कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीनमा म्यानपावर र कामदार युवतीबीच वार्ता

लक्ष्मी लम्साल

बेइजिङ — चीनको उत्तरपूर्वी ल्याउनिङ प्रान्तको ताङतोन सहरस्थित गार्मेन्ट कारखानामा अलपत्र परेका भनिएका ४४ नेपाली युवतीहरूको अवस्था बुझ्नका लागि सम्बन्धित म्यानपावर कम्पनी चीन आइपुगेको छ। शनिबार राति उत्तर कोरियाको सीमावर्ती सहर तानतोङ पुगेको काठमाडौं गौशाला, पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट म्यानपावरका २ जना प्रतिनिधि विवाद मिलाउनका लागि गार्मेन्ट कारखाना पुगेका हुन्।

गत मे १२ तारिखदेखि एक महिना काम गरेका युवतीहरू अहिले काम छोडेर गार्मेन्टकै परिसरमा बसिरहेका छन्। भनेअनुसार काम नभएको, तोकेअनुसारको तलब नभएको र सम्झौताभन्दा बढी काम लगाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। एक महिनाको तलव पाएपछि उनीहरूले तलब कम भएको थाहा पाएका थिए भने कपडा प्याकिङको सट्टा मेशिन चलाउनुपर्ने, ८ घण्टा भनेपनि ११ घण्टासम्म काम गर्नुपरेको भन्दै उद्धारका लागि बेइजिङस्थित नेपाली राजदूतावास र म्यानपावरलाई गुहारिरहेका थिए।


आइतबारको वार्तामा उनीहरू अधिकांशले मेशिन चलाउनुपर्ने कामका लागि अदक्ष भएको भन्दै नेपाल फर्किने अडान लिएका छन्। वार्ताका लागि आएका म्यानपावर कम्पनीका प्रतिनिधि गिरिराज घिमिरे र राम कार्कीले आन्दोलित कामदारहरूलाई कारखानामै व्यवस्थापन गर्ने गरी वार्ता अघि बढाएका छन्। एक कामदार युवतीले कान्तिपुरलाई बताएअनुसार कम्पनी प्रतिनिधिले सकेसम्म मिलाएर राख्न खोजेका छन्। उनले भनिन्, ‘म्यानपावर कम्पनीका प्रतिनिधिनिहरूले सकेसम्म मिलाएर राख्न खोजिरहेका छन्। तर उनीहरूले कसरी मिलाउँछन् भन्ने कुरा वार्ता सकिएपछि मात्रै भन्न सकिन्छ।’


अलपत्र पारिएका भनिएका कतिपय युवतीहरू भने दुःखजिलो गरेर भएपनि काममा यथावत् रहने मनस्थितिमा पुगेका छन्। घरपरिवारबाट छुटिएर कामका लागि परदेश हिँडेका उनीहरू यत्तिकै घर नफर्किने बरू रोजगारदाताहरूले उचित व्यवस्थापन गरिदिएमा काम गर्ने पक्षमा देखिएका छन्।


बेइजिङस्थित नेपाली दूतावासले पनि सम्झौतामा तोकिएबमोजिम सेवा सुविधा दिनुपर्ने बताएको छ। सम्झौता विपरीत भएमा कामदार युवतीको मागबमोजिम स्वदेश फर्काइनुपर्ने पनि दूतावासले स्पष्ट पारेको छ।


आफूहरूलाई कामको प्रकृतिबारे झुक्याएर पठाइएको भन्दैआएका कामदार युवतीहरूले मेशिन चलाउने काम गर्न नजान्दा झन् समस्या परेको बताएका छन्। उनीहरू सो काममा अदक्ष भएपछि गार्मेन्ट मालिक र उनीहरूबीचमा झन् असमझदारी बढेको छ। त्यसमाथि चिनियाँ खानपान शैली र भाषिक कठिनाइका कारण चिनियाँ कम्पनीसँग व्यवहार गर्न असजिलो भएको पनि युवतीहरूको गुनासो छ।

प्रकाशित : असार २२, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?