ड्रोनले सघाउने नगरपालिकाको विश्वास छ ।


‘धेरै जनशक्ति खटिरहनुपर्दैन,’ उनले भने, ‘ड्रोनले आवश्यक कुरा खिचेर ल्याएपछि कार्यालयका कर्मचारीले चाहिएको तथ्यांक लिन सक्छन्, यसले समयको पनि बचत हुनेछ ।’ नगरपालिकामै बसेर योजनाको अनुगमन गर्न सक्ने प्रविधि भएकाले यसले फाइदा पुर्‍याउने उनको भनाइ छ । ‘ड्रोन सञ्चालनका लागि एउटा कक्ष स्थापना गरेर व्यवस्थित रूपमा अघि बढ्छौं,’ पन्तले भने ।


पर्यटकीय क्षेत्रको प्रचारका लागि पनि ड्रोनकै माध्यमबाट भिडियो र तस्बिर लिने पनि नगरपालिकाको योजना छ । ‘सन् २०१९/२० पर्यटन वर्ष घोषणा गरेर पर्यटक भित्र्याउने प्रदेश र संघीय सरकारले घोषणा गरिसकेका छन्,’ पन्तले भने, ‘अब हाम्रो नगरपालिकामा पर्यटक भित्र्याउन यहाँ रहेका ऐतिहासिक एवं पर्यटनसँग सम्बन्धित ठाउँलाई ड्रोनमार्फत भिडियो र तस्बिर लिएर प्रचारप्रसारमा जोड दिन्छौं ।’


गोरखा नगर क्षेत्रको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रलाई समेटेर वृत्तचित्र निर्माण गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने नगरपालिकाको योजना छ । २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा योजना समावेश गरेर ड्रोन किनिएको उनले बताए ।


त्यसका लागि झन्डै १५ लाख रुपैयाँ लागत लागेको छ । ‘प्रविधिमैत्री बन्न के गर्न सकिन्छ भनेर अध्ययन गर्दै जाँदा नगरपालिकाको कामलाई छिटोछरितो बनाउन उपयुक्त ड्रोन हुन्छ भनेर निर्क्योल गरेका हौं,’ पन्तले भने, ‘कार्यालयमै बसेर कामको नियमित अनुगमन हुने भएपछि फिल्डमा रहेका कामदारले गुणस्तरमा पनि ध्यान दिन्छन् भन्ने हाम्रो विश्वास छ ।’


प्राविधिकले पाँच दिन लगाएर गर्ने काम ड्रोनबाट दुई घण्टामै गर्न सकिने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुयोग खनालले जानकारी दिए । ‘ड्रोनले एक सेन्टिमिटरसम्मको गल्ती निकाल्छ,’ उनले भने, ‘तस्बिरका आधारमा वास्तविक तथ्यांक निकाल्न यो बढी सहयोगी हुन्छ ।’


नगर क्षेत्रबाट सबैभन्दा टाढाका गाउँ देउराली र ताप्लेसम्मका योजना नगरपालिकाबाटै हेर्न सकिने उनले बताए । ‘ड्रोनले २० देखि ३० वटा स्याटेलाइटसँग समन्वय गरी डाटा लिएर आउँछ,’ खनालले भने, ‘आठ किलोमिटर परसम्मका योजना हेर्न र डाटा लिन सक्छौं ।’


फोटो र भिडियो हाई रिजोल्युसनको आउने र इमेज स्पष्ट देखिने भएकाले कम्प्युटरमा हालेर प्रोसेसिङ गरेपछि कुनै पनि डेटा नहराउने खनालको भनाइ छ । लम्बाइ, उचाइ क्षेत्रफल सबै तस्बिरमार्फत हेर्न मिल्ने भएकाले कार्यसम्पादनमा सजिलो हुने उनले बताए ।


ड्रोन ६ किलोमिटर उचाइ र आठ किलोमिटरसम्म टाढा उडन सक्ने र ७० देखि ८० किलोमिटर प्रतिघण्टा उडाउन सकिन्छ । ‘एक पटक उडेपछि आधादेखि ४५ मिनेटसम्म फिल्डमा पुगेर तस्बिर लिन सक्छ,’ उनले भने, ‘ब्याट्रीबाट चल्ने हो, काम नसके निश्चित उचाइमा ल्याएर फिर्ता ल्याउने र ब्याट्री चेन्ज गरेर पठाएपछि काम रोकिएको स्थानबाटै काम सुरु गर्न सकिन्छ ।’

प्रकाशित : असार १७, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?