बालक डुबेको खाल्डो पुर्ने सहमति

ओमप्रकाश ठाकुर

(सर्लाही) — खोलामा डुबेर एक बालकको मृत्यु भएपछि गाउँले किन त्यतिसारो आक्रोशित भए जसलाई शान्त पार्न प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गयो, अर्का घाइते भए ?

बालक डुबेको खाल्डो पुर्ने सहमति

सर्लाही र महोत्तरी जिल्लाको सीमा भएर बग्ने बाँके खोलामा १२ वर्षीय अमित राय डुब्नुको कारण त्यहाँ ढुंगा–गिटी र बालुवा निकालिँदा बनेको खाल्डो थियो । त्यसको विरोधमा उत्रेका गाउँलेमध्ये २७ वर्षीय देवन भनिने सरोजनारायण महतोको प्रहरी गोली लागी घटनास्थलमै मृत्यु भयो । गोली लागी गम्भीर घाइते भएका २१ वर्षीय राजकुमार महराको जनकपुर अस्पतालमा उपचार जारी छ । गाउँले र नगरपालिका प्रमुखसँगै दलका प्रतिनिधिबीच घटनाको चार दिनपछि बुधबार मृतकको परिवारलाई क्षतिपूर्ति दिने र खाल्डा पुर्ने सहमति भएको छ ।


उक्त खोलामा वातावरणीय प्रभाव मूल्यांकन नै नगरी झन्डै आठ महिनादेखि जथाभावी उत्खनन भइरहेको थियो । आइतबार बालकको शव भेटिएपछि खोलाको छेउमै बस्ती रहेकाले खाल्डाले सधैंका लागि जोखिम भएको भन्दै स्थानीय विरोधमा उत्रेका थिए । बालकको शव लिएर प्रदर्शन गर्न पुगेका स्थानीयले राजमार्गमा आवागमन रोकेपछि खुलाउने क्रममा झडप भएको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीले ढुंगामुडा गर्दा ११ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरीसमेत घाइते भएका थिए ।


बाँके खोलाको पश्चिमतर्फ ईश्वरपुर नगरपालिकाको सहमतिमा उत्खनन भइरहेको थियो । नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाका लगि ढुंगा निकाल्न प्रमुख जिल्ला अधिकारी र समन्वय समितिको आग्रहमा उत्खनन गर्न सहमति दिएको जनाएको छ ।


खोलाको पूर्वतर्फ क्रसर व्यवसायीले सम्बद्ध निकायसँग अनुमति नलिई उत्खनन गर्दै आएका थिए । अवैध उत्खनन जारी रहेको क्षेत्रमा दुइ जिल्लाका स्थानीय तहको सीमाना विवाद छ । खोलाले वर्षेनी फेर्ने बहावको दिशाका आधारमा दुवै जिल्लाले किनारलाई आआफ्नो क्षेत्र भित्रको मान्दै आएका छन् । घटना भएको क्षेत्र महोत्तरीमा पर्छ । महोत्तरीको गौशाला नगरपालिका आलोपालो ठेक्का लगाउने सहमति भएकाले यो वर्ष सर्लाहीको हरिपुर्वा नगरपालिकाको जिम्मा रहेको भन्दै पन्छिएको छ । हरिपुर्वाका प्र्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले भने खोलामा कुनै किसिमको ठेक्का नलगाइएको र घटना भएको क्षेत्र आफ्नोमा नपर्ने दाबी गर्छन् ।

आधिकारिक रूपमा ठेक्का नलागेको क्षेत्रमा आठ महिना अघिबाट अवैध दोहन बढेको थियो । महोत्तरीतर्फ बाँके खोलाको किनारमा चार क्रसर उद्योग थिए । दुईवटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका दुइ उद्योग जनकपुरका प्रमोद यादव र महोत्तरीका ऋषि साहका हुन् । दुवै क्रसर उद्योगले पछिल्लो समय खोलामा गहिरो खाडल खन्दै ढुंगा निकाल्ने काम गर्दै आएको स्थानीयको भनाइ छ ।


दुई महिनाअघि महोत्तरीका क्रसर व्यवसायीले सर्लाहीतर्फको खोलामा अवैध उत्खनन गर्न थालेपछि ईश्वरपुर नगरपालिकाले दण्डजरिवाना तिराएर खाल्डो पुर्न लगाई स्थानीय प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले अवैध रूपमा सञ्चालनमा आएका क्रसर उद्योगलाई भने त्यतिकै छाडेको थियो ।


महोत्तरीतर्फको क्षेत्रमा खोला क्षेत्रमा अवैध उत्खनन जारी नै छ । त्यहाँ ढुंगा–गिटी मनपरी तरिकाले झिक्दा २० देखि ३० फिटसम्मको गहिरो खाल्डो बनेको स्थानीय गंगा महतोले बताए । ‘२ जनाको ज्यान जाने यति ठूलो घटना भयो,’ अवैध उत्खनन गर्नेमाथि कडाइ गर्न नसके जोखिम नहट्ने जिकीर गर्दै उनले भने ।


आन्दोलित गौरीशंकरका स्थानीयसँग ईश्वरपुर नगरपालिकाले छलफल गरी सहमति भएपछि आफन्तले शव बुझेका छन् । स्थानीयसँग वार्तामा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेशसभा सदस्य उपेन्द्र महतो, नगरका प्रमुख राजनीतिक दलका प्रतिनिधि बसेका थिए । प्रहरीको गोली लागेर मृत्यु भएका महतोलाई सहिद घोषणा गर्न स्थानीय सरकारमार्फत पहल गर्ने, डुबेर मृत्यु भएका बालकका परिवारलाई राहतस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउन नगरपालिकामार्फत पहल गर्ने, दुवैका परिवारलाई किरिया खर्चबापत २५/२५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । गोली लागेर घाइते राजकुमार महरालाई औषधोपचार खर्च उपलब्ध गराउन पहल गर्ने र महतोकी श्रीमतीलाई स्थानीयस्तरमा रोजगारी दिन प्राथमिकता दिने पनि सहमतिपत्रमा उल्लेख रहेको नगरप्रमुख देवकोटाले बताए ।


उनले भने ‘दोहन रोक्छौं, यस्तो घटना फेरि हुन दिँदैनौं ।’ दुई जिल्लाको सीमा क्षेत्र भएकाले स्थानीय तहलाई प्रदेश सरकारले पनि सहयोग गरेमा यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न

सकिने उनले बताए ।


बालक डुबेर मृत्यु भएको खोलाको खाल्डो पुर्ने र बाँके खोलाको सीमा विवाद समाधान गर्न प्रदेश सरकारसँग पहल गर्नेलगायतमा पनि सहमति भएको छ ।

प्रकाशित : असार १९, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?