कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाका–काठमाडौं उडान तालिका सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहीबेर स्थगन गरिने भएको छ । निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दै छ ।

वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ । जापान उडानको तालिका र विमानस्थल मर्मतसम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ ।


धावनमार्गको पहिलो चरणको जीर्णोद्धार असार १६ मा सकिएको छ । मनसुन सुरु भएकाले काम रोकिएको हो । ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मतसँगै अहिले विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा आइसकेको छ ।


‘जीर्णोद्धारमा बाधा नपर्ने गरी निगमका लागि १५/२० मिनेट मर्मत कार्य रोक्ने तयारी गरेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘आन्तरिक छलफल जारी छ । निर्माण जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग छलफलपछि आधिकारिक निर्णय आउनेछ ।’ यस विषयमा आइतबार प्राधिकरण र निगमका अधिकारीहरूबीच छलफल भएको थियो । छलफलमा सहभागी एक अधिकारीले जापान उडान रोकिने सम्भावना नरहेको बताए ।


प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख बाबुराम पौडेलका अनुसार मनसुन सकिएलगत्तै धावनमार्गसँग जोडिएका प्यारलल ट्याक्सी–वे, नाली, धावनमार्गको मध्यरेखामा लाइट जडानलगायत कार्य हुनेछन् । यो काम पुस १५ सम्म सञ्चालन हुनेछ ।


निगमले जापान उडानको मिति घोषणा गरेको यो तेस्रोपटक हो । यसअघि मध्य असारदेखि उडान गर्ने घोषणा थियो । असारमा अत्यधिक न्यून बुकिङ देखिएको कारण दर्शाउँदै निगमले भदौमा सारेको हो । काठमाडौं–ओसाका उडानको समय साढे ७ घण्टा हाराहारी हुनेछ । काठमाडौंबाट राति उडेको वाइडबडी कम्तीमा १५ घण्टापछि अर्को दिन बेलुकी मात्रै ओसाकाबाट फर्कनेछ ।


हाल आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले काठमाडौंबाट बिहान २ः३० मा वाइडबडी ओसाकाका लागि उडाउने र स्थानीय समयअनुसार मध्याहन ११ः५५ मा त्यहाँ पुग्ने भनेको छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार १ः५५ मा उडान गरी त्यही दिन साँझ ६ बजे काठमाडौं आइपुग्नेछ । यो रुटमा निगमले एक वर्षअघि फ्रान्सबाट खरिद गरेर ल्याइएका दुईवटा ब्रान्ड–न्यु वाइडबडी ए३३०–२०० बाट मात्रै उडान गर्दै छ । निगमसँग दुइटा एयरबसकै साना ए३२० न्यारोबडी विमान पनि छन् । तर ती विमानबाट जापान उडान हुनेछैन ।


सन् २००७ सम्म निगमले बोइङ ७५७ बाट चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो । उक्त विमानबाट सिधा उडान गर्न नसकिने भएकाले चीनको सांघाईमा इन्धन भर्दै पुनः ओसाका उड्थ्यो । सन् २००७ पछि विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण जापान उडान स्थगन भएको थियो ।

प्रकाशित : असार २३, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?