कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

असारे विकासको चटारो : झरीमै कालोपत्रे

(धनकुटा) — सिमसिम पानी परिरहेको छ । सँगै सडक कालोपत्रे पनि धमाधम गरिँदै छ । पानीका कारण रोलरले थिचिरहेको अलकत्रा सेलाएपछि राम्ररी टाँसिनसमेत पाएको छैन । 

असारे विकासको चटारो : झरीमै कालोपत्रे

यो दृश्य हो, छथरजोरपाटी गाउँपालिकाको जोरपाटी–काजीमाने–तेलिया–त्रिवेणी सडकमा पर्ने देउराली खण्डको । मध्यअसारबाट थालिएको काम अन्तिममा सक्नुपर्ने भएपछि निर्माणको जिम्मा पाएको कम्पनी र प्राविधिकले गुणस्तरको ख्यालै नगरी काम सक्ने हतारो गरेका हुन् । जटेश्वर भगवती जेभी कन्स्ट्रक्सनले यो सडक कालोपत्रेको जिम्मा लिएको छ ।


१९ सय मिटर लम्बाइ र ५ मिटर चौडा सडकमा कालोपत्रेको जिम्मा लिइएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । प्रदेश सरकारबाट प्राप्त १ करोड ३५ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे थालिएको हो । सडकको नाली अव्यवस्थित छ भने कालोपत्रेको काम स्तरहीन रहेको स्थानीय मानबहादुर बस्नेतले गुनासो गरे ।


पानी परिरहेका बेला कालोपत्रे गरिएपछि यसको काम कति स्तरीय छ भन्ने प्रस्टै हुने उनको भनाइ छ । अन्तिम समयमा बजेट आएकाले टेन्डर प्रक्रिया र अन्य प्राविधिक कारणले ढिलाइ भएको अध्यक्ष लिम्बूले बताए । ‘सकेसम्म स्तरीय बनाउन हामी निगरानी गर्दै छौं,’ उनले भने, ‘बजेट निकासामा भएको ढिलाइकै कारण आर्थिक वर्षको अन्तिममा काम गर्नुपरेको हो ।’


छथरजोरपाटी गाउँपालिकाका मात्र होइन, यतिबेला सबैजसो स्थानीय तहमा असार मसान्तसम्ममा सकिनुपर्ने सडकको काम धमाधम छ । असारे विकासका क्रममा निर्माण भइरहेका योजनामा कतिपय स्थानीय तह र धेरैजसो प्रदेश सरकारबाट विनियोजित बजेट खर्चिइँदै छ । असार मसान्तभित्र निर्माण सम्पन्न गरिनुपर्ने १४ करोड रुपैयाँभन्दा बढीको काम अन्तिम समयमा भइरहेको छ । करोडौं रुपैयाँको बजेटको काम आर्थिक वर्षको अन्तिम समयमा सिध्याउनुपर्ने हतारोका कारण गुणस्तरमा स्थानीयले शंका गरेका छन् ।


पाख्रिबास नगरपालिका ६ स्थित फलाटेंमा भइरहेको सडक सोलिङको काम पनि स्तरहीन रहेको स्थानीयको गुनासो छ । नमस्ते कन्स्ट्रक्सनले जिम्मा लिएको उक्त सडकमा बिछ्याइएको ढुंगा प्राविधिक रूपमा ठीक नभएको स्रोतको दाबी छ ।


अन्तिम समयमा काम सक्नैपर्ने भएपछि सोचेअनुसार नभएको निर्माण कम्पनीका प्रतिनिधि हरि गौतमले स्विकारे । नगरपालिकाको अधिकांश सडक निर्माणको काम सकिएको छ नगरपालिकाका उपप्रमुख देवकला पौडेलले बताइन् । तर असार अन्तिमभित्र सक्नुपर्ने सान्ने, फलाटें र चुङमाङ क्षेत्रमा सडकको काम भइरहेको उनले बताइन् । चुङमाङ–धर्मशाला–गम्भीरेमा ८ किमि सडकको सोलिङ भइरहेको छ ।


यता धनकुटा नगरपालिकामा पनि सडक निर्माणको काम धमाधम जारी छ । यसअन्तर्गत प्रदेशबाट प्राप्त १ करोड १६ लाख बजेटबाट कागते–पारिपात्लेमा कालोपत्रे काम भइरहेको नगर प्रमुख चिन्तन तामाङले बताए । यस्तै भीरगाउँमा ४० लाख बजेटमा सडक निर्माणको काम जारी छ । महालक्ष्मी नगरपालिकामा चालु आर्थिक वर्षमा सकिनेभन्दा क्रमागत योजनाको सडक निर्माण भइरहेको नगर प्रमुख परशुराम नेपालले बताए । तर लेगुवा–जितपुरको १३ किमि सडकको काम जारी छ । उक्त सडकका लागि १ करोड केन्द्रीय बजेट र १ करोड नगरपालिकाको बजेट छ । धेरै ढिलो बजेट आएकाले सोचेअनुसार काम गर्न कठिनाइ भएको उनले गुनासो गरे ।


सहिदभूमि गाउँपालिकाको हिले–छिन्ताङ–त्रिवेणी सडकको सुकेआहाल खण्डमा ८ सय मिटर कालोपत्रेको काम भइरहेको छ । प्रदेश सरकारबाट प्राप्त १ करोड ३५ लाख बजेटले कालोपत्रे थालिएको पालिका अध्यक्ष मनोज राईले बताए । मूलघाट–त्रिवेणी सडकमा ग्राभेलको काम भइरहेको छ । यसैगरी चौबीसे तथा साँगुरीगढी गाउँपालिकामा पनि सडकको काम भइरहेको छ ।


प्रदेशबाट प्राप्त १ करोड ३५ लाख बजेटमा कुरुले–लाप्से–सडक निर्माण भइरहेको चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । साँगुरीगढीका अध्यक्ष कुमारजंग याखाले भने आफ्नो पालिकामा के कति सडक निर्माण भइरहेको छ भन्ने जानकारी नभएको बताए । तर असार मसान्तभित्र सक्नुपर्ने केही सडकको काम जारी रहेको उनको भनाइ छ ।


प्रकाशित : असार २१, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?