रसुवा — सुन लगायत सबै सामानहरूको चोरी तस्करी नियन्त्रण गर्न सहयोग गर्ने चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका छन् । बुधवार स्याफ्रूबेसीमा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुबीच भएको छलफल कार्यक्रममा सुन लगायत सबै सामानहरूको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारीले सहयोग गर्ने प्रतिबद्वता जनाएका हुन् ।
पछिल्लो समय तस्करले रसुवागढी नाकाको प्रगोग गर्न थालेपछि नियन्त्रण गर्न बुधबारको बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘सुन लगायत सबै मालवस्तुहरुको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ पक्षले सहयोग गर्ने प्रतिबद्वता जनाएको छ’ उनले भने । नाकाबाट हुन सक्ने चोरी तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा चेकजाँच अझ कडा गरिने कुरामा चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएको भण्डारीले बताए ।
नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना गर्ने विषयमा पनि छलफल भएको छ । ‘अबको एक महिनाभित्रमा संयुक्त कमाण्ड सेन्टर स्थापना हुनेछ । सहमतिपत्रको ड्राफ्ट तयार भइसकेको छ । गृह मन्त्रालयबाट अनुमति लिएर सहमति पत्रमा हस्ताक्षर हुन्छ’ उनले भने ।
नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना भएपछि मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतका सामाग्रीहरूको ओसार पसार नियन्त्रण गर्न सहयोग पुग्नेछ । यसले नाकामा हुने समस्या तत्काल हल गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै, केरुङसम्म जानका लागि जिल्ला बाहिरका बासिन्दालाई एकदिने पास र व्यवसायीलाई बिजनेश पासको व्यवस्था लागू गर्न नेपाली पक्षले बैठकमा पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको छ । एक दिने पास लागु गर्ने विषयमा माथिल्लो निकायमा जानकारी गराउने चिनियाँ पक्षले बैठकमा बताएका छन् । वान डे पासको व्यवस्था नहुँदा रसुवा जिल्ला भन्दा बाहिरका व्यापारीलाई केरुङ पुगेर व्यापार व्यवसाय गर्न असहज भएको छ ।
जिल्ला बाहिरका व्यापारी केरुङ जान पाइरहेका छैनन् । कन्टेनर चालकलाई १५ दिनको पास दिने कुरामा चिनियाँ अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला भन्दा बाहिरका व्यापारीले एकदिने पासको व्यवस्था नहुँदा केरुङसम्म जान नसकेको गुनासो गर्दै आएका छन् । रसुवा जिल्ला भन्दा बाहिरकालाई केरुङसम्म जाने पहुँच छैन । केरुङसम्म जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिने व्यापारीहरू बताउँछन् ।
चेलीबेटी बेचबिखनको विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकमा नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी लगायत सुरक्षा अधिकारी र चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेसनका मेजर कर्नेल गाओ हुइहाइ सहित सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित : असार १८, २०७६ १७:४६