१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हरियो स्टिकरका गाडी नै प्रदूषित

सीमा तामाङ

काठमाडौँ — सवारीमा हरियो स्टिकर टाँसेपछि बुझ्नुपर्छ, यो गाडीले प्रदूषण गर्दैन/बढाउँदैन तर वातावरण विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखाको संयुक्त अनुगमनले भेटाएको वास्तविकता फरक छ । स्टिकर टाँसिएका सवारीमध्ये ५७ प्रतिशत प्रदूषित देखिएका छन् । 

हरियो स्टिकरका गाडी नै प्रदूषित

पेट्रोलियम पदार्थबाट चल्ने सवारीको धूवाँ नै वायु प्रदूषणको मुख्य कारण भएकाले तीन वटै विभागको समन्वयमा अनुगमन गरिएको वातावरण निरीक्षक राजेश्वर पौडेलले बताए ।


‘प्रदूषणरहित भनेर स्टिकर टाँसिएका गाडी प्रदूषित देखिएका छन्, तिनमा पनि अधिकांशले नवीकरण गराएका छैनन्,’ उनले भने ।


गत चैत २१ देखि सुरु गरिएको अनुगमनअन्तर्गत असार १६ सम्म ३ हजार ५ सय १५ सवारी जाँचिएको छ । यसमा १ हजार ९ सय ९९ गाडी प्रदूषित भेटिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथको तथ्यांक छ । १ हजार ५ सय १८ सवारी मात्र जाँचमा पास भएका छन् । त्यसमा १ हजार ७ सय ७ डिजेल गाडीमध्ये १ हजार ८४ फेल भएका छन् । १ हजार ८ सय १० पेट्रोल गाडीमध्ये ९ सय १५ फेल भएका छन् । यसअनुसार पेट्रोलभन्दा डिजेलबाट चल्ने गाडी बढी प्रदूषित भएको देखिन्छ ।


सवारीको मापदण्डअनुसार डिजेल गाडीमा धूवाँको घनत्व ६५ प्रतिशतभदा कम हुनुपर्छ । पेट्रोल गाडीमा भने कार्बन मोनोअक्साइड ३ प्रतिशत, हाइड्रो कार्बन १००० पीपीएम (पार्ट्स पर मिलियन अर्थात् १० लाखमा हजार) हुनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सानाठूला सबै सवारीले अनिवार्य स्टिकर लिनुपर्छ । एउटा सवारीसाधनमा १ हजारभन्दा बढी हाइड्रो कार्बन भए त्यो प्रदूषित मानिन्छ । प्रदूषण मापन गर्दा मापदण्ड पूरा नगरेका सवारीले हरियो स्टिकर नपाउने नियम रहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।


स्टिकरको म्याद सार्वजनिक सवारीसाधनको हकमा ६ महिना र निजीमा १ वर्षसम्म लागू हुन्छ ।

‘हरियो स्टिकर लिइसकेपछि गाडीले प्रदूषण बढाउँदैन भन्ने होइन, समयसमयमा सर्भिसिङ नगर्दा

त्यसले प्रदूषण बढाउँछ,’ उनले भने । सानाठूला सवारीमा हरियो स्टिकर अनिवार्य गरिएको छ ।


हरियो स्टिकरबारे आम नागरिकलाई जानकारी दिन कुनै कार्यक्रम नगरे पनि यसबारे महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकालाई परिपत्र गरिसकिएको महानिर्देशक दाहालले जानकारी दिए । प्रदूषण जाँचेर स्टिकर दिँदा पनि उपत्यकामा यातायातबाट हुने प्रदूषण कम नभएकाले अनुगमनलाई निरन्तरता दिइएको ट्राफिक महाशाखाका प्रवक्ता वसन्तकुमार पन्तले बताए । अनुगमनमा प्रदूषित गाडी फेला परपछि उक्त गाडीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउने र हरियो स्टिकर लिन सम्बन्धित ठाउँ तोक्ने गरिएको उनको भनाइ छ ।


ट्राफिकले तीनमहिने अभियानअन्तर्गत उपत्यकाका चोकचोकमा दैनिक दुई घण्टा अनुगमन गर्दै आएको छ । स्टिकर नवीकरण नगरेका, स्टिकर लिइसकेपछि सर्भिसिङ नगरेका र अन्य जिल्लाबाट भित्रिएका निजी तथा सार्वजनिक सवारी अनुगमनमा पर्ने गरेका छन् ।


यातायात क्षेत्रबाट हुने प्रदूषण रोक्न विभागले हरियो स्टिकरको व्यवस्था गरेको हो । तर पनि दक्ष जनशक्ति र उपकरणको अभावले व्यवस्थित बनाउन नसकिएको विज्ञहरूको टिप्पणी छ । ‘यातायात व्यवस्था विभागको काम यातायात क्षेत्रलाई व्यवस्थित गर्ने हो,’ वातावरणविद् भूषण तुलाधर भन्छन्, ‘तर विभागले लाइसेन्स वितरणमा मात्र जोड दिएको छ ।’


हरियो स्टिकर लिन गाडीसँगै सवारी चालक पनि लाइन बस्नुपर्छ । तर बिचौलियाका माध्यमबाट स्टिकर लिँदा घरमै आइपुग्ने अवस्थाले प्रदूषण नियन्त्रण हुन नसेको उनको बुझाइ छ ।


त्यसैले हरियो स्टिकर प्रणालीलाई प्रभावकारी बनाउन गरिएको अनुगमनबाट खासै गतिलो नतिजा आउन नसकेको उनले बताए ।


विदेशमा जस्तो नेपालमा पनि यातायात विभागले सरकारी मान्यताप्राप्त वर्कसपलाई हरियो स्टिकरको जिम्मा दिएर विभागले अनुगमन मात्र गर्ने हो भने प्रदूषण र स्टिकर दुवै व्यवस्थित हुने उनको भनाइ छ । ‘उपत्यकामा ८० प्रतिशत दुईपांग्रे सवारीसाधनले पनि प्रदूषण गर्छन्,’ तुलाधारले भने, ‘यस्ता सवारीका लागि पनि नियमकानुन ल्याउनुपर्छ ।’


प्रदूषण कम गर्न सार्वजनिक सवारीलाई विस्तारै विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्ने उनले बताए ।

प्रकाशित : असार २०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?