कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोरङ एकै दिन साक्षर र खुल्ला दिसामुक्त घोषणा

देवनारायण साह

मोरङ — एउटै मञ्चबाट मोरङ साक्षर र खुल्ला दिसामुक्त जिल्ला शनिबार घोषणा भएको छ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मोरङलाइ साक्षर र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका छन् । साक्षरता अभियान जिल्ला समन्वय समिति मोरङको असार ३ गतेको निर्णय अनुसार मन्त्री पोखरेलले मोरङलाई मुलुकको ५१ औँ साक्षर जिल्ला घोषणा गरेका हुन् । 

मोरङ एकै दिन साक्षर र खुल्ला दिसामुक्त घोषणा

जिल्लामा साक्षरता कार्यक्रमले लक्षित गरेको १५ देखि ६० वर्ष उमेर समूहका ५ लाख ५९ हजार २ सय २८ जनसंख्यामध्ये १ लाख ७५ हजार २ सय ६५ निरक्षर रहेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए ।


२०६७ सालदेखि जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा, राष्ट्रिय साक्षरता अभियान, साक्षर नेपाल अभियान, सघन साक्षरता कार्यक्रमले हालसम्ममा १५ देखि ६० वर्ष उमेर समूहका ९६.५९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि उक्त घोषणा गरिएको हो । २०६८ को जनगणना अनुसार जिल्लामा ९ लाख ६५ हजार ७ सय ३० जनसङ्ख्या रहेको छ ।


यस्तै, जिल्लास्थित २ लाख २ हजार ८ सय २० घरधुरीमा शौचालय निर्माण भई प्रयोग गर्न थालेपछि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले मोरङलाई मुलुकको ६६ औँ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेको हो ।


स्थानीय तहलाई शिक्षामा हस्तक्षेप नगर्न आग्रह

मन्त्री पोखरेलले स्थानीय तहलाई शिक्षामा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । ‘स्थानीय तहले विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गर्न मिल्दैन,’उनले भने,‘भौतिक संरचना लगायतको अभावबीच पठनपाठन सञ्चालन गरिरहेका शिक्षकलाई गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा स्थानीय तहको सहयोग आवश्यक छ ।’


स्थानीय तहलाई अनावश्यक आफ्ना मान्छेसमेत विद्यालयमा भर्ना गरेर शैक्षिक वातावरण नबिगार्न पोखरेलले आग्रह गरे । उनले प्रदेशस्तरीय र स्थानीय तह स्तरीय शिक्षा सम्मेलन गरेर शैक्षिक माहौल निर्माण गर्न सुझाव दिए ।


संघीय सरकारले मुलुकका केही विद्यालय आफ्नो मातहत राखेर १ हजार विद्यालयको निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने उनको भनाई थियो । ‘मुलुकमा ९ प्रतिशत मात्रै रहेको प्राविधिक शिक्षाको विस्तारमा सरकारको ध्यान केन्द्रित भएको छ,’ उनले भने,‘कालोपाटीमा पढाएको प्राविधिक शिक्षाको काम नरहेकोले आधुनिक किसिमको प्रयोगशालाका साथै प्राकृतिक प्रयोगशालामा विद्यार्थीलाई अध्ययन गराएर सीप र ज्ञान प्रदान गर्नु अहिलको आवश्यकता हो ।’


पोखरेलले मुलुकमा अस्थायी शिक्षकहरूको समस्या समाधान भएकोले अब योग्य शिक्षकलाई मात्रै शिक्षक सेवा आयोगले भर्ना गर्ने स्पष्ट पारे ।


यसै वर्ष मुलुकलाई साक्षर घोषणा गर्ने उद्देश्यले काम अघि बढाएको मन्त्री पोखरेलले बताए । ‘साक्षरता कायम राख्नका लागि साक्षर जिल्ला घोषणा भएका जिल्लाहरूले विद्यालय बाहिरका विद्यार्थीलाई विद्यालयमा ल्याउनु अहिलेको प्रमुख चुनौती छ,’उनले भने,‘साक्षरतासँगै शिक्षित जिल्लाको अभियान सुरु भइसकेकोले त्यतातिर लाग्न जिल्ला समन्वय समिति र स्थानीय तहहरुलाई आग्रह छ ।’


खुल्ला दिसामुक्त घोषणासँगै पूर्ण सरसफाइ युक्त अभियान सुरु भइसकेको पोखरेलको भनाई थियो । ‘सरसफाइ युक्त वातावरणमा बस्न सबैमा व्यवहार परिवर्तन गर्न सक्ने अभियान अहिलेको आवश्यकता हो,’उनले भने,‘खुल्ला दिसामुक्त घोषणा गरेर चित बुझाइयो भने पुनः खुल्ला दिसा हुन थाल्नेतर्फ सबैलाई सचेत हुन आग्रह छ ।’


अब कम्प्युटर साक्षरता

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेको प्रविधि युगमा कम्प्युटर शिक्षा प्राप्त नगर्ने व्यक्ति निरक्षर सरह नै भएको बताए । ‘अब यस प्रदेशका प्रत्येक नागरिकलाई कम्प्युटर शिक्षा प्रदान गर्छौँ,’उनले भने,‘ई एजुकेसन कक्षामार्फत कम्प्युटर शिक्षाको अभियान सुरु गरिसकेका छौँ ।’


उनले खुल्ला दिसामुक्तले मात्रै नहुने भएकोले प्रदेशभरका प्रत्येक सार्वजनिक स्थल र कार्यालयको शौचालय पस्न र बस्न लायकको अवस्थामा राख्न निर्देशन दिए ।

प्रकाशित : असार २१, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?