कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणको प्रश्न- सरकार लम्पसार परेको हो ?

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले लम्पसार परेको हो भन्दै प्रतिप्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समयमा बोल्दै नेता खाँणले सरकारले विषादीयुक्त तरकारीहरू भन्सारबाट आउन नदिने निर्णय गरेको केही दिनमै लम्पसार परेर फिर्ता गरेको आरोप लगाए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणको प्रश्न- सरकार लम्पसार परेको हो ?

उनले सरकारले लम्पसारवादी नीतिलाई अगाडी बढाएको आरोप लगाए । भने,' शक्तिहरूको सामु सरकार निरीह र लम्पसार बनेको छ ।'


संविधानमा खाद्य सुरक्षाको अधिकार उल्लेख भए अनुसार सरकारले अखाद्य वस्तुको नियन्त्रण गर्ने कदमलाई आफूहरुले समर्थन गरे पनि उक्त निर्णय केही दिनमै सरकार लम्पसार परेर फिर्ता लिएको नेता खाँणको भनाइ छ । उनले सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको र यसले गम्भीर स्वास्थ्य चिन्ह खडा गरेको बताए ।


नेता खाँणले अखाद्य पदार्थहरु छ्याछ्याप्ती भएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले भने,'किन घुँडा टेकेर रोकेको कुरा खोल्नुभयो ? सरकारले यसको जवाफ दिनुपर्छ। '


उनले संविधान प्रतिकल हुने गरी कुनै पनि विधेयक आफ्नो पार्टीले बन्न नदिने बताए । उनले सरकारले संविधान प्रतिकल अघि बढाएका विधेयकहरु फिर्ता गर्नुपर्ने नबताए ।


यस्तै प्रमुख सचेतक खाँणले सरकारले सांसदका सदस्यहरूले बोलेका कुराहरूलाई गम्भीरतापूर्वक नलिएको बताए । सरकारले सदन र सभामुखको अवहेलना गरेको नेता खाँडको भनाइ छ ।

उनले सभामुखले रुलिङ गरेको र सङ्घीय संसद्ले उठाएको विषयहरुमा सरकारलाई गम्भीर बन्न आग्रह गरे ।


यस्तै नेता खाँणले सरकारले नागरिकको हत्या गरिरहेको आरोप लगाए । उनले सर्लाहीमा घटनामा सरकारले वैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा टाउकोमा गोली हानेर कुमार पौडेलको हत्या गरेको आरोप लगाए ।


यस्तै बाँकेमा पनि प्रहरीले शान्तिपूर्ण रूपमा धर्नामा बसेकाहरुलाई टाउकोमा गोली ताकाताकी हत्या गरेको नेता खाँणले दाबी गरेका छन् । उनले यी घटनाहरुबारे गृहमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने बताए ।

प्रकाशित : असार २२, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?