'नेपाल भ्रमणका लागि चीन प्रतिबद्ध’

लक्ष्मी लम्साल

(बेइजिङ) — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा दिएको निम्तो स्मरण गराएका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा बुधबार चिनियाँ समकक्षी वाङ यीमार्फत मन्त्री ज्ञवालीले भ्रमणको निम्तो सम्झाएका हुन् । 

'नेपाल भ्रमणका लागि चीन प्रतिबद्ध’

मन्त्री ज्ञवालीले नेपालका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेको जनाउँदै चीनबाट पनि उस्तै भ्रमणको आशा गरेको बताएका थिए । प्रत्युत्तरमा चिनियाँ विदेशमन्त्री वाङ यीले उपयुक्त समयमा नेपालको भ्रमण गराउन चीन इच्छुक रहेको बताए । यसअघि पनि चीनले उच्चस्तरीय राजनीतिक भ्रमणका लागि उपयुक्त समय र अवसरको पर्खाइमा रहेको बताउँदै आएको थियो । यसपटक पनि मन्त्री वाङले उस्तै भाषामा उपयुक्त समयको प्रतीक्षा गरिरहेको र चिनियाँ पक्ष नेपाल भ्रमणका लागि प्रतिबद्ध रहेको दोहोर्‍याए ।


मन्त्री ज्ञवालीका अनुसार चिनियाँ राष्ट्रपति वा उच्च तहबाट नेपालको भ्रमण गराउन मन्त्री वाङले दृढ विश्वास दिलाएका छन् । ‘दुई देशबीचको सम्बन्धलाई गति दिन उच्चस्तरीय राजनीतिक भ्रमणको ठूलो महत्त्व हुन्छ भन्नेमा चीन पनि सहमत छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसित भने, ‘चीनबाट पनि उच्च तहको भ्रमण अपेक्षा गरेका छौं । भ्रमणको कुरा कूटनीतिक निकायबीच छलफल गरेर टुंग्याउने विषय भएको उनले बताए । ‘चिनियाँ नेतृत्वलाई स्वागत गर्न नेपाली इच्छुक रहेको कुरा चीनलाई पनि अवगत भएको छ,’ उनले भने ।


भेटवार्तामा सहभागी बेइजिङस्थित दूतावासका मिनिस्टर सुशील लम्सालले पनि चीनले राष्ट्रपति सीको नेपाल भ्रमणको विषयलाई आफ्नो एजेन्डामा राखेको बताए । उनले भने, ‘नेपाल भ्रमण चिनियाँको प्राथमिकतामा छ । दुवै पक्षबीच कूटनीतिक तवरबाट समय मिलाएर सीको नेपाल भ्रमण गराउने विषयमा चीनले ध्यान दिइरहेको छ ।’


झन्डै आधा घण्टा लामो भेटवार्तामा मन्त्री ज्ञवाली र वाङ यीबीच सीमापार रेल निर्माण, तातोपानी नाकाको पूर्ववत् सञ्चालन, विगतका सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।


भेटमा गत वर्ष जुनमा प्रधानमन्त्री केपी शर्मा ओली र गत अप्रिलमा बेल्ट एन्ड रोड इनिसिएटिभको दोस्रो शिखर सम्मेलनमा सहभागिताका साथै राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनबारे पनि समीक्षा भएको थियो । मन्त्री ज्ञवालीले नेपाल–चीन सम्बन्धमा चीनले गरेको नि:स्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उस्तै सहयोगको अपेक्षा गरेको बताए । मन्त्री ज्ञवालीले सीमापार रेलको पूर्वसम्भाव्यता अध्ययन सकिएको र अब सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्न बाँकी रहेको बताए ।


मन्त्री ज्ञवालीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्रीसहित पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तस्थित तालियानमा भएको विश्व आर्थिक मञ्चको तीन दिवसीय सम्मेलनमा भाग लिएपछि मन्त्री ज्ञवाली बुधबार बिहान बेइजिङ उत्रिएका थिए । मन्त्री ज्ञवाली शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित : असार १९, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?