कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भुक्तानी नहुँदा निर्माण प्रभावित

देवनारायण साह

मोरङ — एसियाली विकास बैंकको सहयोगमा विराटनगर महानगरमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाको भुक्तानी समयमा नहुँदा निर्माण प्रभावित भएको छ । निर्माण कम्पनीले जनवरीदेखि हालसम्ममा पेस गरेको तीनवटा बिलमध्ये ४६ करोड ४९ लाख ७७ हजार ४ सय ८७ रुपैयाँ भुक्तानी पाउन नसकेको जनाएको छ । 

परियोजनाअन्तर्गत ७४ किलोमिटर सडक, ४६ दशमलव ८३ किलोमिटर नाला र २० किलोमिटर ढल निर्माणको काम एकसाथ भइरहेको छ । २ अर्ब ६३ करोडको लागत रहेको सडक, नाला र ढल निर्माणका लागि चीनको झोङहेङ कन्स्ट्रक्सन ग्रुप बेइजिङले २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ ।


निर्माण कम्पनीका परियोजना म्यानेजर रवीन्द्रकुमार ठाकुरले आउँदो नोभेम्बर महिनासम्ममा परियोजनाको काम पूरा गर्नुपर्ने अवस्थामा जनवरी महिनादेखि गरेको कामको भुक्तानी नहुँदा काम अघि बढाउन कठिनाइ भएको गुनासो पोखे । निर्माण कम्पनीले महानगरमा एकसाथ सबै निर्माण काम गरिरहेकाले चौतर्फी सडक बिग्रेको छ । महानगरवासीले सुक्खामा धूलो र वर्षामा हिलोमा हिँड्न बाध्य भएका छन् । समयमा बजेट नआउँदा महानगरवासी थप समस्या झेल्न बाध्य हुने अवस्था छ ।


‘हालसम्म्ममा २० किलोमिटर ढल निर्माणको काममध्ये प्रदेशसभा अगाडिको सडकमा २ सय मिटर मात्रै काम गर्न बाँकी छ,’ उनले भने, ‘४६ दशमलव ८३ किलोमिटर नाला निर्माणको काम पूरा गरिसकेका छौं भने ७४ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्ममा ३५ किलोमिटरमा कालोपत्रे गरेर ५ किलोमिटर कालोपत्रे गर्न तयारी अवस्थामा छ ।’ उनले ६५ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा जनवरीयता ३ वटा बिलको भुक्तानी हुन नसकेको गुनासो पोखे ।


उनले जनवरीदेखि गरेको कामको अप्रिल १ तारेखमा ३५ करोड ७ लाख ५ हजार ५ सय ८७, मे ५ तारेखमा १२ करोड ११ लाख ९९ हजार ४ सय २५ र जुन २ तारेखमा १० करोड ३० लाख ७२ हजार ४ सय ७४ रुपैयाँको बिल भुक्तानीका लागि पेस गरेको मध्ये ११ करोड मात्रै भुक्तानी हुन सकेको बताए ।


‘हालसम्ममा ४६ करोड ४९ लाख ७७ हजार ४ सय ८७ रुपैयाँ भुक्तानी लिन बाँकी रहेकाले काम अघि बढाउन समस्या भएको छ,’ ठाकुरले भने, ‘निर्माण सामग्रीको भुक्तानीका लागि दिनरात ताकेता आइरहेको तर यता भुक्तानी नहुँदा यहाँबाट भाग्नुपर्ने अवस्था निर्माण भएको छ ।’ यसरी भुक्तानीमा भएको ढिलाइले आउँदो नोभेम्बरसम्ममा काम पूरा गर्न समस्या हुने उनको भनाइ थियो ।


परियोजनाका समन्वय कार्यालयका प्रमुख भरत न्यौपानेले चालु आर्थिक वर्षमा आएको करिब ६१ करोड बजेट सकिएकाले थप बजेट मन्त्रालयमा माग गरेको बताए । ‘मन्त्रालयले थप बजेट समयमा उपलब्ध नगराएकाले काम अघि बढाउन समस्या हुनु वास्तविक हो,’ उनले भने, ‘बजेटका लागि पहल भइरहेको र आएपछि तत्काल भुक्तानी गर्ने वातावरण छ ।’


विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आवश्यक बजेट माग गरेको तर नआएकाले भुक्तानी गर्न समस्या भएको बताए । उनले बजेटका लागि पहल भइरहेको बताए । क्षेत्रीय सहरी विकास परियोजना सञ्चालनमा रहेको जनकपुर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा पनि बजेट अभाव भएकाले काम प्रभावित भएको छ ।

प्रकाशित : असार २३, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?