१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कसरी कम गर्ने विषादीको असर ?

अतुल मिश्र

काठमाडौँ — कस्तो तरकारी किन्नुहुन्छ ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ ।

कसरी कम गर्ने विषादीको असर ?

नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् । ‘तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ । बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔं, खानै परे नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खाऔं,’ उनले भने, ‘नुनपानीको घोलले धेरैजसो विष सोस्छ ।’


विषादी, रासायनिक मल आदिको अनियमित, अनियन्त्रित र अवैज्ञानिक उपयोगबाट उमारिएका सागसब्जीको दीर्घकालीन उपयोगले क्यान्सरलगायत विभिन्न नसर्ने रोग लाग्छन् । शरीरको रोग प्रतिरोधक क्षमता प्रभावित गराउँछन् ।

पालक, गोलभेंडा, बैगुन, भेडे खुर्सानी, काउली, बन्दा, लौका, सागलगायत तरकारीमा विषादी बढी हुन सक्छन् । बेमौसमी तरकारीमा रोग, किरा बढी लाग्ने भएकाले किसानले धेरै मात्रामा विषादी छर्ने गरेको पाइएको छ । ‘बजारमा राखिएको गोलभेंडा बाहिर सेतोसेतो दाग देखियो भने त्यो एक–दुई दिनअघि विषादी हालेर बेच्न ल्याइएको बुझ्नुपर्छ । सीमापारिबाट आएको भन्टालाई टल्किने र लामो समयसम्म ताजा राख्न विषादीको झोलमा डुबाइएको हुन्छ,’ विज्ञ भन्छन्, ‘यस्ता भन्टा नखानु नै राम्रो ।’ रायोलगायतका सागमा पनि डाएथेन–४५ फंगिसाइडको झोल हालिएको हुन्छ ।


तरकारीको बोक्रा ताछदा केही मात्रामा विषादी कम हुन्छ तर भित्रपट्टि गएको विषादी जाँदैन । धेरैजसो विषादीको अवशेष तरकारी, फलफूल आदिमा ७ देखि १५ दिनसम्म रहन्छन् । तरकारीमा विषादीको प्रभाव कम गर्न काटेर बनाउन तयार पारिएको तरकारीलाई २–४ थोपा भिनेगर हालिएको पानीमा आधादेखि एक घण्टासम्म डुबाएर राख्न सकिन्छ । ‘भिनेगर छैन भने कागतीको रसको पनि उपयोग गर्न सकिन्छ,’ त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका रसायनशास्त्री प्रा. विनय झाले भने, ‘साइट्रिक एसिड (भिनेगर) ले धेरै हदसम्म तरकारीको विषादी हटाउन सघाउँछ ।’ उनका अनुसार भिनेगर हालिएको पानीमा आधादेखि एक घण्टासम्म काटेको तरकारी डुबाएर राखेपछि सफा पानीमा धुनुपर्छ ।


जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एउटा अनुसन्धानअनुसार बेकिङ सोडाको उपयोग गर्नाले कीटनाशक विषादीको असर कम हुन सक्छ । बेकिङ सोडालाई पानीमा हालेर फलफूल र सब्जीलाई एक मिनेटसम्म डुबाएर राख्दा पनि विषादीको असरमा कमी आउँछ । बेकिङ सोडामा सोडियम बायोकार्बोनेट हुन्छ, जसले थायबेन्डाजोल र फस्फेटलाई सजिलै सफा गर्न सक्छ । अन्य विषादीलाई यसले सफा गर्न सक्दैन ।

प्रकाशित : असार २४, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?