२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक

विमल खतिवडा

काठमाडौँ — ठेक्का सम्झौता सकिँदासमेत राजधानीका अधिकांश सडक निर्माण भएका छैनन् । के हिउँद, के बर्खा, स्थानीय सधैंको सास्ती खेप्न बाध्य छन् । पानी परे हिलोले हिँडिसाध्य हुन्न । परेन भने सामान्य मास्कले समेत नथेग्ने गरी धुलो उड्छ । 

ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक

बर्खामा सडक झनै अस्तव्यस्त हुने गरेको छ । वर्षा सुरु भएसँगै यस वर्ष पनि निर्माणाधीन अधिकांश सडक जलमग्न बन्न थालेका छन् । व्यस्त र भित्री सडक हिलाम्मे छन् । यसले जामको समस्या पनि थपिने गरेको छ । असारे चटारोले कतिपय स्थानका सडक निर्माणले तीव्रता पाएका छन् ।


बूढानीलकण्ठ नगरपालिकाको भंगाल क्षेत्रको सडक अहिले हिलाम्मे छ । नाली बनाउन जथाभावी सडक भत्काइँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको छ । ग्राभेल गर्न ठाउँठाउँमा थुपारिएका ढुंगा, गिट्टीले जामको समस्या थप बढेको छ ।


भंगाल क्षेत्रको सडक त यहाँ प्रतिनिधि उदाहरण मात्र हुन् । राजधानीमा यस्ता कैयौं सडक छन्, जो निर्माण सुरु भए पनि वर्षौंदेखि पूरा नहुँदा अलपत्र अवस्थामा छन् । अहिले सबभन्दा ठूलो समस्या ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङगाउँ–लेले तिलेश्वर सरस्वतिकुण्ड खण्डमा देखिएको छ । त्यहाँ निर्माणले गति लिन सकेको छैन । स्थानीय आक्रोशित छन् । चार खण्डमा विभाजन गरेर ठेक्का लगाइएको सडकको काममा कुनै प्रगति हुन सकेको छैन । बर्खामा हिलो र हिउँदमा धुलोले स्थानीय आक्रान्त छन् । यो सडकका ४ चार खण्डमध्ये दुई खण्डको ०७३ जेठ २५ र २६ गते, थप दुई खण्डको ०७४ साउन ११ मा ठेक्का सम्झौता भएको हो । तर यिनको ठेक्काको अवधि सकिइसकेको छ ।


‘यी खण्डमा काम हुँदैन, ठेक्का नै क्यान्सिल गर्नुपर्छ,’ उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘सडकमा पर्ने घर भत्काउनुपर्ने भएकाले काम गर्न सकिएन ।’ ३ सयभन्दा बढी घर पर्ने भएकाले भत्काएर काम गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘पटकपटक ठेक्का नै क्यान्सिल गरौं भन्दै आएका छौं, सायद अब त्यसै हुन्छ,’ उनले भने । ठेक्का क्यान्सिल भए फेरि ठेक्का नयाँ लगाउनुअघि घर भत्काउने सहमति गर्नुपर्ने उनले बताए ।


०७२ सालमा ठेक्का भएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक निर्माण अझै सकिएको छैन । चार खण्डमध्ये दुई खण्डको ७०/७० प्रतिशत, अन्यको ६७ र ८० प्रतिशत काम सकिएको आयोजनाले जानकारी दिएको छ । निर्माण सुरु गरेर समयमै पूरा नहुँदा बर्खामा सबैभन्दा बढी समस्या हुने स्थानीय बताउँछन् । सबभन्दा बढी सवारी चाप हुने चाबहिल र नागढुंगा खण्डको सडक निर्माण अझै नसकिँदा यात्रु सास्ती खेप्न बाध्य छन् ।


‘त्रिपुरेश्वर–नागढुंगा सडकखण्डको ७७ प्रतिशत काम सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सोल्टीमोड खण्डमा अवरोध गरिएकाले फाइनल पिच हुन पाएको छैन । ढल खानेपानीको समस्या छ, कलंकीबाट साढे ३ किमि नागढुंगातर्फ पहिलो तहकै पिच हुन सकेको छैन ।’ ढल हाल्न नपाएका कारण पिच हुन नसकेको हो । ‘केही ठाउँमा मात्र थोरै बाँकी छ, नत्र पहिलो तहको पिच करिब करिब सकियो,’ उनले भने, ‘दोस्रो तहको पिचको काम सुरु भएको छ ।’ फुटपाथको काम भने बाँकी छ ।


मंसिरसम्म उक्त सडक निर्माण पूरा गरिने उनले दाबी गरे । ठेक्का सम्झौता अवधि सकिए पनि समय थपिएको छ । ०७५ असोज, कात्तिक, पुस र फागुनमा चारै खण्डको ठेक्का अवधि सकिएको हो । ०७६ असारसम्म समय थपेर काम जारी राखिएको छ ।


यता चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्डमा ५० प्रतिशत मात्र काम भएको छ । यो खण्डमा पानी पर्नासाथ सडक जलमग्न हुन्छ । हिलोले सडक वारपार गर्न समस्या छ । घाम लाग्दा धुलोले मान्छे चिन्न गाह्रो पर्छ ।


‘यो खण्डमा पनि काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘फागुन–चैतसम्म पूरै प्याकेज सकिन्छ ।’ यसअघि असारसम्म सबै काम सकिने दाबी आयोजनाको दाबी थियो । यो खण्डमा स्थानीयको अवरोध, ढल, विद्युत् र टेलिफोनका पोलले पनि समस्या निम्त्याएको आयोजनाको भनाइ छ । ठेकेदारले समयमै काम नगर्दा समस्या भएको स्थानीयको गुनासो छ । कपन खण्डमा चारवटा सडक स्तरोन्नतिका क्रममा छन् । ‘स्थानीय तहको निर्वाचनअघि पनि यही सडककै समस्या थियो, अहिले पनि यही समस्या छ,’ श्रेष्ठले भने, ‘ठेकेदारलाई चाँडो काम सक्नभन्दा गायब हुन्छन्, हिउँदमा काममा गर्न आलटाल गर्छन् ।’


प्रकाशित : असार २२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?