‘नगरेको गल्तीमा नेपाललाई सजाय’

लक्ष्मी लम्साल

(बेइजिङ) — विश्व आर्थिक मञ्चको तीन दिवसीय सम्मेलनमा सहभागी हुन चीनको उत्तरपूर्वी ल्याउनिङ प्रान्तस्थित तालियान आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । चीनको ६ दिने भ्रमणमा आएका उनले मञ्चका विभिन्न सत्रमा नेपाल जस्ता अति कम विकसित मुलुकको अर्थ, भूराजनीति, जलवायुलगायत विषयमा आवाज उठाएका थिए ।

बुधबार बिहान बेइजिङ उत्रिएपछि ज्ञवालीले चिनियाँ समयअनुसार अपराहन ४ बजे विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने तालिका छ । भेटमा चिनियाँ पक्षबाट हुने उच्चस्तरीय राजनीतिक भ्रमण, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना, यसअघि भएका सम्झौताको प्रगतिलगायत विषयमा छलफल गर्ने बताइएको छ ।


मञ्चको वार्षिक बैठकअन्तर्गत मंगलबार ‘जलवायु परिवर्तन : अर्को मौद्रिक संकट’ विषयक सत्रमा मन्त्री ज्ञवालीले जलवायु परिवर्तनका असरहरूविरुद्ध लड्न उच्चस्तरीय विश्वस्तरीय सहकार्य आवश्यक रहेकोमा जोड दिए । नेपालका हिमाल, नदी र जंगलले जैविक प्रणाली कायम राख्न खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै मन्त्री ज्ञवालीले नेपालको कार्बन उत्सर्जन कम भए पनि त्यसको असरचाहिँ ठूलै बेहोरिरहेको बताए । नेपालले गर्दै नगरेको गल्तीको सजाय भोग्नुपर्दाको चोट अनुपातहीन भएको उनको भनाइ छ । ‘जलवायु संरक्षणको पहुँच र प्रविधिको उपलब्धता सहज हुनुपर्छ,’ उनले भने ।


मंगलबार नै मन्त्री ज्ञवाली भूराजनीतिक परिवर्तनसम्बन्धी सत्रमा पनि सहभागी भए । भूराजनीतिक जटिलता तथा अनिश्चितताका विषयमा राष्ट्रहरूबीच बृहत् आपसी विश्वास र समझदारी प्रवर्द्धन आवश्यक रहेको उनले बताए । ‘समस्या व्यापक हुँदै छ,’ उनले भने, ‘मात्रा र क्षेत्र पनि बढ्यो । जहाँजहाँ यसले पकड जमाएको छ, त्यहाँत्यहाँ झन् जटिलता थपिँदै गयो ।’


विश्वमा दिगो शान्ति सुनिश्चित गर्न देशहरूबीच सहकार्य र एकीकृत प्रयास आवश्यक रहेको उनको भनाइ छ । यसअघि चीनका प्रधानमन्त्री ली खछ्याङले दाभोसको १३औं विश्व आर्थिक मञ्चलाई सम्बोधन गरेका थिए । चीनको वैदेशिक लगानीमा खुलापन, पारदर्शिता र सुनिश्चित भविष्यप्रति उन्मुख भएको उनले बताएका थिए ।

प्रकाशित : असार १८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?