पोल पुग्यो, आशा बिजुलीको

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ३, खदीका रवीन्द्र बोहोरा गाउँमा छिट्टै बिजुली आउने आशमा छन् । वर्षौंको प्रयासपछि गाउँमा बिजुलीका पोल गाडिएपछि उनको आशा बढेको हो । सोही ठाउँका हरिप्रसाद देवकोटा पनि गाडिएका पोलमा तार टाँगेको हेर्न आतुर छन् । पोल गाडिएपछि बिजुली बल्ने आशा बढेर गएको छ ।

पोल पुग्यो, आशा बिजुलीको

देवकोटा र बोहोरा मात्रै होइन, खदीका बासिन्दा वर्षौंदेखिको अँध्यारो हट्नेमा आशावादी छन् । राष्ट्रिय प्रसारण लाइन जोड्न भन्दै गाउँसम्मको पोल गाड्ने काम सकिएको छ । आठबीसकोट नगरपालिका १, २ र ३ नम्बर वडाका बासिन्दा दियालोकै भरमा छन् । सक्नेले सौर्य ऊर्जा जोडेका छन् । तीनै वडामा एउटा पनि विद्युत् आयोजना बनेको छैन ।


‘गाउँमै विद्युत् उत्पादन हुने कुरा लामो समयदेखि कुरामै सीमित छ,’ बोहोराले भने, ‘गाउँसम्म पोल गाडिएपछि अब राष्ट्रिय प्रसारण लाइन जोडिन्छ कि भन्ने आशा पलाएको छ ।’ लामो समयपछि गाउँमा पोल ठडिएपछि ढिलै भए पनि बिजुली बल्ने आशा जागेको उनको भनाइ छ । ‘स्थानीय स्तरमा विद्युत् आयोजना निर्माण नभए पनि केन्द्रीय लाइनबाट बिजुली बल्छ कि भन्ने ठूलो आश पलाएको छ,’ देवकोटाले भने, ‘गाउँमा पोल गाडिँदा मात्रै पनि गाउँलेलाई बिजुली बलेकै सरह भएको छ ।’ पोल गाडिसकेपछि अब छिट्टै बाँकी काम पनि गर्नुपर्ने उनी बताउँछन् ।


प्राधिकरणको लाइन विस्तार आयोजनाअन्तर्गत हाइड्रो इनर्जी–महाशक्ति जेभीले लाइन विस्तार गरिरहेको छ । कम्पनीले पोल गाड्नेदेखि तार टाँग्नेसम्मको जिम्मा लिएको छ । जति सक्यो छिटो बत्ती बाल्न सम्बन्धित ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको वडाध्यक्ष केशरमान विकले बताए । ‘गाउँसम्म पोल गाड्ने काम सकिएको छ,’ उनले भने, ‘स्थानीय आशावादी हुनुभएको छ, छिट्टै बत्ती बाल्ने पहल गरिरहेका छौं ।’ उनले ढिलोमा आगामी असोजसम्ममा बत्ती बल्ने विश्वास व्यक्त गरे । ढिलै भए पनि बत्ती बल्ने पक्का भएको भन्दै उनले बाँकी काम पूरा गर्न वडा तथा नगरपालिका लागिपरेको बताए ।


१ र २ नम्बर वडामा भने अझै पनि पोल गाड्ने काम सुरु भएको छैन । सडक नपुगेका कारण पोल पनि गाउँ पुर्‍याइएको छैन । वडा २ को स्याला र १ को उभोखोला पोल पुर्‍याउनकै लागि भए पनि सडक निर्माण थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । सडक बनाइएपछि छिटोछरितो काम हुने उनले जनाए । ‘वडा ३ मा पोल गाड्ने काम सकियो,’ उनले भने, ‘अरु २ वडामा पनि बिजुली पुर्‍याउने पहल जारी छ ।’ यसअघि गाउँमा विद्युत् आयोजना निर्माण गर्ने प्रयास पनि गरिएको थियो । लामो समय श्रमदान गरेपछि बजेट नपुग्ने भन्दै आयोजनै निर्माण गर्न रोकिएको थियो ।

प्रकाशित : असार २४, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?