दृष्टिविहीन ३ दिदीबहिनीलाई एकसाथ नागरिकता

९ सन्तानमध्ये ५ दृष्टिविहीन

धनकुटा — तीनजना दृष्टिबिहीन दिदीबहिनीले एकै दिन नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन् । साँगुरीगढी गाउँपालिका १० मा पर्ने दुर्गम आहालेको ताप्केका २४ वर्षीया दिलमाया राई, २० वर्षीया सरिमाया राई र १९ वर्षीया पवित्रा राईले नागरिकता पाएका हुन् ।

दृष्टिविहीन ३ दिदीबहिनीलाई एकसाथ नागरिकता

नागरिकता पाएपछि जागिर खान तथा राज्यले उपलब्ध गराउने अन्य सुविधाका लागि अवसर मिल्ने भएकाले खुसी लागेको दिलमायाले बताइन् । हाल स्नातक अध्ययन गर्दै रहेकी उनले पढाइको ब्यस्तताका कारण अलि ढिला नागरिकता बनाउन पाएको प्रतिक्रिया दिइन् । तीनैजना प्रतिभाशाली छन् । गीतसंगीतमा दख्खल राख्ने उनीहरु लेखपढमा समेत अब्बल छन् ।


दिलमाया र पवित्राले झापाका दमकस्थित सरस्वती माध्यमिक विद्यालय र सरिमायाले वेलवारीको विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । हाल पवित्रा ११ कक्षा तथा दिलमाया र सरिमाया स्नातक तहमा अध्ययनरत छन् । आफ्नै प्रयासमा जागिर खाने उनीहरूको सोच छ । राज्यले उच्च शिक्षाका लागि उपयुक्त अवसर दिए अझै सहयोगी हुने सरिमाया बताउँछिन् । ‘भरसक आफै केही गरौं भन्ने आत्मविश्वास छ’, उनले भनिन्, ‘हामीजस्ताले गरिखान राज्यले पनि उचित अवसर दिनुपर्छ ।’


सेतो छडी लिएर सहयोगीका साथमा तीनैजना दिदीबहिनी नागरिकता बनाउन सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगरेका थिए । एकै घरका तीन दृष्टिविहीन एकैदिन नागरिकता लिन आउनु सम्बद्ध फाँटवाला कर्मचारीका लागि अचम्मको विषय बनेको थियो । यसप्रकारले नागरिकता दिइनु असाध्यै दुर्लभ हुने प्रशासकीय अधिकृत रामनारायण श्रेष्ठले बताए । ‘यो त, सारै दुर्लभ क्षण हो,’ उनले भने, ‘कतिपय दृष्टिविहीन आउने गरेपनि तीनजना एकै घरका चाहिं पहिलोपटक आएका हुन् ।’


नागरिकताको फाँटकी एक महिला कर्मचारीलाई उनको बोलीको भरमा तीनै जनाले आफूहरुलाई पहिले विद्यालयमा पढाउने मिस भन्दै नमस्कार गरे । उनीहरुलाई विद्यालयमा पढाउने पूर्वशिक्षिका सीता सुवेदी नागरिकता फाँटमा खरिदार पदमा कार्यरत छिन् । आफूले प्राथमिक तहमा पढाएका तीन दृष्टिविहीनलाई लामो समयपछि देख्ता उनी पनि छक्क परिन् ।


बाबु अडिचन्द्र र आमा चन्द्रमायाका १ छोरा र ८ छोरीमध्ये चार सन्तानबाहेक सबै दृष्टिविहीन छन् । आर्थिक अवस्था कमजोर रहेका कारण दृष्टिविहिन सन्तानको भविष्यका लागि यी दम्पती चिन्तित छन् । बाबु अडिचन्द्र छोरीहरूले नागरिकता पाएपछि खुसी भए । केही वर्ष पहिलेदेखि नै नागरिकता बनाउने प्रयास गरे पनि समय नमिल्दा ढिलाइ भएको उनले बताए ।


उनी स्वयम् पनि एउटा आँखाले धमिलो मात्र देख्न सक्छन् । सामान्य खेतीकिसानी गर्ने राई आफूले नपढे पनि छोरीहरूलाई उच्च शिक्षा पढेर रोजगारी पाएको देख्न चाहेको बताए । जागिरका लागि अत्यावश्यक पर्ने नागरिकता मिलेपछि अब आशावादी भएको उनले प्रतिक्रिया दिए । ‘बल्ल अब जागिरका लागि अवसर मिल्ला भन्ने लागेको छ,’ उनले भने, ‘दृष्टिविहीनका लागि राज्यले पनि केही सोचे हुने थियो ।’

प्रकाशित : असार १८, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?