लिबिया आक्रमण : बाटो हेर्दै भक्कानिन्छन् सन्तोषका बा–आमा

आश गुरुङ

(चिती तीनपिप्ले, लमजुङ) — बिवामाया आँखाभरि आँसु लिएर भित्र–बाहिर गरिरहन्छिन् । मन ठेगानमा छैन । अवाक् भएर घरी पति सोमप्रसादछेउ बस्छिन्, घरी एक्लै ढोकामा अडिन्छिन् । 

लिबिया आक्रमण : बाटो हेर्दै भक्कानिन्छन् सन्तोषका बा–आमा

लिबियामा बम आक्रमणमा परी निधन भएका छोरा सन्तोष श्रेष्ठबारे सोध्न बुबा सोमप्रसादको मोबाइलमा घण्टी बज्छ । फोन उठाउँछन्, कुरा गर्न सक्दैनन् । घाँटी अवरुद्ध हुन्छ । पत्नी बिवामाया, छोरी सुनीता र कान्छो छोरा सन्दीप सँगै भक्कानिन्छन् ।


‘मलाई अझै विश्वास छैन, बुबा भनेर बोलाउँदै आउँछ कि झैं लाग्छ, बाटो हेरिरहेको छु,’ सोमप्रसादले आँसु पुछ्दै भने, ‘सोच्दै नसोचेको घटना भयो । अरू सबै फर्किंदा मेरो छोरो फर्केन, किन फर्कन दिएनन् ? किन त्यही ठाउँमा लगेर राख्नुपर्‍यो ? त्यहाँ लाने को हो ?’


सोमप्रसाद दोर्दी ९, हिलेटक्सारस्थित बराहमिलन आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । ‘मैले नजा त भनेको हुँ, पैसा बढी कमाउने लोभमा गयो,’ उनी भन्छन्, ‘पैसा कमाएर सबै ऋण तिर्छु र आमाबुबाको सेवा गर्छु भन्थ्यो ।’

लिबियाको त्रिपोलीनजिकै आप्रवासी तथा शरणार्थी शिविरमा मंगलबार राति द लिबियन नेसनल आर्मी (एलएनए) ले हवाई आक्रमण गर्दा ४० जनाभन्दा बढीको मृत्यु भयो । त्यही घटनामा बेंसीसहर–११, चिती तीनपिप्ले सानो हटियाका २७ वर्षीय सन्तोषले ज्यान गुमाएका हुन् ।

चितीकै जनकल्याण माविमा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं गएका सन्तोष १२ कक्षा पास गरेर मलेसिया गएका थिए । त्यहाँ ३ वर्ष बसे । त्यसपछि १८ महिना कतार बसे । गएको दसैंमा घर आएका उनी तिहार मानेर काठमाडौं गए । लमजुङकै भोटेओडार घर भएका भनिएका सुसन घिमिरे अधिकारीमार्फत लिबिया जान उनी माघ पहिलो साता भिजिट भिसामा दुबई गए । दुबईमा करिब एक महिना बसेर लिबिया उडे । सुसनले ५ जनालाई दुबई पठाएका थिए । जसमा चितीकै दिनेश बस्नेत पनि थिए । दिनेश नाताले सुसनका साला हुन् । लिबिया लाने सेटिङ भइरहँदा सन्तोष कास्कीको मादी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनामा समेत काम गर्न पुगे । त्यहाँ २५ हजारको जागिर पाए पनि महिनाको डेढ लाखदेखि २ लाखसम्म पाउने प्रलोभनमा उनी काठमाडौं हिँडे । ‘ऊसँग २/३ लाख थियो, मैले यताउता खोजखाज गरेर १० लाख दिएको हुँ,’ सोमप्रसादले भने, ‘लिबिया त पुगें, सुरक्षित छैन, इटाली जाने हो भन्दै थप २ लाख पठाउन भन्यो । मैले गाउँकै राजेन्द्र प्रजापतिमार्फत पठाएँ । पैसा त सकियो सकियो, अहिले मान्छे नै सकियो ।’


सन्तोषले पैसा पाएको भाइको फेसबुक म्यासेन्जरमा जेठ पहिलो साता जानकारी गराएका थिए । तनहुँको डुम्रेमा बस्ने माइली बहिनी अनिता र पुर्कोट बस्ने कान्छी बहिनी सुनितासँग पनि जेठ पहिलो सातातिर म्यासेन्जरमा कुरा भएको थियो । बुबा सोमप्रसादसँग उनले इटाली जाने र त्यहाँ नपुगुन्जेल २/३ महिनासम्म सम्पर्क नहुन सक्ने बताएका थिए । परिवारका अनुसार सन्तोषसहित ५ जना र विभिन्न मितिमा लिबिया पुगेका ४ जना गरी ९ जनालाई बंगाली एजेन्टले इटाली छिराउन खोज्दै थिए । अवैध रूपमा समुद्रको बाटो हुँदै इटाली छिराइदिने बताएपछि सन्तोषले २ लाख माग गरेको सोमप्रसादले बताए । ‘आफूसँग पनि २ लाख थियो रे, गाउँबाट पठाएको पनि गरेर साथीभाइको समेत गरी एजेन्टलाई दिएका रे,’ काकी विष्णुकुमारीले भनिन्, ‘सबैलाई राम्रो होस् भनी अरूको खर्च पनि आफैंले व्यहोरे । अरू सबै फर्किए, हाम्रो बाबु फर्केन ।’


सन्तोष क्याम्पभित्रै रहेका बेला बम–बारुदको वर्षा भयो । उनलाई अस्पताल लाँदै गरेका तस्बिर लिबियामा रहेका एक जनाले लेबनानको शान्ति सेनामा रहेका कृष्णकुमार श्रेष्ठलाई पठाए । श्रेष्ठ चितीकै हुन् । उनले आफ्नी पत्नी शीलालाई बुधबार राति १० बजेतिर जानकारी गराए । त्यसपछि सञ्चारमाध्यम र छिमेकीले बम आक्रमणमा सन्तोषको निधन भएको खबर परिवारलाई सुनाएको जेठीआमा गौरीमायाले बताइन् । श्रेष्ठ परिवारका अनुसार शव ल्याउन गाउँले दाजुभाइले काठमाडौं गएर पहल गरिररहेका छन् ।

प्रकाशित : असार २२, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?