भगौडा सैनिकलाई कारबाही गर्ने बाटो खुल्यो

काठमाडौँ — सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भागेका सैनिकहरूलाई कारबाही गर्न सक्ने कानुनी बाटो खोलिदिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले सैनिक अदालतको फैसलालाई सदर गरी नेपाली सेनालाई द्वन्द्वकालका भगौडा सैनिकमाथि कारबाही गर्ने कानुनी बाटो खोलिदिएको हो ।

द्वन्द्वकालमा भागेका पूर्व सैनिकद्वय झलकुमार भगत र सिंहबहादुर शाहीले सैनिक अदालतले आफूहरूविरुद्ध गरेको फैसलाविरुद्ध सर्वोच्चमा दायर गरेको रिटलाई संयुक्त इजलासले खारेज गरिदिएको छ । सर्वोच्चको आदेशले आगामी दिनमा समेत नेपाली सेनालाई भगौडा सैनिकमाथि कारबाही गर्न सक्ने बाटो खोलेको हो ।


शान्ति प्रक्रिया सुरु भएपछि सैनिक अदालतले द्वन्द्वकालमा सेनाबाट भागेर माओवादी बनेका भगत र शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तत्कालीन सैनिक जवान भगत २०६३ साउन ८ गते राति आफ्नो जिम्माका रहेको र साथीको समेत हतियार चोरेर तत्कालीन माओवादीमा गएका थिए ।


उनी २०७४ मंसिर ८ गते मोरङबाट पक्राउ परेका थिए । तत्कालीन सैनिक जवान शाही २०६१ पुस १८ गते कृष्णभीरमा भएको माओवादी र सेनाको भिडन्तपछि हतियारसहित माओवादीमा लागेका थिए । उनी २०७४ फागुन ७ गते कालिकोटबाट पक्राउ परेका थिए ।


सैनिक अदालतले पक्राउ परेका पूर्वसैनिक जवानद्वय भगत र शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । द्वन्द्वकालका मुद्दा बृहत् शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र पर्ने दाबीसहित उनीहरू सैनिक अदालतको निर्णयविरुद्ध विशेष अदालत गएका थिए ।

प्रकाशित : असार २५, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?