प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन : मन्त्री यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् ।


राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिए।

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै भने, 'सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ।'

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उनले बताए।

प्रकाशित : असार २३, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ। सिंगापुर र हङकङबीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ।

मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे। त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे। बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो। उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे। त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे। मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए।
उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन्। फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित : असार २३, २०७६ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्