सर्लाही घटनामा संसद् अवरुद्ध

छानबिन समिति गठन गर्न कांग्रेस–राजपाको माग
दिनेश रेग्मी

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिन माग्दै प्रतिनिधिसभाको मंगलबारको बैठक अवरुद्ध गरिएको छ । प्रमुख विपक्षी कांग्रेस र विपक्षी राजपाले दुवै घटना शंकास्पद रहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा मंगलबार गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि उनीहरूले छानबिन माग्दै रोस्टम घेरेका थिए ।

सर्लाही घटनामा संसद् अवरुद्ध

एक घण्टा चलेको संसद्मा गृहमन्त्री रामबहादुर थापासँग प्रश्नोत्तर भएको थियो । त्यस क्रममा गृहमन्त्री थापाको जवाफमा आपत्ति जनाउँदै विपक्षीहरूले नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनका लागि छलफल गर्न केही समय चाहिने भन्दै उनीहरूलाई बस्न आग्रह गरेका थिए । नाराबाजी नरोकिएपछि महराले दलहरूसँग सहमति जुटाउन भन्दै १५ मिनेट सदन स्थगन गरे । त्यसपछि सभामुखको कार्यकक्षमा सत्तारूढ नेकपा, विक्षपी कांग्रेस र राजपाका नेताहरूको बैठक बस्यो ।

कानुनमन्त्री भानुभक्त ढकाल, नेकपाका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, खगराज अधिकारी, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, राजपा नेता लक्ष्मणलाल कर्ण र राजकिशोर यादव सहभागी बैठक डेढ घण्टा चले पनि कुनै निर्णय हुन सकेन । विपक्षीले छानबिन समिति गठन हुनैपर्ने अडान राखे । सत्तारूढ दलले त्यसलाई स्विकारेन । सत्तारूढ दलका कारण छानबिन समिति गठन हुन नसकेकाले आफूहरूका माग पूरा नभएसम्म अवरोध जारी राख्ने कांग्रेसका प्रमुख सचेतक खाँणले बताए । ‘सदन, सरकार र जनतालाई थाहा हुन छानबिन समिति गठन हुनुपर्छ, त्यो नभएसम्म संसद् अवरोध जारी रहन्छ,’ उनले भने ।

माग राख्दैमा त्यसमा सबैको सहमति हुन्छ भन्ने सुनिश्चितता नहुने सत्तारूढ दलका प्रमुख सचेतक गुरुङले बताए । ‘उहाँहरूले माग राख्नुभएको हो, माग राख्दैमा सहमति हुन्छ भन्ने छैन नि,’ उनले भने, ‘सहमति हुने/नहुने पनि छलफलबाटै हो । त्यो छलफल फेरि पनि हुन्छ ।’ सत्तारूढ र विपक्षी दलबीच सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरियो ।

प्रतिनिधिसभाको असार २२ को बैठकमा विपक्षीहरूले सर्लाही घटनाबारे जवाफ दिनुपर्ने माग गरेपछि सभामुखको रुलिङअनुसार गृहमन्त्री थापा मंगलबार सदनमा उपस्थित भएका थिए । बिहान सबा ११ बजे बैठक सुरु हुनासाथै कांग्रेस सतेचक पुष्पा भुसालले सर्लाही घटना, विषादी परीक्षणमा रोक र भारतीय दूतावासको पत्रबारे जवाफ मागिन् । ‘यो मुलुकमा संविधान छ कि छैन ? कानुनी राज्य छ कि छैन ?’ उनले प्रश्न गरिन्, ‘सरकारको चित्तबुझदो जवाफ नआए हामीले संसद् अगाडि बढाउन सक्दैनौं ।’

लगत्तै राजपा सांसद राजकिशोर यादवले सरकार काण्डैकाण्डको इतिहास रच्न उद्यत रहेको आरोप लगाए । उनले कुमार पौडेलसहित खेल्ने क्रममा पानीमा डुबेका अमित राय यादवको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । ‘यो सरकारबाट पालिएका छौंडाबाट प्रताडित भयौं भन्दा गोली हानिन्छ,’ उनले भने, ‘कहाँबाट नियन्त्रित छ यो सरकार ?’ उनले विषादी परीक्षणमा भएका निर्णयलाई इंगित गर्दै ‘कोही देख्दै नदेखी, कोही पढदै नपढी निर्णय गर्ने हो भने भोलि अर्कै निर्णय भए के गर्ने ?’ भन्दै प्रश्न गरे ।

सर्लाहीमा प्रहरीको गोलीबाट पौडेल, २८ वर्षीय सिंह र पानीको खाडलमा परेर अमित रायको असार १५ गते मृत्यु भएको थियो । थापाले प्रतिनिधिसभा बैठकमा कुमार पौडेलको मुठभेड र महतोको सडक अवरोध खुलाउने क्रममा मृत्यु भएको बताएका थिए । सर्लाही घटनाको समिति गठन गरी छानबिन भइरहेको र प्रतिवेदन आउने क्रममा रहेको उनको भनाइ थियो ।

लोकतन्त्र रक्षाका लागि : गृहमन्त्री

गृहमन्त्री थापाले देशमा शान्ति सुव्यवस्था कायम गर्न, लोकतन्त्रको संरक्षण तथा रक्षाका क्रममा सर्लाही घटना भएको दाबी गरेका छन् । ‘सरकार लोकतन्त्रको रक्षा र शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘जनताको जीउधनको रक्षा गर्ने जिम्मेवारी राज्यलाई छ । त्यो भूमिकामा हामी प्रतिबद्ध छौं । यसै क्रममा ती घटना घटेका हुन् ।’

थापाले आफ्नो धारणा राखिनसक्दा विपक्षी सांसद उठेर विरोध गरेका थिए । त्यही बेला कांग्रेस सचेत खाँणले गृहमन्त्रीको भनाइ स्पष्ट र तथ्यका आधारमा नभएको र लोकतन्त्रको रक्षाका लागि घटना भएको भन्ने भनाइप्रति आपत्ति जनाए ।


संसद्बाट रेकर्ड हटाउन माग

बैठकमा कांग्रेस सांसद महेन्द्रकुमारी लिम्बूले निर्मला पन्त हत्यामा कञ्चनपुरका मेयरका छोरा र गृहमन्त्रीका छोरा, भतिजा जोडिएको आरोप लगाएकी थिइन् । यसप्रति आपत्ति जनाउँदै नेकपा सांसद खगराज अधिकारीले त्यस्ता शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे । ‘असंसदीय क्रियाकलाप गर्न कसैलाई छुट छैन,’ उनले भने । होहल्लाकै बीच सांसद अधिकारीले मन्त्रीले सदनमा जवाफ दिइसकेपछि अरू प्रश्न गर्न मिल्दैन भन्दै प्रतिपक्षले नियम उल्लंघन गरेको आरोप लगाए ।

प्रकाशित : असार २५, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?