बाल यौन दुराचारमा पिटरलाई ९ वर्ष कैद

जनकराज सापकोटा

काठमाडौँ — काभ्रे जिल्ला अदालतले बाल यौन दुराचारका आरोपी क्यानेडियन नागरिक पिटर डग्लसलाई ९ वर्ष कैद सजाय र दुई पीडित बालकलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । अदालतले २९५ कोड नाम भएका बालकको हकमा ९ वर्ष कैद र २९४ कोड नाम भएका बालकको हकमा सात वर्ष कैद सजाय सुनाएको हो । 

बाल यौन दुराचारमा पिटरलाई ९ वर्ष कैद

एउटै मुद्दाका दुई पीडितको हकमा भएको सजाय गाभिँदा पिटरले ९ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ । अदालतले जेठ २६ गते नै उनलाई बाल यौन दुराचारमा दोषी ठहर्‍याएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७४ चैत २४ गते डग्लसलाई काभ्रेको मण्डनदेउपुरस्थित उनकै घरबाट समातेको थियो । प्रहरीले उनका दुई फरकफरक कोठाबाट १२ र १४ वर्षीय बालकको पनि उद्धार गरेको थियो । यही घटनामा ब्युरोले पिटरमाथि बाल यौन दुराचारको मुद्दा अघि बढाएको थियो । न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पिटरलाई दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।


स्ट्रिट किड्स इन्टरनेसनल नामक संस्था खोलेर युद्धपीडित र सडक बालबालिकाको हक अधिकारको क्षेत्रमा काम गर्दै आएका डग्लसको पक्राउलाई अन्तर्राष्ट्रिय समुदायले पनि निकै चासोका साथ हेरेको छ । यूएन ह््याबिट्याटका निम्ति अफगानिस्तानको कन्ट्री रिप्रेजेन्टेटिभका रूपमा कार्यरत पिटरले सन् २०१६ मा क्यानडा सरकारले नागरिकलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान पाएका थिए ।


सन् १९९८ मा संसारका १० प्रतिभाशाली युवाका रूपमा जुनियर चेम्बर इन्टरनेसनलको छनोटमा परेका उनले सन् २००२ मा संयुक्त राष्ट्रसंघको चाइल्ड लेबर कार्यक्रमअन्तर्गत नेपालमा चिफ टेक्निकल एडभाइजरका रूपमा काम गरेका थिए । रातो टोपी, खैरो टिसर्ट लगाएर अदालतमा उपस्थित पिटर सुनुवाइका क्रममा निकै तनावग्रस्त देखिन्थे । न्यायाधीशसमक्ष उनले संसारका मान्छेको भलाइका निम्ति काम गरिरहेको भन्दै आफूमाथि लागेको आरोपको खण्डन गरे । प्रहरीले गलत आरोप लगाएको र आफूले कमाएको इज्जतविरुद्ध मिडियामा गलत सूचना दिएको उनको दाबी छ ।


बाल यौन दुराचार आरोपमा नेपालमा पक्राउ परेकामध्ये पिटर हाई प्रोफाइल व्यक्ति हुन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म नेपालमा १२ विदेशी र उनीहरूका २ सहयोगी नेपालबाट समातिएको सीआईबीको भनाइ छ । पिटरको मुद्दामाथि अनुसन्धान गरिरहेका डीएसपी कविद कटवालले अदालतको फैसला स्वागतयोग्य भएको र यसले बाल यौन दुराचारको विषयमा नेपाल गम्भीर छ भन्ने सन्देश दिएको बताए ।


फोटो खिच्दा दुर्व्यवहार

बाल यौन दुराचारको मुद्दामा दोषी ठहर भई कैद सजाय सुनाउन अदालत ल्याउने क्रममा अदालत परिसरमा फोटो खिचेको भन्दै पिटरका छोरा बताउने कृष्णबहादुर गुरुङ र सृषि बस्ताकोटीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । दुवैले नसोधी किन फोटो खिचेको भन्दै पत्रकारलाई अदालत परिसरभित्रै धम्क्याएका थिए । उनीहरूले अदालतभित्र पनि पत्रकारको उपस्थितिलाई लिएर प्रश्न गरेका थिए ।


न्यायाधीश अर्जुन अधिकारीकै सामुन्ने पत्रकारलाई धम्काउँदै उनीहरूले फोटो डिलिट गर्न लगाएका थिए । कृष्णले फोटो डिलिट गर्न पत्रकारलाई धम्क्याएपछि एकछिन इजलास प्रभावित बनेको थियो ।

प्रकाशित : असार २४, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?