कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घट्दै पानीको सतह

हाते बोरिङमा पानी आउन छाडेपछि रोहिणी नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ठूला पम्पसेट र डिप ट्युबवेलबाट पानी निकाल्न बन्द गराइदिन प्रहरीलाई अनुरोध गरेको छ ।

(रूपन्देही), (कपिलवस्तु) र (पश्चिम नवलपरासी) — तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको छ । कम वर्षा र चुरेको फेदीमा बढेको तीव्र्र बस्ती विकासले जमिनमा पानी सञ्चय हुनै छाडेको छ । जमिनमुनि पानीको सतह घट्दै गएपछि तराईका अधिकांश हातेपम्पमा पानी सुकेको छ । मझौला र डिप बोरिङको प्रयोगबाट जमिन सिँचाइ गरेर खेती गर्ने किसान पनि समस्यामा पर्न थालेका छन् । 

घट्दै पानीको सतह

पहिले वर्षातको समयमा २०/२५ फिटमै जमिनमुनिको पानी भेटिने गरेकामा अहिले १ सय ५० फिटसम्म तल पुगिसकेको स्थानीय बताउँछन् । जमिनमुनि पानीको सतह बर्सेनि २/३ फिटसम्म तल झर्दै गएको र पछिल्लो ७ वर्षमा ५ मिटरसम्म तल पुगिसकेको उनीहरूको भनाइ छ ।


चुरे क्षेत्रमा विनाश बढ्दो छ । जथाभावी चुनढुंगा उत्खननले चुरे क्षेत्रका डाँडामा भूक्षय हुने गरेको छ । वन विनाशसमेत भइरहँदा नियन्त्रणका लागि राज्यले ठोस पहल गरेको छैन । चुरेको डाँडाबाट बग्दै जमिनमा पुग्ने पानीलाई बस्ती विकासका क्रममा बनेका कंक्रिट भवन र कालोपत्रे सडकले खोलामा मिसाइदिने गरेको छ र पानी सोझै बगेर जान्छ, जमिन सिञ्चित हुन सक्दैन ।


भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका हाइड्रोजियोलोजिस्ट प्रकाश ज्ञवालीले चुरे क्षेत्रको विनाश र खेतीयोग्य जमिनको प्लटिङको प्रभाव भूमिगत पानीमा परेको बताए । ‘जमिनमा पानी रिचार्ज हुनै छाडेको छ,’ उनले भने, ‘रिजार्चका लागि जमिन खाली छैन ।’ उनका अनुसार १० वर्षअघिसम्म चुरे क्षेत्रबाट बग्दै आएको पानी फेदमा रहेको हजारौं बिघा जमिनमा फैलिन्थ्यो । हप्तौं झरी पर्थ्यो । पानी जमिनमुनिको सतहमा जम्मा हुन्थ्यो ।


जमिनमुनिको पानीको सतह घट्दै गएपछि रूपन्देहीका रोहिणी, सियारी, शुद्धोधन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका गाउँमा खानेपानी अभाव भएको छ । किसानले सिँचाइ अभावमा धान रोप्न सकेका छैनन् । हाते बोरिङमा पानी आउन छाडेपछि रोहिणी नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ठूला पम्पसेट र डिप टयुबवेलबाट पानी निकाल्ने काम बन्द गराइदिन प्रहरीलाई अनुरोध गरेको छ । ‘जनता खानेपानी नै नपाएर समस्यामा परे,’ गाउँपालिका प्रमुख सनोजकुमार यादवले भने, ‘त्यसैले अहिले डिप बोरिङ र मझौला बोरिङबाट पानी निकालेर रोपाइँ गर्ने काम बन्द गराएका छौं ।’


भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर वेदप्रकाश त्रिपाठीका अनुसार रूपन्देहीमा मात्र मझौला र डिप गरी झन्डै ५ सय बोरिङ छन् । त्यस्ता बोरिङले १ सयदेखि २ सय ५० फिटसम्म तलबाट पानी तान्ने गरेका छन् । त्यसले खानेपानीका लागि प्रयोग गर्ने स्यालो ट्युबेलमा पानी सुक्दै गएको छ । नवलपरासीको रामग्राम–१, सन्डाका किसान सनन्दन चौधरीले ५ वर्षअघिसम्म सिँचाइका लागि डिप बोरिङ चलाउँदा पनि हाते बोरिङमा नियमित पानी आउने गरेकामा अहिले एउटा डिप बोरिङ चल्दा आसपासका गाउँभरिकै हाते बोरिङ सुक्ने गरेको बताए । ‘खोलामा पानी छैन,’ उनले भने, ‘खानेपानी पनि धौधौ भयो ।’ अलिकति पानी भएको खोलामा १ सय मिटरमा २० भन्दा बढी पम्पसेट लगाउने गरिएको उनले बताए ।


बन्द भए चापकल

भूमिगत पानीको सतह घटेपछि कपिलवस्तुका अधिकांश बस्तीका चापाकल (हाते बोरिङ) सुक्खा छन् । ठूलै धारो आउने बोरिङबाट पानीको थोपा खस्दैन । प्रत्येक वर्ष चैतदेखि जेठसम्म हाहाकार हुन्छ । ढिलो मनसुनले यसपालि असार मध्यसम्म पानी संकट छ । नदीजन्य पदार्थको अनियन्त्रित दोहन र वन विनाशले असर गरेको संरक्षणकर्मीहरू बताउँछन् ।


उत्तरी क्षेत्रका वाणगंगा, मोतीपुर, महेन्द्रकोट, गजेहडा, दुविया, पत्थरकोट र शिवगढीलगायत ठाउँमा चापाकल सुकेका छन् । ‘८/१० वर्षदेखि समस्या भइरहेको थियो,’ जितपुरका दीपक पन्थीले भने, ‘झन् विकराल बन्दै गयो ।’ दोहन न्यूनीकरण र वातावरणीय सचेतना जरुरी भएको उनले बताए । यहाँका बोरिङ, इनार र पानीको मूल सुकेका छन् । वाणगंगा नगरपालिका–६, मनोहरापुरमा ५ वर्षअघि बाह्रैमास जमिनमुनिबाट पानी आउँथ्यो । अहिले बोरिङ सुकेको स्थानीय गीता पोखरेलले बताइन् । ‘अचेल गर्मी चढ्यो कि थोपा खस्दैन,’ उनले भनिन् ।


वर्षाको पानी बगेर जाँदा र वाष्पीकरण हुन नपाउँदा जमिनको भित्री सतहमा पानी संकलनमा कमी आइरहेको विज्ञहरू बताउँछन् । ‘पानीको सञ्चितीकरणमा ध्यान दिइँदैन,’ सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख नेत्र बोहराले भने, ‘खपत बढी हुँदा समस्या बढेको हो ।’ सञ्चितीकरण योजना नबनाउने हो भने २/३ वर्षमै जटिल अवस्था आउने उनले बताए । चुरे क्षेत्रको संरक्षण, वृक्षरोपण र विभिन्न स्थानमा पानी संकलन कार्य थालनी गर्न आवश्यक रहेको उनले सुझाव दिए । तराईमा जलवायु परिवर्तनको असरले पानीको सतह सुक्दै गएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन सान्डिल्यले बताए । ‘भूमिगत जलको स्रोत सुक्नुको मुख्य कारण वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित दोहन हो,’ उनले भने । चुरेको पानी सोस्ने शक्ति घट्दै जाँदा समस्या बढेको वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख रामकृष्ण घोरासैनीले बताए ।


रोपाइँको चिन्ता

असार दोस्रो साता किसानका लागि रोपाइँको चटारो हुने समय हो । पश्चिम नवलपरासीका किसानलाई भने धान रोप्नुभन्दा पनि सिँचाइका लागि पानी जोहो कसरी गर्ने भन्ने चिन्ता छ । आकाशे पानी समयमा नपर्दा अधिकांश किसानले यस वर्ष धान रोप्न पाएका छैनन् । भूमिगत जलसिँचाइ परियोजनामार्फत केही स्थानमा बोरिङबाट सिँचाइ गरे पनि गत वर्षमा जस्तो पानी आएको छैन । पम्पसेटबाट कुलो र खोलाको पानी तानेर सिँचाइ गर्नुपर्ने अवस्था छ । पाल्हीनन्दन–२ का रेशम चौधरीले ५ सय मिटर टाढाबाट कुलोको पानी पाइपबाट तानेर खेतमा रोपाइँ गरेको बताए । परासीमा पनि भूमिगत जलस्रोतका धारा र बोरिङमा पानी आउन छाडेको छ ।


प्रकाशित : असार २२, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?