कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मापसेको आरोपमा एसपीको सरुवा

गोरखा — कार्यालय समयमै मदिरा पिएर गैरजिम्मेवार देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल सरुवा गरिएका छन् । उनलाई ६ नम्बर प्रदेश कार्यालय पठाइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले बताए । गोरखामा महानगरीय अपराध महाशाखाका एसपी ओम अधिकारीलाई खटाइएको छ । 

डीआईजी घिमिरेका अनुसार जिल्लाको शान्ति सुरक्षाबारे जानकारी लिन बुधबार टेलिफोन गर्दा एसपी रावल सम्पर्कमै आएनन् । खोर्लाबेंसीका व्यापारी धनकमल गुरुङ सम्पर्कविहीन भएको विषयमा जानकारी लिन टेलिफोन गरेको उनले बताए । ‘लुटपाट भएको छ, मान्छे कहाँ छन् पत्तो छैन, लोकेसन पत्ता लगायौं भनेर भन्थे, दुई/तीन दिन काम पनि राम्रै भइरहेको थियो,’ उनले भने ।


बुधबार पटकपटक फोन गर्दा पनि रिसिभ नभएको घिमिरेले बताए । ‘दुई/तीन दिनदेखि सम्पर्क भएको थिएन, बुधबार १० बजेतिर गरेको फोन उठेन, सञ्चारमा फोन गरेर सम्पर्कमा आउन भनें,’ उनले भने, ‘केही बेरपछि फोन आयो तर मैले सोच्दै नसोचेको तवरले कुराकानी गर्न थाल्नुभयो, आश्चर्यमा परेँ ।’ एसपी रावलले गालीगलौजसमेत गरेको घिमिरेको दाबी छ । ‘जे जे मन लाग्यो बोल्नुभयो,’ उनले भने । घिमिरेले तत्काल निरीक्षणका लागि भन्दै एसएसपी हरिराज वाग्लेको नेतृत्वमा टोली खटाए । ‘यताबाट निरीक्षणका लागि टोली पुग्दा पनि निवासमा मापसे गरिरहेको अवस्थामा भेटियो,’ उनले भने, ‘गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर जाँच भयो, रिपोर्टले मापसे गरेको प्रमाणित पनि भइसकेको छ ।’


जिल्ला प्रहरी प्रमुख नै यस्तो अवस्थामा भेटिनु दुःखद भएको उनको भनाइ छ । यसबारे प्रहरी प्रधान कार्यालयमा लिखित जानकारी गराएपछि रावलको सरुवा भएको हो । एसपी रावलले भने काज सरुवाको पत्र आइसकेको बताए । ‘अरू विषयमा अहिले केही बोल्दिनँ,’ उनले भने ।

प्रकाशित : असार २०, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?