इँटा उद्योगमा बालबालिका असुरक्षित

सम्झना रसाइली

(तनहुँ) — म्याग्दे गाउँपालिका २ जामुनेमा मंगलबार खाल्डामा डुबेर दुई बालकले ज्यान गुमाए । विद्यालयबाट फर्कंदै गरेका उनीहरू माछापुच्छ्रे इँटा उद्योगले माटो निकाल्दा बनेको खाल्डामा जमेको पानीमा पौडी खेल्न पुगेका थिए । उद्योगले खाल्डो नपुरिदिँदा पानी जमेर पोखरी बनेको थियो । 

इँटा उद्योगमा बालबालिका असुरक्षित

कृष्णबहादुर शाहीका दुई छोरा ७ वर्षीय सुन्दर र ४ वर्षीय किस्मतले अनाहमा ज्यान गुमाउनुपर्‍यो ।


‘इँट्टा बनाउन माटो निकालियो तर पुर्न समयमै ध्यान नदिँदा अकालमा दाजुभाइको ज्यान गयो, घरमा बाउआमा बेहोस छन्,’ ६२ वर्षीया हिरा विकले भनिन् ।


इँट्टा उद्योगले बनाएको खाल्डाका कारण बर्खामा बालबालिका जोखिममा पर्ने गरेको उनले बताइन् । ‘काम गर्ने हो तर सुरक्षित रूपमा गरिदिए हुने थियो,’ विकले भनिन्, ‘यहाँ इँट्टा बनाउने मजदुरका बालबालिका नै खेल्न आउँछन्, जतासुकै खाल्डाखुल्डी छन् । कतिबेला के हुन्छ, डरत्रासको वातावरण पैदा भयो ।’


अभिभावकको लापरबाहीका साथै उद्योगधनीले खाल्डाखुल्डी पुर्न ध्यान नदिँदा दु:खद् घटना भएको इँट्टा उद्योगकी मजदुर माया परियार बताउँछिन् । ‘हाम्रा पनि ससाना बालबालिका छन्, आफू काममा व्यस्त हुनुपर्छ, कतिबेला कता पुग्छन्, त्यति ध्यान दिन सकिँदैन, यो वर्षादको समयमा खाल्डामा जमेको पानीले हामीलाई त्रासको वातावरण बनाएको छ ।’


माछापुच्छ्रे इँट्टा उद्योगका प्रबन्धक हर्कबहादुर गुरुङले अभिभावकको लापरबाहीका कारण घटना भएको बताए । ‘उद्योगलाई चाहिने पानी संकलनका लागि छुट्टाछुट्टै ठाउँमा पोखरी बनाइन्छ,’ उनले भने, ‘इँट्टा उद्योग हाताभित्र स्थानीयलाई नहिँड्न पटकपटक भन्छौं तर उहाँहरू मान्नुहुन्न ।’ पोखरीमा वर्षातको पानी जम्मा गरी बिग्रेका इँटा हालेर पुर्ने क्रममा रहेका बेला अचानक नसोचेको घटना भएको उनले बताए । उद्योगले आफ्ना क्षेत्रमा कम्पाउन्ड लगाए पनि स्थानीयले छोटो बाटो भन्दै त्यहीँबाट हिँडदा बालबालिका असुरक्षित हुने गरेका छन् । जिल्लामा २४ वटा इँट्टा उद्योग र भट्टा दर्ता भई सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग विकास समिति कार्यालयको तथ्यांकले यस्तो देखाएकामा बिनादर्ता सञ्चालित इँट्टाभट्टा पनि छन् । जिल्लामा सञ्चालित इँट्टा उद्योग तथा भट्टामा करिब एक हजारले रोजगारी पाएको घरेलु तथा साना उद्योग विकास समिति तनहुँकी प्रमुख विमला धधितालले बताइन् ।

प्रकाशित : असार १९, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?