कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सञ्चारमन्त्रीले चन्द समूहलाई भने, ‘चुनाव लड्ने हुती छैन, सिम फेर्दै तर्साउने काम छाड्नुस्’

विमल खतिवडा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द समूहले लुटपाटको आतङ्क जारी राखिरहे उसले क्षति व्यहोर्नु पर्ने बताएका छन् । ‘बल प्रयोगद्धारा सत्ता कब्जा गर्ने दिवा सपना २१ औँ शताब्दीमा सम्भव छैन ,राम्रोसँग बुझे हुन्छ,’ उनले आक्रमक शैलीमा भने,‘ नबुझे समयले बुझाइदिनेछ ।’

सञ्चारमन्त्रीले चन्द समूहलाई भने, ‘चुनाव लड्ने हुती छैन, सिम फेर्दै तर्साउने काम छाड्नुस्’

उनले वार्ताबाट समस्या समाधान खोज्नुको विकल्प नभएको बताए । ‘आउनुस् छलफलबाट समस्या समाधान गरौँ भन्दै आइरहेका छौँ,’ उनले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,‘तर उक्त समूह दक्षिणपन्थीको सेवाहरू गरी रहेको छ, त्यही भएर यो आतंकारी समूह नै हो ।’


चन्द समूह सर्वनाशको बाटो हिँडिरहेको उनले टिप्पणी गरे । ‘यसलाई क्रान्तिको रूपमा बुझ्ने, व्याख्या गर्ने मार्क्सवादी कुरा होइन,’ उनले भने,‘ उहाँहरू उपयोगितावादी हो, अराजकतावादी हो, धन कमाउ वाला हो । त्यो पनि मेहनत गरेर होइन, लुटेरा समूह हो ।’ उनले चन्द समूह वार्तामा एजेन्डा लिएर आउनै नसकेको दाबी गरे ।


उहाँहरूले गरेको कामले त्रास, हिंसा, भय असुरक्षा नागरिकमा सिर्जना गरेको छ ,यसलाई कसैले क्रान्ति ठान्छ भने यो पतन भएर जान्छ,’ उनले भने,‘जनतालाई बाँच्न दिनु पर्‍यो, चुनाव लड्ने हुती छैन, कोठामा बसेर फोनमा १२ वटा सिम फेर्दै मान्छेलाई दिनहुँ तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सँदैन ।’ उनले उनीहरू वार्ताबाट भागेको आरोप लगाए । ‘वार्ताबाट भाग्ने कुरा ठिक होइन,वार्तामा आउँदा उहाँहरूले भन्ने र माग्ने कुरा केही पनि छैन,’ उनले भने,‘उल्टै भ्रम सिर्जना गरेर सरकारले वार्ता गर्न चाहेन भन्न मिल्छ ? ’


चन्द समूहले वार्तालाई नरुचाएको र उल्टै अनुचित कार्य गर्दै हिँडेको मन्त्री बास्कोटाले आरोप लगाए । ‘गैर संवैधानिक कार्य गर्दै हिँड्नुभयो, यसो गरेपछि नियन्त्रणमा लिने र निस्तेज गर्ने सरकारको काम हो ,सरकारले बल प्रयोग गरेको छैन,’ उनले भने,‘उहाँहरूलाई फेरी पनि अनुरोध छ, हिंसाको उन्माद समाजले अस्वीकार गरेको छ ।’


क्रान्तिका नाममा स्कुल बन्द गर्नु गलत रहेको उनले बताए । ‘आफैँ कुहिरीमण्डलमा हिँडेर अरूलाई भ्रम छ भनठान्नु गलत हुँदैन,’ उनले भने,‘वार्तामा आउनुस् रातो कार्पेट नै बिछ्याउला, तर फलानोलाई छाड, हामीमाथि निगरानी नगर भनी रहने, आफ्नो धन्दा गरी रहने, सबैलाई त्राहीमाम बनाउने, यो जंगलीराज अब चल्दैन ।’ उनी चन्द समूहले मच्चाउँदै आएको क्रियाकलाप प्रति कडा रूपमा प्रस्तुत भएका थिए ।


‘दुई तिहाइको सरकारको सिमलको भुवा होइन,यसो खस्ने, कता जाने कता जाने,’ उनले भने,‘यो यत्तिकै बनेको सरकार पनि होइन । हामीले सिर्जना गरेको हो । दुई तिहाइको सरकार बनाउन हामीले वातावरण सिर्जना गरेको हो । त्यसैले के गर्नुपर्छ देश र जननाकालागि सरकारलाई राम्रोसँग थाहा छ ।’ उनले चन्द समूहले मान्छे मार्दा क्रान्ति हुने तर सरकारले जथाभाबी गर्दा नियन्त्रणमा लिन खोज्दाखोज्दै झुक्किएर पर्‍यो भने त्योचाँही दमन हो भन्ने कुरा गलत रहेको बताए ।

प्रकाशित : असार १९, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?