मोतीविन्दु दुर्गम र पिछडिएको समुदायमा बढी

अतुल मिश्र

काठमाडौँ — दुर्गम क्षेत्र, पिछडा वर्ग, सीमान्तीकृत समुदाय तथा महिलामा मोतीविन्दुको समस्या अधिक छ । थोरै मात्रामा बालबालिका पनि यो रोगबाट पीडित छन् । समग्र जनसंख्याको करिब शून्य दशमलव २ प्रतिशत मोतीविन्दुले ग्रस्त छन् ।

मोतीविन्दु दुर्गम र पिछडिएको समुदायमा बढी

६० वर्षमाथिका करिब आधाजति जनसंख्यामा यो समस्या छ । आँखाको लेन्समा सेतोपन देखिने भएकाले मोतिविन्दु प्रभावितहरू राम्ररी हेर्न सक्दैनन् ।


‘मुलुकमा मोतीविन्दुले अन्धै भएका करिब १ लाख र यो रोगले छोएका ५–६ लाख हुने आकलन गरिन्छ,’ तिलगंगा इन्स्टिच्युट अफ अप्थेल्मोलोजीका कार्यकारी निर्देशक डा.सन्दुक रुइतले भने । उनले करिब १ लाख २० हजार मोतिविन्दुको शल्यक्रिया गरिसकेका छन् ।


सन् २०१०–११ मा भएको सर्वेक्षणले मुलुकको ०.३५ प्रतिशत जनसंख्यामा अन्धोपन रहेको देखाएको छ । सम्पूर्ण अन्धोपनको करिब ६५ प्रतिशत कारण मोतीविन्दुलाई नै मानिएको छ ।

उमेरसँगै लाग्ने यो रोग घाममा बढी बिताउने, घरीघरी झाडापखाला भएर शरीरमा असन्तुलन भएका, मधुमेह भएका र अन्य औषधि सेवन गर्नेहरूमा बढी देखिन्छ । घरभित्रको वायुप्रदूषणले समेत यो समस्या हुन सक्ने अध्ययनहरूमा देखिएको छ ।


मोतीविन्दुको शल्यक्रियालगायत आँखाको उपचार सेवा छिमेकी मुलुकको दाँजोमा नेपालमा अझ राम्रो रहेको औंल्याउँदै डा. रुइतले साधारण तरिकाले शल्यक्रिया गर्दा करिब २ हजार रुपैयाँ र अन्य प्रविधि जोडेर गर्दा करिब ९–१० हजार लाग्ने गरेको बताए ।


मोतीविन्दुको शल्यक्रियापछि आँखामा लाग्ने लेन्स नेपालमै उत्पादन हुनुका साथै सस्तो भएकाले प्रभावित व्यक्तिहरूलाई सहज भएको छ । नेपाल यो लेन्स उत्पादनमा आत्मनिर्भर छ । नन फोल्डेवल (मोड्न नसकिने) लेन्सको मूल्य ३ सय र फोल्डेबल लेन्सको मूल्य १३ सयजति पर्छ ।


बच्चाहरूमा हुने जन्मजात मोतीविन्दुको शल्यक्रिया भने अर्कै खालको प्रविधिले गरिन्छ । बच्चामा हुने मोतीविन्दुको कारणसमेत थाहा पाउन गाह्रो हुन्छ । ‘बच्चामा डेढोपन देखियो, जन्मेको केही पछि उसको आँखामा प्रकाश पर्दा गार्‍हो अनुभव गरे तुरुन्त देखाउनुपर्छ,’ डा रुइतले भने ।


तिलगंगाका प्रोजेक्ट म्यानेजर मोहनकृष्ण श्रेष्ठका अनुसार मुलुकमा हाल दुई लाखभन्दा बढी व्यक्तिमा मोतीविन्दुको समस्या छ । मोतीविन्दुमा आँखाको दृष्टि विस्तारै कम हुन थाल्छ र धमिलो देखिन्छ । यसमा कुनै दुखाइ हुँदैन । घाममा चस्मा लगाउँदा मोतीविन्दुको प्रभाव कम गर्न सकिन्छ ।

प्रकाशित : असार १८, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?