कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लाइसेन्स परीक्षामा ६५५ नर्स फेल

अतुल मिश्र

काठमाडौँ — नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् । 

लाइसेन्स परीक्षामा ६५५ नर्स फेल

‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’ नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन ।


कतिपय कलेजमा सिक्ने, सिकाउने वातावरण अनुकूल नरहेको उनको भनाइ छ । ‘धेरैजसो नर्सिङ कलेजको आफ्नो अस्पताल छैन । उनीहरूले अन्य अस्पताल देखाएर विद्यार्थी पढाइरहेका हुन्छन्,’ उनले भनिन्, ‘भएका अस्पतालमा समेत बिरामी कम हुन्छन् । कलेज निरीक्षणमा जाँदा उनीहरूले अन्यत्रबाट सामान ल्याउने वास्तविकता विद्यार्थीले बताएका छन् ।’


गुणस्तर कायम गर्न सीटीईभीटी, मन्त्रालय र काउन्सिलबीच समन्वय हुनुपर्ने निरौलाको भनाइ छ । गत साता लिइएको लाइसेन्स परीक्षामा विदेशबाट अध्ययन गरी आएका विद्यार्थीमध्ये करिब २० जनाको सीप परीक्षण गरिएको थियो । ‘उनीहरूको अवस्थासमेत हामीले राम्रो पाएनौं,’ निरौलाले भनिन् ।


देशभर ९२ वटा इन्स्टिच्युटमार्फत नर्सिङ पढाइ भइरहेको काउन्सिलकी रजिस्ट्रार बिन्दा घिमिरेले बताइन् । तिनबाट ८ देखि ९ हजारसम्म नर्सको उत्पादन हुने गरेको उनको भनाइ छ । काउन्सिलमा ५५ हजार ९ नर्स, ३२ हजार ३ सय २४ अनमी र ८ सय ४२ विदेशी नर्स गरी जम्मा ८८ हजार १ सय ७५ नर्स दर्ता छन् । काउन्सिलले बर्सेनि तीन पटक नर्सको लाइसेन्स परीक्षा लिने गर्छ । यो वर्ष कात्तिक र चैतमा पनि उक्त परीक्षा हुनेछ ।

प्रकाशित : असार १८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?