३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिंघानिया हत्यामा पनि साहलाई जन्मकैद

अजित तिवारी

(जनकपुर) — जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टकलालाई मंगलबार जन्मकैदको फैसला गरेको छ । जनकपुर बम विस्फोट मुद्दामा साहलाई गत फागुनमा धनुषा अदालतले नै जन्मकैद हुने फैसला गरेको थियो । 

सिंघानिया हत्यामा पनि साहलाई जन्मकैद

जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिंघानिया हत्याका योजनाकार पूर्वराज्यमन्त्री साह र सुटर मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । २०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।


सिंघानिया हत्या मुद्दाको अन्तिम सुनुवाइ तीन दिनदेखि जारी थियो । जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले सिंघानिया हत्याका आरोपितलाई दण्ड–सजायको माग गर्दै बहस गरेका थिए । साह र अन्य आरोपीका तर्फबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । आरोपी पक्षका कानुन व्यवसायीले सिंघानिया हत्यामा साहको संलग्नता नरहेको दाबी गरेका थिए ।


सिंघानिया हत्यामा ११ जनालाई आरोपी बनाएर अदालतमा मुद्दा पेस गरिएको थियो । हत्या गर्ने क्रममा सुटर लामासँगै रहेका चन्द्रदीप यादव, योगेन्द्र सहनी र पवन लामालाई अदालतले १० वर्षको कैद सजाय तोकेको छ । यस्तै पूर्वराज्यमन्त्री साहका निकट सहयोगी रामविनोद यादवलाई ३ वर्षको कैद सजाय सुनाइएको छ ।


सिंघानिया हत्याका तीन आरोपी अनिश राइन, ओमप्रकाश यादव र रामकरण यादवले भने अदालतबाट सफाइ पाएका छन् । हत्याको जिम्मेवारी लिने तत्कालीन सशस्त्र समूहका नाइके मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ । हत्यापछि फरार दीपेन्द्र कुसियतको हकमा मुद्दालाई मुल्तबी राखिएको छ ।


जनकपुर टुडेमा आफ्नोविरुद्धमा लगातार समाचार आएको झोंकमा पूर्वराज्यमन्त्री साहले सिंघानियाको हत्या योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सिंघानिया हत्यापछि फरार चन्द्रदीप पक्राउ परेपछि हत्यामा संलग्नता खुलेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा जनकपुर क्षेत्रबाट सद्भावना पार्टीबाट निर्वाचित साह सभासद रहेकै बेला सिंघानियाको हत्या आरोपमा पक्राउ परेका थिए ।


होलीको उमंगमा जनकपुरधाम व्यस्त रहेका बेला रामा होटलको कोठामा सुटर राखेर सिंघानियाको ‘फलो’ गरिएको थियो । जनकपुरको शिवचोकमा सिंघानियालाई रंग–अबिर दल्दै गोली प्रहार गरिएको थियो । अदालतको फैसलापछि सिंघानियाका छोरा राहुलले न्याय पाएकोमा खुसी व्यक्त गरे । ‘अदालतको फैसलापछि न्याय पाएको छु । अपराधीलाई सजाय भएकोमा परिवार आशावादी बनेको छ,’ उनले भने, ‘तर, अझै केही शंका गरिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।’

प्रकाशित : असार १८, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?