कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसएलआर सहित चन्द समूहका एक पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — प्रहरीले चन्द समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

एसएलआर सहित चन्द समूहका एक पक्राउ

गत सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्तपछि लुकेर बसेका दोर्जीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाका अनुसार दोर्जीको साथबाट एसएलआर राइफल एकथान र त्यसमा प्रयोग हुने गोली ६९ राउण्ड बरामद गरिएको छ । यस्तै, प्रहरीले एलएमजी राइफलमा लाग्ने २० राउन्ड गोली, विस्फोट गराउन प्रयोग गरिने ३४ फिट डेडकर्ड, मोबाइल फोन लगायतका सामाग्री पनि बरामद गरेको छ ।


सोमबार सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द कार्यकर्ताबीच भिडन्त भएको थियो । भिडन्तमा भने कुनै मानवीय क्षति भएन ।


प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका–१का स्थानीय मानिसहरूसँग चन्द समूहले आधुनिक हातहतियार देखाएर आंतकित पारी मोटो रकम माग्ने गरेका थिए । त्यही सूचनाका आधारमा होयङ्लामा पुगेका प्रहरी गस्ती टोलीलाई उक्त समूहका कार्यकर्ताहरूले गोली फायर गरेको र प्रहरी आफ्नो आत्मरक्षाको लागि जवाफी फायर खोलेको प्रहरीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । चन्द समूहका कार्यकर्ताहरू भागेर जंगलतर्फ गएको सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा दोर्जीलाई नियन्त्रणमा लिएको थियो ।


भिडन्तपछि प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियानलाई अझै तीव्र पारेका छन् । घना जंगल भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । यो स्थान सोलुखुम्बु, भोजपुर, खोटाङ र संखुवासभाको संगमस्थल क्षेत्र नजिकै पर्छ । मकालुवरुण राष्ट्रिय निकुञ्जतर्फ बाक्लो लेकाली जंगल छ ।


घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १० घण्टा बढी पैदल हिँड्नुपर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाट पनि घटनास्थल पुग्न ५ घण्टा बढी लाग्छ ।सडक यातायात नभएकाले सुरक्षाकर्मी हिँडेरै जानुपर्छ । उनीहरू हतियार सहित करिब २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । बुधबारे बजार हुँदै चन्दका कार्यकर्ताहरू होङ्ला पुगेका थिए ।

प्रकाशित : असार १९, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?